१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन News Polar प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम News Polar नेप्से परिसूचक ९ अङ्कले घट्यो News Polar असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग

नयाँ खिम्ती–बाह्रबिसे प्रसारण लाइन समयमै सक्न प्राधिकरणको ताकेता

नयाँ खिम्ती–बाह्रबिसे प्रसारण लाइन समयमै सक्न प्राधिकरणको ताकेता
अ अ+ अ-

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले तामाकोसी–काठमाडौँ २२०/४०० केभी प्रसारण लाइन आयोजना अन्तर्गत नयाँ खिम्ती–बाह्रबिसे खण्ड निर्माणलाई शीघ्र सम्पन्न गर्न सम्वद्ध पक्षलाई आग्रह गर्दै ताकेता गरेको छ ।

चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन एक सय दुई मेगावाट क्षमताको मध्य भोटेकोसी जलविद्युत् आयोजनाको विद्युत् प्रसारण लाइन अभावमा जोड्न नसकी खेर जाने अवस्था आउन नदिन प्राधिकरणले सो प्रसारण लाइन निर्माणलाई उच्च प्राथमिकतामा राखेको हो ।

नयाँ खिम्तीमा चार सय केभी क्षमताको सवस्टेसन निर्माण र सवस्टेसनको क्षमता वृद्धिका लागि २२०/१३२/३३ केभी, २०० एभिए क्षमताको थप पावर ट्रान्सफर्मर जडान कार्य जारी छ ।

रामेछापका मन्थली नगरपालिका–१३ साँखे (फुलासी) स्थित नयाँ खिम्ती सवस्टेसनदेखि सिन्धुपाल्चोकको बाह्रबिसे सवस्टेसनसम्मको प्रसारण लाइनको लम्बाइ ४३ किलोमिटर छ । रामेछाप, दोलखा र सिन्धुपाल्चोक जिल्ला भएर जाने नयाँ खिम्ती–बाह्रबिसे प्रसारण लाइन खण्डमा पर्ने एक सय १८ वटा टावरमध्ये ९३ वटा टावरको जग हालिएको छ । यस्तै, ७३ वटा टावर खडा गरिएको छ भने बीस किलोमिटर तार तानिएको छ । साथै छ वटा टावरको जग हाल्ने र तीन वटा टावर खडा गर्ने काम भइरहेको छ ।

रामेछापमा पर्ने तीन वटा टावरको निर्माणका लागि जग्गा अधिग्रहणको प्रक्रिया सुरु गरिएको छ । दोलखामा पर्ने ८४ वटा टावरमध्ये मेलुङ गाउँपालिका–७ सित्तलीमा निर्माण हुने एक वटा टावर जग्गाधनीको अवरोधका कारण निर्माण हुनसकेको छैन । अधिग्रहण गरिने जग्गाका लागि २०७७ को पुसमा प्रतिरोपनी रु १० लाख मुआब्जा निर्धारण गरिएकोमा त्यसमा असहमति जनाउँदै जग्गाधनीले निर्माणमा अवरोध गरिरहेका छन् ।

सिन्धुपाल्चोकमा पर्ने ३१ वटा टावरमध्ये १३ वटाको जग हालिएको छ भने तीन वटा खडा गरिएको छ । भौगोलिक रुपमा कठिन तथा जटिल स्थानमा पर्ने बाँकी टावर निर्माणका टावर निर्माणस्थलसम्म पुग्न पहुँच सडक खन्ने काम भइरहेको छ । नयाँ खिम्ती–बाह्रबिसे खण्डको समग्र निर्माण प्रगति ७० प्रतिशत रहेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रसारण निर्देशनालय उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठ, आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक ताराप्रसाद प्रधान सम्मिलित उच्चस्तरीय टोलीले शनिबार स्थलगत अनुगमन भ्रमण गरी प्रसारण लाइन र सवस्टेसन निर्माण प्रगतिका बारेमा छलफल गरेको हो ।

टोलीले प्रसारण लाइन निर्माणमा रुख कटान, जग्गा अधिग्रहण, निर्माण सामग्री तथा उपकरणको आपूर्ति, स्थानीयको अवरोध, निर्माण सम्पन्न हुने तालिकालगायतका विषयमा विस्तृतरुपमा छलफल गरेको थियो । टोलीले नयाँ खिम्ती–बाह्रबिसे खण्ड प्रसारण लाइन र सवस्टेसनको काम आगामी साउनभित्र सम्पन्न गर्न आयोजना व्यवस्थापन र निर्माणमा संलग्न व्यवसायीलाई निर्देशन दिएको छ ।

