काठमाडौँ । जनगणना २०७८ अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ । जसमध्ये पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५ सय ५१ (४८.९८ प्रतिशत) र महिलाको संख्या १ करोड ४९ लाख ११ हजार २७ (५१.०२ प्रतिशत) छ ।
सार्वजनिक गरिएको जनसंख्याअनुसार अनुसार लैङ्गिक अनुपात अर्थात प्रति १०० जना महिलामा पुरुषको संख्या ९५.५९ जना रहेको छ । गत २०६८ सालको जनगणना अनुसार कूल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ र लैङ्गिक अनुपात ९४.१६ थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार काठमाडौंमा आयोजित ‘राष्ट्रिय जनगणना २०७८–नतिजा सार्वजनिक कार्यक्रम’मा नेपालको पछिल्लो जनगणनाको अन्तिम नतिजा सार्वजनिक गर्नुभयो ।
राष्ट्रिय योजना आयोगले केन्द्रीय तथ्यांक विभाग मार्फत् गत कात्तिक २५ देखि मंसिर ९ गतेसम्म २०७८ सालको जनगणना संकलन गरेको थियो । त्यसको प्रारम्भिक नतिजा गत वर्ष माघमै सार्वजनिक गरिएको थियो । गत माघ १२ गते सार्वजनिक गरिएको प्रारम्भिक नतिजाअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० थियो ।