६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

‘खरको छानो आगोले टिपेको पत्तै नहुने’

‘खरको छानो आगोले टिपेको पत्तै नहुने’
अ+ अ-

पाँचथर । तेह्रथुमको आठराई गाउँपालिका–६ हात्तीखर्कका आशबहादुर घिसिङको उमेर ८० वर्ष पुग्यो । हातपाउ लाग्न छोडेका घिसिङका बाबुबाजेको सारा जीवन पनि यही ठाउँमा बितेको थियो । विसं २००१ असार १५ मा जन्मनुभएका घिसिङले सुनेअनुसार उहाँका बाबुबाजेको जीवन पनि यही ठाउँमा बितेको थियो । आफ्नो उत्पादनले खान नपुगे पनि हात्तीखर्कमै घिसिङका शाखा सन्तानले यहीँ गुजारा गरिरहेका थिए ।

तर ८० वर्षको उमेरमा घिसिङ घरबारविहीन हुनुपरेको छ । आगलागीले घिसिङको टोलका १४ घर एकैसाथ खरानी बनाएको छ । आँखैअघि सारा गाउँ खरानी हुँदा घिसिङलाई सपनाजस्तै लागेको छ । “बाबु बाजेबाट न यस्तो विपत्ति सुनेको थिएँ, न यो जीवनले भोगकै थियो”, घिसिङ स्वयं आश्चार्यमा हुनुहुन्छ । तर लौरोको सहारामा जीवन कटाउनुपर्ने बेलामा उहाँसँग न घर नै रह्यो न सम्पत्ति ।

यही फागुन १२ गते नजिकैको खैरेनी निबुटार सामुदायिक वनमा लागेको आगो हात्तीखर्कको बस्तीमा सल्कियो । हुन त हात्तीखर्कमा यत्रो जङ्गल थिएन । यहाँका कयौँ स्थानीयवासी सहज जीवनयापनको अपेक्षामा बसाइँ सरेर गएपछि बस्ती नै जङ्गलमा परिणत भएको थियो । घिसिङकै दुई जना भाइका परिवार पनि यहाँबाट बसाइँ सरेर झापा गइसकेका छन् । सुक्खाले प्रभावित यस स्थानको जङ्गल वर्षा नहुँदा अत्यधिक सुक्खा बनेको थियो ।

तमोर नदीको तटबाट लागेको आगो यसरी मडारिएर आयो कि हरिया रुखहरू नै आधाआधी जले । आगो लागेपछि हुरीबतास उत्तिकै चल्यो । आगोको लप्का जङ्गल नजिकैका घरसम्म पुग्यो । ठूल्ठुला टारका बीचमा रहेका घरमा आगोले सल्किएका रुखका पातहरू पुगे । क्षणभर मै हात्तीखर्क उजाडियो । जङ्गलबाट चार सय मिटर टाढासम्मका घरमा आगो लाग्यो ।

घरबारविहीन भएपछि लौरो टेकेर राहत सामग्री बुझिरहनुभएका घिसिङका लागि यो घटना एक आश्चर्यजनक लागिरहेको छ । “जिजुबाजेदेखि बसेको घरमै म बसिरहेको थिएँ । यस्तो अवस्था मैले कहिल्यै सोचेको थिइनँ”, उहाँले भन्नुभयो । यसपालि आगो लाग्नु स्वाभाविक भए पनि आगलागीले यो हदको क्षति गर्ला भन्ने कसैको कल्पनासमेत थिएन । “यो ठाउँ नै औल हो । पहिले निकै पानी पथ्र्यो । भदौदेखि पानीको छिटा देखेको छैन । झिल्को बल्नासाथ सबै सल्कियो”, घिसिङले भन्नुभयो ।