“यो आयोजना सम्पन्न भएमा मध्यभोटेकोसीको विद्युत् सिधैँ जोड्न सकिने विकल्प देखिएको छ, निर्माण छिटो सम्पन्न गर्न आयोजनाको दातृ निकायबाट पनि बारम्बार ताकेता आइरहेको छ, वर्षायाम सुरु हुनुभन्दा अघिनै जनशक्ति तथा उपकरण थप गरी निर्माणमा तीव्रता दिनुहोस्, स्थानीय समस्या समाधान गरी आगामी साउनभित्र निर्माण सम्पन्न गरी काम गरौंँ,” घिसिङले भन्नुभयो ।

नयाँ खिम्ती–बाह्रबिसे खण्ड प्रसारण लाइन निर्माणका लागि चिनियाँ कम्पनी ग्वाङसी ट्रान्समिसन एण्ड सवस्टेसन कन्ट्रक्सन तथा सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सको उपक्रमले ठेक्का पाएको थियो । तर, ठेक्का सम्झौताको ७४ प्रतिशत समय बित्दासमेत कम्पनीले निर्माणका प्रारम्भिक काम नै नगरेपछि सम्झौता अवधि बाँकी नै रहेको अवस्थामा ठेक्का तोडिएको थियो । यी कम्पनीले नै २२० केभी बाह्रबिसे सवस्टेसन निर्माण गरिरहेको छ । प्राधिकरणले सवस्टेसन निर्माण आगामी असारभित्र सम्पन्न गर्ने समयसीमा दिएको छ ।

प्राधिकरणले चिनियाँ कम्पनीसँग ठेक्का तोडी ठेक्का रकमको १० प्रतिशत अर्थात १४ लाख ५४ हजार अमेरिकी डलर र रु छ करोड १६ लाख ७४ हजार कार्यसम्पादन जमानत जफत गरेको थियो । यसैगरी, ठेकेदार कम्पनीले अग्रिम भुक्तानीका लागि राखेको १४ लाख ५४ हजार डलर र रु छ करोड १६ लाख ७४ हजार बैक जमानत पनि जफत गरिएको थियो ।

त्यसपछि प्राधिकरणले गरेको नयाँ बोलपत्रमा भारतीय कम्पनी केइसी इन्टरनेसनलले ठेक्का पाएको थियो । प्राधिकरण र कम्पनीबीच २०७६ को जेठमा ठेक्का सम्झौता भएको थियो । तामाकोसी–काठमाडौँ २२०/४०० केभी प्रसारण लाइन आयोजना बाह्रबिसेबाट काठमाडौँको लप्सीफेदीसम्मको ४६ किलोमिटर ४०० केभी डबल सर्किट तथा लप्सीफेदीबाट भक्तपुरको चाँगुनारायणसम्मको १४ किलोमिटर १३२ केभी प्रसारण लाइन र बाह्रबिसेमा २२०/१३२/११ केभी सबस्टेसन निर्माणाधीन छन् । साथै, लप्सीफेदीमा ४००/२२०/१३२/११, बाह्रबिसेमा ४०० केभी र नयाँ खिम्तीमा ४०० केभी सबस्टेसन निर्माण भइरहेको छ ।

तामाकोसी तथा सुनकोसी नदी र ती नदीका सहायक खोलानालाको जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँं उपत्यकामा ल्याउन तथा राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न तामाकोसी–काठमाडौँ प्रसारण लाइन र सवस्टेसन निर्माण गर्न लागिएको हो । प्रसारण लाइनमा नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋण रहेको छ ।

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले निर्माण गरेको २२०/१३२ केभी, १०० एभिए क्षमताको नयाँ खिम्ती सवस्टेसनको क्षमता विस्तारका लागि काम भइरहेको छ । खिम्ती र लिखू नदी करिडोरमा निजी क्षेत्रका जलविद्युत आयोजनाका विद्युत् जोड्नका लागि नयाँ खिम्ती सवस्टेसनको हालको क्षमताले नधान्ने हुँदा क्षमता विस्तार गर्न लागिएको हो । यसका लागि सवस्टेसनमा ६६.६७ एमभिएका चार वटा, ३० एमभिएका दुई वटा र ६/८ एमभिएको १ वटा पावर ट्रान्सफर्मर जडान कार्य भइरहेको छ । रासस