२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधव पक्ष किन गएन एमाले बैठकमा ?



अ+ अ-

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरु भएको छ  ।   

दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी विघटन भएपछि बोलाईएको बैठकलाई १३ औ केन्द्रीय कमिटीको बैठकका रुपमा सुरु गरिएको छ ।

यद्यपि माधव नेपाल पक्षले भने बैठक बहिष्कार गरेको छ । दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी विघटन गरेर केन्द्रीय कमिटी क्रियाशील गराइए पनि अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठक नवौं महाधिवेशनबाट निर्वाचित कमिटी नभएको  नेपाल पक्षले जिकिर गरेको छ ।

माधव नेपाल पक्षधर स्थायी कमिटी सदस्यहरूको बिहीबार बुद्धनगरस्थित एक पार्टी प्यालेसमा बसेको बैठकले गरेका दुई बुँदे निर्णय सार्वजनिक भएको छ । 

जसमा सबै कमिटीलाई २०७५ जेठ २ गते अघिको अवस्थामा क्रियाशील गराउन महाधिवेशन आयोजक कमिटीको निर्णयले अवरोध पुर्‍याएको उल्लेख छ ।

यस्तै माधव पक्षको बैठकले गरेको दोस्रो निर्णयमा एमालेलाई एकताबद्ध रूपमा अघि बढाउन उचित र औपचारिक सार्थक वार्ता र सहमतिको प्रक्रिया अवलम्वन गरिनुपर्ने पनि उल्लेख गरिएको छ ।

२०७५ जेठ ३ गते नेकपा एकताअघि एमालेको अन्तिम बैठकबाट मनोनीत भएका ४१ सदस्यलाई पनि सहमतिको आधारमा बसेको केन्द्रीय कमिटी बैठकपछि मात्र समावेश गरिनुपर्ने सर्त सो पक्षको छ ।