२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्न थाल्यो News Polar कुरिनटारस्थित इच्छाकामना आधारभूत अस्पताल : नयाँ भवन बन्यो, आवश्यक जनशक्ति छैन News Polar विद्यालयको सुरक्षा गर्न खैराङका सामुदायिक विद्यालयमा ‘घेराबारा’ News Polar बेगमा वडा र स्वास्थ्यचौकीको भवन निर्माण News Polar सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट News Polar आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती News Polar दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै News Polar सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ–तिहार News Polar भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या News Polar काभ्रेका अवैध क्रसर–खानीलाई मापदण्डमा आउन समयसीमा News Polar नेपालगन्जमा ऐतिहासिक रामलीला सुरु News Polar बालउद्धार माविका प्राचार्य कुटपिट प्रकरणमा दुई जना पक्राउ News Polar बूढीगण्डकी बाढीः चार जलविद्युत् आयोजनामा क्षति News Polar बेरुजु घटाउन मुख्यमन्त्रीको निर्देशन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त , मधु , बिनोद र महामन्त्रीमा प्रदीप र उदयशमशेर विजयी News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल

ती उदासी आँखा(अडियो सहित)

ती उदासी आँखा(अडियो सहित)
अ अ+ अ-

सँगै हिँड्दाहिँड्दै उनको हातमा मुठी परेको मोबाइलमा घन्टी बज्यो । निकैबेरसम्म बज्न दिइरहिन् तिनले । एकपल्ट नम्बर हेरेर नउठाई हिँडिरहिन् लुरुलुरु । पूरै घन्टी बजेर थाकेको मोबाइल फेरि थाल्यो बज्न । मैले भनेँ, ‘उठाउन मीरा ! किन दुःख दिएको त्यसलाई ?

सँगै हिँड्दाहिँड्दै उनको हातमा मुठी परेको मोबाइलमा घन्टी बज्यो । निकैबेरसम्म बज्न दिइरहिन् तिनले । एकपल्ट नम्बर हेरेर नउठाई हिँडिरहिन् लुरुलुरु । पूरै घन्टी बजेर थाकेको मोबाइल फेरि थाल्यो बज्न । मैले भनेँ, ‘उठाउन मीरा ! किन दुःख दिएको त्यसलाई ?

बिस्तारै फोनलाई कानमा लगिन् र बोलिन्, ‘हेल्लो !’

उतापट्टिबाट मसिनो पुरुष आवाज आयो ।

मोबाइलको आवाजसँगै उनको हिँडाइको गति धिमा भएको थियो । उनको हिँडाइको गतिलाई असहयोग गर्दै म अघि बढेँ ।

बिहानको कलिलो घामसँगैको सहनसकिने चीसो हावा शरीरका विभिन्न भागलाई र्स्पर्श गर्दै बगिरहेको थियो । बाटाका दुवै किनारमा आधाशताब्दि उँभो उमेर खाएका स्त्रीपुरूषहरू एक्लाएक्लै वा संयुक्त यात्रामा देखिन्थे । कोही खोच्याउँदै, कोही लट्ठी टेक्दै, कोही दौडँदै, कोही छिटोछिटो अघि बढिरहेका देखिन्थे । छिटै पुग्न खोजेझैँ देखिन्थे प्रायः सबैजना । नमस्ते गर्दै, हात उठाउँदै, कुकुर पच्छयाउँदै, धमाधम भएको थियो बिहानलाई । प्रायः एकै प्रकारका परिचित अनुहारहरू, एउटै समयमा भेट हुन्थ्यो, तै पनि कतिसँग चिनजान, परिचय आदि बिनै पनि बितिरहेको थियो समय । धेरैजसो परिचित बोल्ने सर्न्दर्भमा बन्द-हडताल र महँगीको विषय शिर्षकमा देखिन्थ्यो ।

मीरा र मेरो यो ‘प्रातयात्रा’ सुरू भएको पनि झन्डै चार वर्षभइसकेको छ । उमेरको हदले जागिरबाट अवकास पाएपछि पूर्णकालीक गृहवासपछि यस यात्राले निरन्तरता पाएको हो । जागिरे अवधिमा बसाइको अव्यवस्थाले गर्दा प्रायः खटाइएको ठाउँमा एक्लै बस्ने गरेको थिएँ । आफूसँगसँगै भुरालाई पनि स्कुल सरुवा गरिरहँदा उनीहरूको पढाइ बिग्रने हुनाले आमा र केटाकेटीलाई घरमै छाडेँ । प्रायः लामै जागिरे जीवन मैले एक्लै बिताएँ भने पनि हुन्छ ।

