२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुराँसको राजधानी तीनजुरेमा चैतमा पनि गुराँस फुलेन



गुराँस फुल्दाको तीनजुरे
अ+ अ-

किमाथाङ्का । सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङको सङ्गमस्थल गुराँसको राजधानी तीनजुरेमा अहिलेसम्म लालीगुराँस फुलेको छैन । मौसम परिवर्तनका कारण विगतका वर्षमा माघदेखि नै फुल्ने लालीगुराँस चैत लाग्दासमेत फुल्न थालेको छैन ।

तीनजुरे क्षेत्रमा अघिल्ला वर्षमा माघ महिनाको अन्तिमदेखि नै गुराँस फुलेर ढकमक्क हुने गरे पनि जलवायु परिर्वतनको असरले समयमा गुराँस फुल्न नसकेको हो । पछिल्लो समयमा जलवायु परिवर्तनका कारण गुराँसको फूल फुल्ने समयमा परिवर्तन आएको छ । विगतका वर्षमा लालीगुराँसले यतिबेला तीनजुरे क्षेत्रका वनपाखा रङ्गीन भएको देख्न पाइन्थ्यो तर यो वर्ष चैतको आधा महिना बित्दा भर्खर कोपिला लाग्न सुरु भएको छ । मौसम परिवर्तनको असरका कारण यस वर्ष ढिला गुराँस फुल्न थालेको धर्मदेवी नगरपालिका–५ का दुर्गामणि पौडेलले बताउनुभयो ।

लालीगुराँस फुलेपछि तीनजुरेले सबैको मन लोभ्याउने गर्दछ तर समयमै गुराँस नफूल्दा त्यसको असर होटेल व्यवसायदेखि अरू क्षेत्रमा पनि परेको होटल ब्यवसायी सानुमाया दाहालले बताउनुभयो । गुराँस फुलेको हेर्न आउने आन्तरिक र बाह्य पर्यटकका कारण विगतमा निकै रमझम हुने तीनजुरे क्षेत्र यसपटक सुनसान भएको उहाँको भनाइ थियो ।

तीन जुरेमा विश्वमा पाइने ३२ प्रजातिमध्ये २८ प्रजातिका गुराँस पाइन्छ । पाथीभरा, चौकी, मङ्गलबारे, गुफापोखरी हुँदै तीनजुरे–मिल्क–जलजले क्षेत्रमा गुराँसको जङ्गल छ । तीनजुरे क्षेत्रमा लालीगुराँस, सुनपाती, रातो चिमाल, चियाफूले गुराँस, नीलो चिमाल, पहेँलो चिमाल, जुँगे चिमाल, सानो चिमाल, लहरे चिमाल जातका गुराँस पाइन्छन् ।

यस्तै कोर्लिङ, चिमाल, ठेकी झार, प्रजातिका गुराँस पनि पाइन्छ । यस क्षेत्रमा पात्ले कोर्लिङ, सेतो चिमाल, गुलाबी कोर्लिङजस्ता प्रजाति पनि छन् । यस्तै हुकरको गुराँस, पहेँलो सुनपाती, भुत्ले गुराँस, भाले सुनपाती, सानो लहरे चिमाल, हिउँ गुराँस, झुण्डिने चिमाल, पुड्के गुराँस, बुलु, शाल्लु गुराँस, थाम्सनको गुराँस, रोडोडेन्ड्रोन ट्राइकोक्लाडुम, पहेँलो गुराँस, खियाउने पाते गुराँस, हाँगिने गुराँस, बालिकको गुराँस, वाइटको गुराँस प्रजातिका गुराँस तीनजुरे क्षेत्रमा पाइन्छ । रासस