• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo

नेप्से परिसूचक ५३.३० अंकले वृद्धि, हिमालयन डिष्टिलरी शीर्ष स्थानमा



काठमाडौँ । शेयर बजार मापक नेप्से परिसूचक मंगलबार उच्च अंकले वृद्धि भएको छ । सोमबार ०.०८ अंकले वृद्धि भएको नेप्से परिसूचक मंगलबार ५३.३० अंकले बढेर २ हजार ७५४.२८ बिन्दुमा पुगेको छ । साताको पहिलो कारोबारको दिन १०१ अंकले गिरावट आएको परिसूचक सोमबार र मंगलबार भने नेप्से सूचकमा वृद्धि भएको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स १०.८३ अंक, फ्लोट इण्डेक्स ३.३८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८७ अंक वृद्धि भएको छ ।

मंगलबार कारोबारमा आएका २२४ कम्पनीको ६३ लाख ४३ हजार २२८ कित्ता शेयर ३ अर्ब २३ करोड ३३ लाख १८ हजार ६१४ रुपैयाँ बराबरको शेयर खरिदबिक्रि भएको छ । सोमबारको भन्दा कारोबार रकममा सामान्य गिरावट आएको छ । सोमबार ३ अर्ब ६८ करोड ४० लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो ।

नेप्सेको १३ उपसमूहमध्ये सबै उपसमूहमा हरियाली छाएको छ । जसमध्ये सबैभन्दा धेरै जलविद्युत उपसमूहको परिसूचक ४.३२ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, अन्य उपसमूहको सूचक ३.३८ प्रतिशत ,फाइनान्स उपसमूहको २.८५ प्रतिशत,माइक्रोफाइनान्सको २.८२ प्रतिशत, विकास बैंक उपसमूहको २.७१ प्रतिशत, लगानी उपसमूहको २.४९ प्रतिशत र बाँकी उपसमूहको परिसूचक १ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ ।

मंगलबारको नेप्से परिसूचकसँगै सर्वाधिक १० कम्पनीको शेयरमूल्य बढेको छ । जसमा १० कम्पनीहरुमध्ये ७ कम्पनी जलविद्युत रहेका छन्। जसमध्ये न्यादी हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक १० प्रतिशत बढेको छ । तेह्रथुम पावरको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ भने हिमालय उर्जा विकास कम्पनी, कालिका पावर, छ्याङ्दी हाइड्रोपावर र सिनर्जी पावरको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ । आज प्रायः सबै म्युचुअल फण्डहरुको शेयर मूल्यमा गिरावट आएको छ ।  

मंगलबार कारोबार रकमका आधारमा २२ करोड ७७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री गरेर हिमालयन डिष्टिलरी शीर्ष स्थानमा रहेको छ । त्यस्तै नेशनल हाइड्रोपावर र नेपाल टेलिकमको १८ करोडभन्दा बढीको कारोबार भएको छ ।