२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

चैत्र नवरात्र सुरु, बागलुङ कालिकामा विशेष पूजा



अ+ अ-

बलेवा । आजदेखि नवरात्र सुरु भएको छ । चैतेदशैँसमेत भनिने यस पर्वमा दुर्गा भवानीको विशेष उपासना गरिन्छ । आश्विन शुक्ल पक्षमा पर्ने दशैँ अर्थात् बडादशैँ जति भव्यरुपमा नमनाइए पनि चैतेदशैँमा बागलुङ कालिका मन्दिरमा भने विशेष पूजाआराधना हुने गरेको छ ।

असोजमा पर्ने नवरात्रमा जस्तै चैतको नवरात्रमा पनि बागलुङ कालिकाको पूजाआराधना र बलि दिइने गरिन्छ । चैतेदशैँका अवसरमा कालिका भगवती मन्दिरमा पूजाअर्चना गर्नाले मनोकामना पूरा हुने विश्वासका साथ हिन्दू धर्मावलम्बीहरु मन्दिरमा पुग्ने गर्छन् ।

गण्डकी प्रदेशकै मुख्य शक्तिपीठका रुपमा रहेको बागलुङ कालिका मन्दिर दर्शन गर्दा मनले आँटेका सबै कुरा पूरा हुन्छ भन्ने विश्वासका साथ मन्दिर दर्शनार्थी आउने गरेको बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो ।

“बागलुङ भगवतीमा विशेष शक्ति छ भन्ने मान्यताले भक्तजन यहाँ आउँछन्”, खड्काले भन्नुभयो, “गुठीले नवरात्रमा मन्दिर आउने भक्तजनको सहजताका लागि आवश्यक व्यवस्थापन गर्छ ।”

नवरात्रको अघिल्लो दिन मङ्गलबार मन्दिर परिसर सरसफाइ गरिएको छ । परिसरमा रहेका सत्तल, मठ र अन्य स–साना मन्दिरहरुसमेत चिटिक्क पारिएको छ । नवरात्रको समयमा हुने भिड र पूजा व्यवस्थापनका लागि गुठीका कर्मचारी परिचालन गरिने खड्काले बताउनुभयो । सुरक्षा व्यवस्था चुस्त बनाउन प्रहरीको सहायता लिइने उहाँले जानकारी दिनुभयो ।

चैतेदशैँका सन्दर्भ पारेर गुठीले मेलाको समेत आयोजना गरेको छ । मेला चैतको १३ गतेदेखि सुरु हुनेछ । मेला हेर्न र मन्दिरको दर्शन गर्न आउने गरी २० लाख पर्यटक बागलुङ भित्र्याउने लक्ष्य गुठीको छ । विगतमा चैत्राष्टमी मेला वस्तु विनिमयको केन्द्र पनि थियो । बागलुङमा उत्पादन भएका कृषि तथा हस्तकलाका सामग्री, भेडाको ऊनबाट निर्मित राडी–पाखी घुमलगायतका वस्तुहरुमा मेलामा राखिन्थ्यो ।

तराईबाट मसलालगायत अन्य वस्तुहरु ल्याएर सामग्रीहरु एकापसमा साटासाट गरेर मेलामा आफूलाई आवश्यक पर्ने वस्तुको जोहो गर्ने चलन थियो । लामो समयदेखि स्वत:स्फुर्त रुपमा चैतेदशैँको समयमा लाग्दै आएको मेला केही वर्षयता गुठीले औपचारिक कार्यक्रमको आयोजना गर्दै आएको छ ।

चैतेदशैँ मेला बागलुङको मुख्य पहिचान र अवसर पनि हो । यो बेला बागलुङ कालिका मन्दिरमा पूजाआजा गर्नका लागि देश विदेशबाट श्रद्धालु भक्तजन आउने गर्छन् । कोरोना महामारीका कारण बितेका केही वर्ष हुन नसकेको मेला यसपटक भव्य रुपमा सञ्चालन गर्न लागिएको खड्का बताउनुहुन्छ । मेलाको अवसरमा राष्ट्रिय लोकदोहोरी, कालिका कप खुला पुरुष भलिबल, राष्ट्रिय लोक भजन र छेलो फाल्ने प्रतियोगिताको आयोजना गरिएको छ ।

मेलामा घरेलु तथा हस्तकलाका सामग्रीसँगै फेन्सी तथा होटल रेष्टुराँका कक्षहरु पनि राखिनेछन् । बागलुङ कालिका मन्दिर अहिले बागलुङको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास भएको छ । बागलुङ कालिका मन्दिर, लामो झोलुङ्गे पुल, पञ्चकोट र शालिग्राम सङ्ग्रहालयलाई प्याकेजका रुपमा अगाडि बढाउन सके यहाँको पर्यटन र आर्थिक विकासमा महत्वपूर्ण हुने पर्यटन व्यवसायीहरु बताउँछन् । रासस




भर्खरै