यस एक्लो जागिरे यात्रामा खाने, सुत्ने, कुनै कुरा पनि व्यवस्थित थिएनन् । साथीभाइहरूका लहैलहैमा लागेर खाने, खेल्ने कुरा पनि सिकियो । मनले बेठीक ठान्दाठान्दै पनि घरलाई ढाँटेर बेकामे कुरामा पैसा खर्च गरियो । पैसा खर्च भएको अर्को दिन मनमा निराशा र पश्चाताप झाँगिएर आउँथे । श्रीमती र छोराछोरीको अनुहार आँखामा नाच्दथ्यो । साथीभाइका अघि नजरशर्मी हुने भएर बेकारमा गरिएको खर्चको हिसाब आज दिमागमा बारम्बार आइरहन्छ ।

श्रीमती र छोराछोरीहरूमाथि अगाध स्नेह र प्रेम हुँदाहुँदै पनि आँखाको बाटो हुँदै मनको पर्दामा अनेक अनुहारहरू स्थापित हुँदै आउँथे । इच्छा र रहर नहुँदानहुँदै पनि कताकताबाट प्रेमजस्तो कुरा उम्रिदै आएको हुन्थ्यो । कुनै बेला कार्यालयका महिला साथीहरू, कुनै बेला डेरा वा घरपटीका छिमेकीहरू, कुनै बेला खाना वा खाजा खाने क्यान्टिनका सेविकाहरू आँखाबाट मनतिर ओर्लिंदै गरेको अनुभव हुन्थ्यो ।

उनीहरूको आफूसँग हुने प्रस्तुतिले कतिकति बेला आफूलाई सबैभन्दा धेरै माया गर्ने तिनै हुन् कि जस्तो लगी मन बहकिने गर्दथ्यो । महिलाको नबाँधिएको फुकेको कपालजस्तो जति बेला पनि असरल्ला छरिने यस मनले कैयौँ रूप र सौर्न्दर्यको यात्रा गर्‍यो । मानसिक रूपमा आकषर्णको यात्रामा घुम्दाघुम्दै एकाएक नराम्रो गरी अल्झिएको मन एउटा पीडाको लामो यात्रामा हेलिन पुग्यो । छोप्दाछोप्दै पनि त्यो कुनै कुनाबाट बिस्तारै देखिँदै गएछ ।

प्रेम एउटा यस्तो अनौठो र अप्ठ्यारो अनुभूति हो, जसलाई सकेसम्म लुकाउन मन लाग्छ र लुकाउनु नै पीडापूर्ण पनि हुँदै जान्छ । प्रेम कहाँ उम्रिन्छ र त्यो कसरी झाँगिदै जान्छ भन्ने कुरा कसैले भन्न सक्छ जस्तो मलाई लाग्दैन । कुनै काल, स्थान र उमेर विशेषले नबाधिने यस अनुभूतिले आक्रान्त हजारौँ मनस्थितिहरू जतासुकै असरल्ल देख्छु, अचेल म । सबै कुरा थाह भईभईकन पनि खेल्न मन लाग्ने कस्तो अप्ठ्यारो खेल हो यो । जब म एकान्तमा हुन्छु, एक्लै हुन्छु, उमेरको यस खुडि्कलामा अप्ठ्यारो गरी टेकेर पनि विगतको रङसँग खेल्न मन लाग्छ ।

घरमा भएका श्रीमती र छोराछोरीहरू गृहस्थीका महान् सदस्यहरू रहे पनि तिनीहरूका अतिरिक्त यस मनमा अर्कै स्वतन्त्र पात्रसत्ताको अनुभूति भइरहन्छ सधैँ । पत्नीबाहेक अरू कसैसँग शरीरसुखको अनुभव साटासाट गरेको नभए पनि मनको तहमा प्रेमका अनेक पर्दाहरू खुल्दै बन्द हुँदै गरिरहन्छन् ।

जोगिँदाजोगिँदै पनि प्रेमको अनौठो जालमा म फँसेछु नराम्रै गरी । उमेर, अवस्था र स्तर केही पनि मिल्दोजुल्दो थिएन । तिनीसँग बिहे गर्ने, घरजम गर्ने वा सँगै जीवन बिताउने इच्छा पनि थिएन । कहिलेदेखि कसरी म एकोहोरिएछु थाहै भएन ।

