२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

युनिभर्सलले मनायो २७औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस



अ+ अ-

काठमाडौं । बालुवाटार स्थित युनिभर्सल कलेज प्रिपरेटरी स्कुलले यही फाल्गुण १३ गते शनिबार आफ्नो प्राङ्गणमा विद्यालयको २७औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस भब्यताका साथ मनाएको छ ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा सन् १९९१–१९९४ सम्म संयुक्त राष्ट्र संघका लागि नेपालका राजादूत प्रा.डा.जयराज आचार्य आमन्त्रित हुनुहुन्थ्यो भने सो क्षेत्रका समाजसेवी एवम् सामाजिक अभियन्ताहरुको कार्यक्रममा राम्रो उपस्थिती थियो ।

विहान ११ बजेबाट सुरु गरिएको कार्यक्रममा पूर्व प्राथमिक देखि कक्षा १० सम्मका विद्यार्थीहरुले नृत्य, गायन, वाद्यवादन, नाट्यकला आदिका क्षेत्रमा आफ्नो कौशल अभिभावक एवम् आमन्त्रित पाहुनाहरुलाई देखाएका थिए ।

नेवारी, तमाङसेलो देखि हिपहप सम्मका नृत्यहरु तथा देशप्रेम र बिभेद विरुद्दका गीतहरु प्रस्तुत गरेर विद्यार्थीहरुले चार घण्टाको सो कार्यक्रममा आगन्तुकहरुको ध्यान बाँधेर राख्न सफल देखिन्थे । हाम्रो संस्कृती हाम्रो पहिचान भन्ने नाराका साथ प्राथमिक तहका विद्यार्थिहरुले हाम्रा पर्वहरुको बारेमा गरेको सांस्कृतिक प्रस्तुती तथा अभिभावक र विद्यार्थीले सामाजिक संजालको अत्याधिक प्रयोग गर्दा अहिले हाम्रो परिवार र समाजमा देखिएको विसंगती बारेको अङ्ग्रेजी नाटक “नो सोसल मिडिया“ ले दर्शकहरुमा राम्रो छाप छाडेका थिए ।

प्रमुख अतिथी प्रा.डा. आचार्यले बालबालिकाको शैक्षिक विकासमा विद्यालयको मात्रै नभइ अभिभावकको पनि भूमिका रहने र चरित्र निर्माणमा त यो झन् अहम् हुने कुरा आफ्नो मन्तव्यमा राख्नु भयो । विद्यार्थीहरुको कौशलको प्रशंसा गर्दै पुर्व मन्त्री एवम् शिक्षासेवी श्री राधाकृष्ण मैनालीले विद्यालयको प्रगतिको शुभकामना दिनु भएको थियो । विद्यालयका अध्यक्ष पुर्व सचिव श्री श्याम प्रसाद मैनालीले विद्यालयलाई नयाँ उँचाइमा पुर्याउन सहयोग गर्न अभिभावकहरुलाई आग्रह गर्नु भयो भने कोभिड प्रकोपका कारण दुई वर्ष पश्चात विद्यालयको वार्षिकोत्सव हर्सोल्लासकासाथ मनाउन पाउँदा सबै खुशी भएको प्रधानअध्यापक सागरमणि शिवाकोटीको कथन थियो ।

प्रख्यात टुँडालदेवी मन्दिर छेवैमा अवस्थित युनिभर्सल कलेज् प्रिपरेटरी स्कुल बि.सं. २०५२ मा स्थापित भएको र सो क्षेत्रको पुरानो र प्रतिष्ठित शैक्षिक संस्थाको रुपमा यसको पहिचान रहेको छ ।