पहिले यहाँको बस्ती बाक्लो थियो । अहिले आगलागी भई जलेका १४ मध्ये पाँच घर खाली थिए । वयोवृद्ध घिसिङ गाउँका आधाजस्तो बसाइँ सरेर गएको बताउनुहुन्छ । “तर, आफ्नै घर गएपछि सबै सकियो नि १”, निराश र हतास हुँदै उहाँले भन्नुभयो ।

वयोवृद्ध घिसिङको मात्रै होइन, घर जलेपछि मायादेवी तामाङको दुःख झनै पीडादायी छ । मायाका श्रीमान् मानसिक समस्याका कारण थलिएको लामो समय भयो । जङ्गलको आगोले ठूलो क्षति गर्ला कि भन्ने चिन्ताले मायाको मन पिरोलिरहेको थियो । क्षणभरमा घर नजिकै डाँडामा आगो आइपुग्यो । हेर्दाहेर्दै उहाँका दुई वटा घर जले ।

“सरसामान, लुगाफाटो केही निकाल्न पाइनँ । श्रीमान्को उपचार गर्न पैसा ठिक्क पारेकी थिएँ”, आँसुुमिश्रित आवाजमा उहाँले भन्नुभयो, “छोरीको भर्खर बिहे गरेका थियौँ, विवाहको पैसा पनि घरमै थियो । त्यो केही बाँकी रहेन ।” मायाको घरमा रहेको रु एक लाख ५० हजारभन्दा बढी नगद आगलागीमा जलेको छ । मानसिक समस्या भएका श्रीमान्लाई दिइराख्ने औषधि र औषधि खरिद गर्ने रकम जलेपछि अब के गर्ने भन्ने मायादेवीसँग कुनै विकल्प छैन ।

सोही स्थानकी जुनुमाया घिसिङले हलगोरु बाहेक घरको कुनै सामग्री निकाल्न पाउनु भएन । “दशै मिनेटमा घर जलेको । घर–घर छुट्टयाई छुट्टयाई जले”, घिसिङले भन्नुभयो, “हामी त बर्बादै भयौँ नि १”

गायक उदीतनारायण झाको स्वरको गीतको एक हरफ निकै चर्चित छ –

दुःखीलाई कहिलेकाँही भुल्दा रैछन् देउता पनि
भन्दथे जसले मलाई भाग्यमानी, दिएनन् साथ दुई पाइला पनि … ।

हात्तीखर्कको उजाडिएको बस्तीका सबैलाई यो गीत सायदै उपयुक्त लाग्ला । हुन पनि आफ्नो उत्पादनले आधा वर्ष खान नपुग्ने परिवारहरूको वासस्थान र श्रीसम्पत्ति क्षणभरमै उजाडिएको छ ।

तर हात्तीखर्क मात्रै होइन, पूर्वी पहाडको तमोर तटीय क्षेत्रका सबै नागरिकको साझा समस्या आगलागी हो । वर्षा कम हुँदै जाँदा वर्षको कम्तीमा छ महिना यस क्षेत्रमा पानी पर्न छाडेको छ । यस क्षेत्रमा हिउँदको समयमा वर्षा हुन छाडेको लामो समय भइसक्यो । जसका कारण सुक्खा बनेको वन जङ्गलमा झिल्को बल्नासाथ सिङ्गो जङ्गल नै आगोको ज्वालामा परिणत हुनेछ । यी स्थानमा न अग्निरेखा निर्माण गरिएका छन् न पोखरी÷प्लास्टिक पोखरी निर्माण गर्ने प्रयास नै ।

अर्कातर्फ जङ्गलछेउका बस्तीमा खर ९फुस०को छानो लगाउने गरिएको छ । खरको छानो भएकै कारण यस क्षेत्रका १४ घर एकैसाथ जलेका हुन् । हात्तीखर्कमा जस्तापाता लगाएको घर जस्ताको तस्तै देख्न सकिन्छ भने खरको छानो भएका घर जलेका छन् ।