आफूलाई साधारणजस्तो लागेको कुरा देख्नेलाई असाधारण हुँदै गएछ । एक दिन एकाएक श्रीमती बिनाखबर डेरामा आइपुगिन् । उनको यो आगमन मेरा लागि ठूलै आपत्तिजस्तो भयो । उनी यसरी एकाएक बिनासूचना आउनाको कारण सोधेँ, उनले त्यस प्रश्नको खासै उत्तर दिइनन् । केवल मुसुक्क हाँसेर भनिन्, ‘दिक्क लाग्यो, एक्लै बस्न, अनि…।’

केही दिन त्यत्तिकै बित्यो तर उनले घर फिर्ने लक्षणै देखाइनन् । एकदिन सोधेँ, ‘मीरा ! घर जाने होइन – भुरा एक्लै छाडेर यहाँ कतिन्जेल बस्ने – उनीहरूको पढाइ बिग्रेला नि फेरि ।’

‘भुराको पढाइ बिग्रिए अर्को वर्षसप्रिन्छ, ठूलाको बानी बिग्रिए कहिले सप्रिन्छ – म त अब नजाने गरी आएकी ।’

म झसङ्ग भएँ । अग्लो ठाउँबाट खसेझैँ । जुन कुरा लुकाउन म कत्ति प्रयत्न गरिरहेको थिएँ, उनले त्यसलाई निर्णय जस्तै सुनाइन् । आफैँसँग लाज, घिन र शरम उम्लिएर आयो । उनको अनुहार हेर्न कत्ति कठिन भयो त्यस क्षण । तर, उनको बुद्धिमानीको अगाडि म नतमस्तक भएँ । यस्तो अनौठो उपचार गरेकी थिइन् तिनले म आफैँभित्र पग्लिएर पानीपानी भएँ । त्यो साँझ मैले मीरालाई भनेँ, ‘मलाई माफ देऊ, मैले आफैँलाई बिर्सिएँछु ।’

उनले भनिन्,’मैले किन माफ दिनु नि ! तपाईं आफूले आफैँलाई सम्झे भइगयो नि । म तपाईंलाई तपाईं को हो भन्ने सम्झाउन आएकी थिएँ । अब भोलि नै जान्छु ।’

नभन्दै भोलि बिहानै उठेर उनी बाटो लागिन् । आमा माइत गएको परबाट रुँदै हेरिरहेको भुराभुरी जस्तो मनको भएँ म त्यो दिनभरि । वास्तवमै मलाई त्यो दिन आफ्नो स्थितिको ज्ञान आफैँलाई झस्काउने गरी भयो ।

त्यसको एक हप्तापछि मैले त्यस कार्यालयबाट सरुवा लिइसकेको थिएँ । हिँड्ने बेलामा राधिका साह्रै रोइन् । मसँग उनलाई सम्झाउने कुनै शब्द थिएन । म उनलाई फेरि कुनै दिन लिन आउने कुरा पनि थिएन । हाम्रो प्रेमलाई झन्झन् झाँगिएको पार्ने रहर पनि थिएन । कुनै आश्वासन नै थिएन मेरो उनका लागि । खालि यत्ति मात्र भन्न सकेँ मैले, ‘प्रेम र गृहस्थी एउटै कुरा होइन रहेछ राधिका ! मानिसले अन्तिम क्षणमा रोज्नुपर्दा गृहस्थी नै रोज्नुपर्ने रहेछ । प्रेमलाई छातीभरि निमोनियाजस्तो पालेर कहाँकहाँको गृहस्थीमा प्रवेश गर्नुपर्ने रहेछ । तिम्रो गृहस्थीको लागि शुभकामना ।’

उनी रोइरहेकी थिइन् । म लुरुलुरु गएर बसको सिटमा भरिएको थिएँ । यात्राभरि मेरा आँखा राधिकाकै आँशुले भिजेका थिए । कुनै बेला आफैँसँग रिस उठ्थ्यो, किन मैले त्यो कलिली केटीलाई सपना बुनिरहेको बेला भत्काउने आदेश दिइन । आमाले काखमा टाउको अड्याएर जुम्रा खोजिरहँदा फुस्स निदाएजस्तो म किन निदाएँ उनको अनौठो आग्रहसँग । मैले उनीमाथि सपना ओच्छ्याएको थिएन, तर के उनले मैलेजस्तै निरपेक्ष सपना बुनेकी थिइन् होला त ?

