• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

युएईलाई नेपालले दियो २३० रनको लक्ष्य



काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, संयुक्त अरब इमिरेट्स र पपुआ न्युगिनी सम्मिलित त्रिकोणात्मक शृङ्खलाअन्तर्गत दुई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको अन्तिम खेलमा नेपालले युएईलाई जितका लागि २३० रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालले ५० ओभरको निर्धारित खेलमा ८ विकेट गुमाएर २२९ रन बनायो । ६८ रनमा ५ विकेट गुमेको अवस्थामा नेपालको पारी भीम सार्की, सन्दीप लामिछाने र आरिफ शेखले उकासेका थिए ।

सार्कीले ९९ बलमा ७ चौकाको सहयोगमा महत्त्वपूर्ण ७० रन बनाए । सार्की र लामिछानेले छैटौँ विकेटको साझेदारीमा ५६ रन जोडेका थिए । सन्दीप व्यक्तिगत २७ रनमा आउट भए । त्यसपछि आएका आरिफ शेखले सार्कीसँग अर्को ५६ रनको साझेदारी गरेका थिए ।

४४.३ ओभरमा १८० को स्कोरमा सार्की आउट भएपछि आएका करण केसीले एक छक्का र एक चौकाको सहयोगमा १७ रन बनाए । केसी आउट भएपछि आएका प्रतिस जिसीले ६ बलमा एक चौकाको सहयोगमा ११ रनमा अविजित रहे । शेखले ५६ बलमा २ चौका र एक ६ सहित अविजित ४३ रन बनाए ।

यसअघि टप अर्डरका ब्याटरहरु फटाफट आउट भएका थिए । ओपनरद्वय ज्ञानेन्द्र मल्लले ११ र आशिफ शेखले ६ रन बनाए भने कुशल मल्लले दुई चौका र दुई छक्कासहित ३२ बलमा ३२ रन बनाए । कप्तान रोहित पौडेल १ रन र दीपेन्द्रसिंह ऐरी ४ रनमा आउट भएका थिए ।

बलिङतर्फ युएईका जुनेद सिद्दीकीले ३, रोहन मुस्तफा र आर्यल लाक्राले समान २÷२ तथा कार्तिक मेइयापनले १ विकेट लिए ।

केही बेरमा युएईले जवाफी ब्याटिङ गर्दैछ ।