सुक्खा बनेको छानोमा एक झिल्को पर्नासाथ ह्वारह्वारी आगो दन्किएको आठराई गाउँपालिका–६ का वडाध्यक्ष कृष्ण बाँस्कोटाको भनाइ छ । “पाँच वटा घर जलिसक्दा म त्यहाँ ९हात्तीखर्क० पुगेको थिएँ । देख्दादेख्दै सबै घर जले”, बाँस्कोटाले भन्नुभयो, “हामीसँग आगो नियन्त्रण गर्ने कुनै उपाय थिएन ।” खरको छानो हटाउन नसक्दा ठूलो क्षति भएको उहाँको भनाइ छ ।

जङ्गल छेउका बस्ती, खरको छानो र सुक्खाको संयोगले तमोर तटीय क्षेत्रमा हरेक वर्ष क्षति हुने गरेको छ । सोमबार मात्रै पाँचथरको कुम्मायक गाउँपालिका–१ साठीमुरे जङ्गलमा लागेको आगो यसरी नै बस्तीमा पस्दा स्थानीय वसन्तकुमार चाम्लिङ र छत्रबहादुर चाम्लिङको घर जलेर नष्ट भयो । यस्तै घटनाले बस्ती नै सखाप पारेको उदाहरण पाँचथरको कुम्मायक–५ स्याबरुम्बा र हिलिहाङ–७ पाखागाउँ पनि हुन् । केही वर्षअघि ती आगलागीमा यहाँका सिङ्गो बस्ती नै खरानी भएका थिए । हिलिहाङ–७ मा त जङ्गलमा लागेको आगोको लप्काले भेट्दा दुई जना स्थानीयवासीको ज्यान नै गएको थियो ।

जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रमुख प्रहरी नायब उपरीक्षक राजन चापागाईं जङ्गलमा आगलागी भएपछि छेउछाउका घर जोगाउन मुस्किल पर्ने बताउनुहुन्छ । “जङ्गलमा आगो लागे खबर गर्न अनुरोध गर्दै आएका छौँ । खबर आउनासाथ गएर निभाउछौँ पनि”, चापागाईंले भन्नुभयो, “कतिपय ठाउँमा भने आफैँलाई पनि जोखिम हुने अवस्था आउने रहेछ ।” सुक्खा ठाउँमा स्थानीयवासी नै सचेत हुनुको विकल्प नरहेको उहाँको भनाइ छ ।

हात्तीखर्कको आगलागीको अवलोकन गर्नुभएका कुम्मायक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवी तुम्बापो सुक्खा क्षेत्रमा आगलागीबाट घरबार बचाउने सबैभन्दा उपयुक्त विकल्प नै खरको छानो हटाउनु आवश्यक रहेको बताउनुहुन्छ । “जस्तापातामा हत्तपत्त आगो नसल्किने रहेछ”, तुम्बापोले भन्नुभयो, “सकेसम्म जस्तापाता लगाउने प्रबन्ध गर्नु उपयुक्त देखिन्छ ।”

आठराई गाउँपालिकाका अध्यक्ष दिलकुमार पाहिम (लिम्बू) पनि हात्तीखर्कजस्ता क्षेत्रलाई आगलागीबाट बचाउने उपयुक्त विकल्प फुसको छानोमुक्त घर नै रहेको बताउनुहुन्छ ।

यद्यपि कमजोर आर्थिक अवस्थाका कारण यस क्षेत्रका धेरै सर्वसाधारणले जस्तापाता लगाउन सकेका छैनन् । सरकारले विगतमा सञ्चालन गरेको सुरक्षित नागरिक आवास कार्यक्रमले यस क्षेत्रका कतिपय घरमा जस्तापाता लगाइए पनि पूर्ण भने हुन सकेको छैन । जसका कारण जङ्गलमा लागेको आगोले निकै टाढाका घरगोठ जलाउने गरेको छ । रवीन्द्र काफ्ले/रासस