जे होस्, एउटै घटनाले म दुई नारी हृदयबाट फालिएको थिएँ । मीराको मनभित्र म एउटा प्राविधिक ‘लोग्ने’मात्र थिएँ । राधिकाको मनमा म निष्ठुरताको प्रतीक । आज पनि मीराका अघि मलाई गहिरा भावुक कुराहरू गर्न लाज लाग्छ । मेरो भावको नाङ्गो रूप देखिसकेकी उनका अघि मैले आफ्नै उपस्थितिलाई उभ्याउन सकिन । केवल कर्तव्यको एउटा दिग्दार लाग्दो यात्रामा हिँडिरहेकी जस्तो लाग्छ मलाई उनी ।

मुखले आजसम्म एक शब्द तलमाथि नबोलेकी भए पनि उनका आँखामा गृहस्थीको निरसता सधैँ उभिएको देख्छु । कैयौँपल्ट मैले माफी मागिसकेँ, तर उनी मुसुक्क हाँसेर यसरी टार्छिन्, मलाई लाजको बर्कोले गम्ल्याङ्ग छोप्छ घरीघरी ।

निकैबाटो हिँडिसकेछु, आफ्नै हिजोको स्मृतिको लौरो टेकेर । पछि र्फकेर हेरेँ, मीरा निकै पर बिस्तारै हिँड्दै आइरहेकी थिइन् । आफूभन्दा पाँच वर्षकान्छी तिनी पनि तीन बीसको छेउछाउ पुगिसकेकी छिन् । बाईस वर्षीय चन्चले केटीलाई बेहुली बनाएर आफ्ना घरमा भित्र्याएका दिन तिनको अनुहार हेरेर कहिले अघाउँला र म, जस्तो लागेको थियो । वास्तवमा जीवनमा कहिल्यै विरक्तिको भाव उत्पन्न भएन उनीप्रति । उनको अनुपस्थितिमा मभित्र सलबलाएको स्वच्छन्द लोग्ने मान्छेप्रति सधैँ व्रि्रोह गर्थें म, तर त्यत्तिकै थाकेको हुन्थेँ ।

मेरो घरगृहस्थी सम्हाल्न आएकी यिनले वास्तवमा पार लगाइन् एउटा ठूलै डुङ्गा । दुई छोरा र दुई छोरी आ-आफ्नै गृहस्थीमा प्रवेश गरिसके । जागीर र गृहस्थीका सिलसिलामा कोही देशभित्र कोही देशबाहिर कर्मक्षेत्रमा व्यस्त छन् । हामी बुढाबुढीलाई आवश्यक खर्च र टेलिफोनमाया दिन उनीहरू कन्जुसी गर्दैनन् । आज हामी एकअर्काको भर भएका छौं ।

जति हेर्छु त्यति माया लाग्छ उनको । मैले यिनीसँग प्रेम त गरिन, तर माया भने सुरु देखि नै गरेँ । जतिबेला पनि माया लागिरहन्थ्यो, तर त्यो माया कहिल्यै प्रेमजस्तो थिएन । सम्झौताको संसारमा प्रेमको उपस्थिति नहुँदोरहेछ । कहिलेकाहीँ लाग्छ, मानिसले हजारौं वर्षेखि जपेर ल्याएको यो प्रेमको आखिर के उपयोगिता छ – के अर्थ छ ?

छेउमा आइपुगेकी तिनलाई नियालेर हेरेँ । अनुहार एकदम निराश र दुःखीजस्तो थियो । बिहान घरबाट निस्कँदाको उज्यालो अस्ताइसकेको थियो, यो प्रात भ्रमणको रङ थिएन अनुहारमा । हेरेँ तिनको अनुहारको रङमा कुनै गृहस्थी वा पारिवारिक पीडाबाट उत्पन्न अभिव्यक्ति थिएन । त्यो सदाको भन्दा अनौठो र अपरिचित थियो ।

पहिला पनि बेलाबेला त्यस्सै उदाउँथ्यो उनको अनुहारमा त्यस्तो उदासी । अनि बिस्तारै हराउँदै गएको देखिन्थ्यो । उनको अनुहारमा उदाउने खुसी वा उदासी दुवैको कारण सोध्ने आँट मलाई कहिल्यै आएन । मैले उनको अनुहारमा हेरिरहँदा, उनले आफ्नो अनुहार भुइँतिरमात्र घोप्ट्याउँदै हिँडिरहिन् ।

घरमा आइपुग्दा पनि उनको उदासी हराएको थिएन । बाटामा मैले उनलाई भुलाउन के-के, के-के, भनिरहेँ तर ती कुनै कुरा पनि उनले मन दिएर सुनेजस्तो लागेन । यही बेला खेरीखेरी के सोधिरहनु, पछि आफैँ भन्लिन् नि भन्ने सोचेँ ।

