२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनेरास्ववियु महाधिवेशनः सहमति नजुटे आज मतदान हुँदै



अ+ अ-

काठमाडौँ । नेकपा एमालेनिकट विद्यार्थी सङ्गठन अनेरास्वियुको महाधिवेशनको नयाँ नेतृत्व चयनका लागि आजबाट मतदान प्रक्रिया सुरु हुने भएको छ ।

विधान अनुसार प्रत्येक ३ वर्षमा हुने अखिल महाधिवेशन यसपटक भने पार्टी एकता र विभाजनका कारण ७ वर्षपछि हुन लागेको हो ।

अखिलले सहमतिबाट नेतृत्व चयन हुन नसकेमा मतदान प्रक्रियाबाट नेतृत्व चयन गर्ने घोषणा गरेको छ । त्यसका लागि निवर्तमान अध्यक्ष सुनिता बरालले हिजो नै आफ्नो कमिटी भङ्ग भएको भन्दै भानुभक्त ढकाल नेतृत्वको अध्यक्ष मण्डलको घोषणा गरिसकेकी छिन् । जसमा खिमलाल भट्टराई, विनोद ढकाल, रचना खड्का, माधव ढुङ्गेल, किशोर विक्रम मल्ल, नबिना लामा, ऐन महर र सुनिता बराल सदस्य रहेका छन् ।

अखिलको भावी नेतृत्वको लागि वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने र मोती विश्वकर्मा र महासचिव समिक बडालले दाबी गरिरहेका छन् । महाधिवेशनमा सहभागी हुन देशभरिबाट १०८० प्रतिनिधि काठमाडौँ आएका छन् ।

निवर्तमान अध्यक्ष सुनिता बरालका अनुसार जारी महाधिवेशनको मुख्य उद्देश्य भनेको नेतृत्व छनौट गर्ने रहेको छ । बरालका अनुसार सहमतिबाट आज नेतृत्व चयन हुन नसकेमा विद्युतीय मतदानबाट नेतृत्व चयन गर्ने गरी प्रबन्ध मिलाइएको छ ।

जारी महाधिवेशनले १९९ सदस्सीय केन्द्रीय समिति तथा तीनवटा केन्द्रीय आयोग पनि निमार्ण गर्नेछ । प्रत्येक आयोगमा ५–५ जना सदस्य हुनेछन् ।