२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

वत्सलेश्वरी जात्रामा पशुपतिनाथ भण्डार तहविलबाट विचार पूजा



अ+ अ-

काठमाडौँ । पशुपति क्षेत्रमा मनाइने वत्सलेश्वरी जात्राका अवसरमा श्री पशुपतिनाथ भण्डार तहविलबाट विचार पूजा सम्पन्न गरिएको छ ।

मुलुकमा शान्ति होस् भन्ने कामनाले पशुपति क्षेत्रमा गरिने वत्सलेश्वरी जात्राका क्रममा पशुपतिनाथका मूल भट्टले रकमी तथा कर्मचारीलाई पगरी बाँध्ने काम पनि सम्पन्न भएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो ।

यसअघि अमालकोट कचहरीबाट बाजागाजासहित पशुपतिनाथका मूलपुजारी निवासमा जानुभएको थियो । चैत्र कृष्ण अष्टमीका दिन फागुन ३० गते काठमाडौँ उपत्यका देवीदेवतालाई पूजा आराधना गरी पशुपति क्षेत्रमा वत्सलेश्वरी एवं बज्रेश्वरी जात्रा सुरु भएको उहाँले बताउनुभयो ।

आर्यघाट जाने बाटोस्थित वत्सलेश्वरी मन्दिर परिसरबाट सुरु भएको जात्रा पशुपति क्षेत्रका सबै टोलमा घुमाउने परम्परा रहेको कोष अमालकोट कचहरीका द्वारे पूर्ण डङ्गोलले राससलाई जानकारी दिनुभयो ।

चैत्र कृष्ण अष्टमीका दिन पशुपतिका भट्टले नै जात्रामा उपत्यकाका मुख्य देवदेवी एवं स्थानीयलाई जात्रा हेर्न आउनु भनी निमन्त्रणा दिने लिच्छविकालदेखिको परम्परा रहेको जनाइएको छ ।

जात्राका क्रममा बज्रेश्वरी, वत्सलेश्वरी, आकाश भैरवलाई पशुपति क्षेत्रका नौ शक्तिपीठलगायत स्थानमा देशोद्धार पूजा सम्पन्न गरिएको थियो । पूजा सम्पन्न गरी बज्रेश्वरी जात्रा सुरु गरिएको हो । वत्सलेश्वरी जात्रा आइतबारदेखि तीन दिनसम्म मनाइन्छ । चैत्र शुक्ल द्वितीयाका दिन आज सिन्दुर जात्रा गरी वत्सलेश्वरी जात्रा समापन गरिँदैछ ।

मुलुकमा शान्ति होस् भन्ने कामनाले पूजा एवं जात्रा गरिएकाले दूध खाने बालक पनि यो जात्रा हेर्न आउँछन् भन्ने विश्वास पशुपति क्षेत्रमा गरिन्छ । देशोद्धार पूजा र जात्रामा चार थरका मानिस प्रत्यक्षरुपमा संलग्न हुने गरेका छन् । उपाध्याय, वैद्य, डङ्गोल र सङ्गत गरी चार थर प्रत्यक्षरुपमा सहभागी हुने गरेको उहाँले सुनाउनुभयो ।

वत्सलेश्वरीलाई नक्साल भगवतीको दिदीका रुपमा पूजा आराधना गरिन्छ । भगवान् शिवको पत्नीका रुपमा पूजिने वत्सलेश्वरीलाई पशुपतिबाट निकालेको भन्ने किंवदन्तीका आधारमा आज नक्साल भगवतीको जात्रा पनि पशुपति क्षेत्रमा लगिन्छ । नक्साल भगवतीले भगवान् शिवको ध्यानाकर्षण गराउन रथले पशुपतिको मूलढोकामा तीनपटक ठोकाएर फर्काउने प्रचलन रही आएको छ ।

बहिनीले श्रीमान्को ध्यानाकर्षण गराएपछि वत्सलेश्वरी माता भने चैत्र शुक्ल प्रतिपदाको राति छोरा चन्द्रविनायककहाँ बस्न जाने परम्परा छ । यसै परम्पराअनुसार वत्सलेश्वरीको रथ तानेर चाबहिल गणेशसमेत भनेर पुजिने चन्द्रविनायकमा लगिन्छ । त्यहाँबाट पशुपति क्षेत्रका विभिन्न स्थानमा घुमाएर पशुपति अमालकोटमा ल्याई सिन्दुर जात्रा गरेपछि १० दिन लामो जात्रा सकिने परम्परा छ ।

प्रत्येक वर्ष यो जात्रा मनाएमा जनतामा रोग व्याध नलाग्ने, सुख, शान्ति हुने विश्वास रहेको छ । यसै विश्वासले बालबालिका पनि जात्रा हेर्न पशुपति क्षेत्रमा आउने गरेका छन् । जात्राका क्रममा जयवागेश्वरीको नवाली टोलमा वत्सलेश्वरी माताको रथलाई राखिएको थियो । सिफलचौरमा रथ घुमाएर जात्रा गरिन्छ । सिफल ढोकामा पशुपतिका कोटवालाले चमर पङ्खा हम्केर मातालाई आह्वान गर्ने विधि छ ।

यो जात्राका लागि पशुपति क्षेत्रलाई झकिझकाउ बनाइएको छ । जात्रामा पशुपति क्षेत्रका साथै स्वदेश एवं विदेशका पर्यटकको पनि आगमन हुने गरेको काठमाडौँ महानगरपालिका(८ अध्यक्ष आशामान सङ्गतले जानकारी दिनुभयो । पशुपति क्षेत्रको यो जात्रा सुरु भएपछि नै असनमा पाहाँचह्रे जात्रा भएको हो । हाँडीगाउँमा गहना खोज्ने जात्रा पनि पशुपति क्षेत्रको यो जात्रापछि नै गर्न निमन्त्रणा गरिएको छ । रासस