साँझमा घर आइपुग्दा पनि मीराको अनुहार झन् अँध्यारो थियो । मनमा चीसो पस्यो । उनलाई केले त्यस्तो पार्‍यो होला ! सधैँ कस्ताकस्ता पीर लुकाएर हाँस्न सक्ने उनी झन्झन् अँध्यारिएकी थिइन् ।

मैले दुइटा मात्र रोटी खाएँ आज । सदा चारवटा खान्थेँ । उनले त एक गिलास दूधमात्र खाइन् । त्यत्तिकै घरको वातावरण अप्ठ्यारो भएको थियो । सोचेँ, ‘अब धेरैबेर चुप लाग्नु हुँदैन, सोध्नुपर्छ ।’

तर मैले केही सोध्नै परेन । छेउमा आएर बसेकी उनी एकाएक मेरो कुममा टाउको अड्याएर रुन थालिन् । अलमल्ल भएँ म । मनमा चीसो पस्यो । केही ठूलै कुरा भएको हुनुपर्छ भन्ने लाग्यो । एकैचोटि मनमा अनेकौँ शङ्का उपशङ्काहरू उम्रिएर आए । आफैँबाट यो कुनै गल्ती भयो कि भनी चारतिर मन डुलाएँ ।

उनको टाउकोमा हात खेलाउँदै भनेँ,’किन यसरी रोएकी मीरा ! बिहान फोन आएदेखि नै तिमी दुःखी देखिन्छ्यौ, कसको फोन थियो त्यो ?’

अनौठो पाराले हेरिन् उनले मेरो अनुहार । पहिलोपल्ट उनी मलाई राम्ररी चिन्न खोजिरहेकी छिन् जस्तो लाग्यो । मेरा दुबै हात समातेर बडो दयनीय अनुहारले अनुनयपूर्वक बोलिन्, ‘आज ३ बजे उनको देहान्त भयो । भोलि बिहानै हस्पिटल जौँ न है ।’

एकदम नै दबिएको र डराएको जस्तो थियो उनको आवाज ।

म अलमल्ल भएँ । सोधेँ, ‘कसको देहावसान भयो ?’

मेरो आँखामा एकोहोरो हेरिरहिन् । तिनका आँखा कस्ताकस्ता अनौठा र एकोहोरो जस्ता थिए । कुनै प्रेत लागेको बिरामी धामीका अघि एकोहोरिएजस्तै एकोहोरी भएकी थिइन् तिनी । विस्तारै भनिन्, ‘कहिलेकाहीँ फोनमा कुरा हुन्थ्यो । बिरामी छु भन्थे, तर यति चाँडै सकिएलान् भन्ने सोचेकी थिइनँ ।’

कहाँकहाँ हेरेर एक्लै आफैँसँग बोलेझैँ भन्दै गइन्, ‘सधैँ जीवनका बारेमा सम्झाइरहन्थे । गृहस्थीको महत्व दर्शाइरहन्थे । प्रेमको अर्थ बुझाइरहन्थे । तपाईं नहुँदा पनि फोनबाट तपाईंका बारेमा सोधिरहन्थे, तपाईंको ख्याल राख्नु भनिरहन्थे । मलाई एक्लै एकान्तमा रमाइरहन पुग्ने उनी साथी थिए । तपाईंको गृहस्थीले टम्म भरिएकी म, उनको प्रेमले रमाएकी थिएँ ।’

पागल बरबराएझैँ गर्न लागिन् । मैले दुबै हातले उनको कुम हल्लाएँ ।

झसङ्ग भइन् उनी । एकछिनपछि आँखाको आँसु पुच्छदै भनिन्, ‘मैले सारा जिन्दगी तपाईंलाई दिएँ । यो घरलाई संसार बनाएँ । तपाईंको सुखका लागि समर्पित भएँ । भोलि एकपल्ट तपाईं मेरा लागि समय दिनोस् । म उनको अन्तिमपल्ट अनुहार हेर्न चाहन्छु ।’

उनी मेरो काखमा घोप्टिएकी थिइन् । म कत्तिबेलासम्म रनभुल्लमा परेँ । निकैबेरपछि के भयो के भयो । त्यस्सै मन बटारिएर आयो । आँखा त्यत्तिकै भरिए आँसुले । उनको टाउको उठाएर अनुहार हेर्दै भनेँ, ‘हुन्छ साथी ! भोलि बिहान म तिम्रो प्रेमीको मलामी जानेछु । तिमीसँगै यो शोकमा सामेल हुनेछु ।’

राति ब्युझिदा पनि उनी भित्तातिर फर्किएर ठूलोठूलो सास फेरिरहेकी थिइन् । नाक पुछिरहेकी थिइन् ।