२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

पेमासाङ थिङ (अडियोसहित)

पेमासाङ थिङ (अडियोसहित)
अ अ+ अ-

पछिल्लो समय म उनलाई मुख्य पात्र बनाएर कथा लेख्ने सोचाइमा थिए। त्यो एउटा आत्मसंस्मरण जस्तै हुनेवाला थियो। मानिसहरू त्यसलाई खाँट्टी आत्मकथा नै पनि भन्थे होलान्। पहिलोपटक प्रकाशित 'कालो चश्मा' शीर्षकको मेरो कथाबारे पनि धेरैले त्यसै भन्थे। पछि त्यो अर्कै शीर्षकको रूपमा किताब बनेर आयो। 'कालो चश्मा'को अध्याय त्यहीँ सकियो।

धरहराको अध्यायले भने सायद मलाई पछिसम्मै चिमोटिरहनेछ।

'तिम्लाई कुन फूल मनपर्छ पेमु?' मैले आफ्नो दायाँ हातले उनका औँला चलाउँदै सोधेको थिएँ।तिनताक गृष्म यामको उत्तेजक बतासले झारिदिएको शिरीषको फूलका वैजनी पातहरूले काठमाडौंका सडकहरू छपक्कै छोपिएका थिए। हामी रत्नपार्क हुँदै उत्तरतिर फन्को मारेर सैनिक मञ्चको छेवैछेउ पुरानो बसपार्कबाट धरहरातिर अघि बढ्दै थियौं। सडकमा बेस्मारी झरेका शिरीषका फूलहरू कुल्चिँदै अघि बढ्दाको रोमान्चकता असीम थियो। 

'झर्दै गरेको फूल' उनले वेपर्वाहसित जवाफ दिएकी थिइन्, 'यो शिरीषको फूल जस्तै।'

'झरेको फूलको नि अर्थ हुन्छ र!'

म भावुक भइदिएको थिएँ। मानौँ, पारिजातको उपन्यास 'शिरीषको फूल'मा सुयोगविरले सकम्बरीलाई प्रश्न गरिरहेको छ। कलेजमा केही दिनअघि मात्रै प्रा. डा. गार्गी शर्माले 'शिरीषको फूल'को अन्तिम कक्षा लिनुभएको थियो।

हामी टुँडिखेललाई फन्को मारेर शहीदगेट छेउ पुग्दै थियौं। उनी सदाझैँ अलिक दार्शनिक हुन खोज्दै थिइन्-

'फूल, जीवन, प्रकृति, समाज सबैमा झर्नुको यो नियम लागू हुन्छ, पुराना झरेपछि नयाँ पलाउने नियम।'

यसपछि उनको अनुहार एक तमासले गम्भीर बनेको थियो।

पहिलोपटक कलेजमा मलाई त्यही गम्भीर अनुहारले तानेको थियो। हामी पत्रकारिता विषय लिएर स्नातक पढ्दै थियौँ। मुलुक दिन प्रतिदिन द्वन्द्वको महाभुमरीमा फस्दै थियो। विद्रोहीले अब सदरमुकाम नै कब्जा गर्न थालेको समाचार आइरहेका थिए। जनसकार घोषणा त सामान्य लाग्दै गइरहेको थियो। सधैँजसो बन्द र हड्तालले कलेज निकै प्रभावित थियो। प्रदर्शनीमार्गको आरआर क्याम्पस त झन् आन्दोलनको केन्द्र नै मानिन्थ्यो।

एक दिन-

क्यान्टिनमा एउटी अपरिचित युवतीको अनुहार देखियो।

म एक्लै कालो चिया पिइरहेको थिएँ, क्यान्टिनको पूर्वी कुनामा। सडकतिर फर्किएको ग्रीलवाला झ्यालको छाया टेबुलमै पोखिएको थियो। साथी भक्त स्याङ्तान विरामी आफन्त लिन सिन्धुली गएका थिए। सदरमुकाम छेवैको भिमान चौकीमा माओवादी विद्रोहीले गरेको आक्रमणका कारण बर्दिवास निस्कने बाटोमा आवत-जावत बन्द थियो र उनी गाउँमै रोकिएका थिए। त्यही भएर केही दिन यता क्यान्टिनमा म हमेशा एक्लै हुन्थेँ।

'एक्स्क्युज मी…! म यहाँ बस्न सक्छु?'

अघिल्तिर एक अपरिचित युवती उभिइरहेकी थिइन्। अनुहारमा स्वीकारोक्ति भाव नचाउँदै म थोरै सरिदिएँ। खासमा त्यतिबेला म चियाको सुर्कोसँगै अघिल्लो गर्मी याममा भक्तजी र मैले गरेको महाभारत पर्वत शृङ्खलाको यात्रा र त्यहाँ भेटिएका सोझा अनुहारहरूबारे सोचमग्न थिएँ।

'म पेमासाङ थिङ, पत्रकारिताको नयाँ विद्यार्थी' मेरो एकाग्रता भंग गर्दै उनी बोलिन्, 'तपाईं त पुरानै हुनुहुन्छ होला, हैन?'

यसपछि उनले शानदार शैलीमा हात अघि बढाइन्।

'ओ सरी…', मैले झट्पट हात दिएँ, 'म पुष्प तामाङ। घर काभ्रेको तेमालगाङ। संयोगले म पनि पत्रकारिताकै विद्यार्थी हुँ।'

'मचाहिँ सिन्धुलीबाट है, हाम्रो त म्हावर लेकतिर पो पर्छ घर।'

महाभारत पर्वतलाई स्थानिय तामाङहरू म्हावर भन्छन्। संयोग के भने म्हावर लेककैबारे सोचिरहेको बखत उतैकी युवती मसित क्यान्टिनको एउटै मेचमा टाँस्सिन आइपुगेकी थिइन्।

'मलाई म्हावर लेक निकै मनपर्यो।'

'ओ हो, तपाईं पुग्नु भाको छ र?' उनी छक्क परिन्।

'सानैमा सुनेको हुँ यो लेकको नाम। आमाले कोदो गोड्दै गर्दा सेलोमा म्हावर लेकको कथा हाल्नुहुन्थ्यो' मैले सपाट भनिदिएँ, मानौँ, उनी बर्षौंदेखिकै चिनारु हुन्, 'र, गएको गर्मीमा हामी सिन्धुलीको महाभारत उक्लिरहेका थियौं। सिन्धुलीको बन्दीपुर, अमले हुँदै मरिन खोला झरेर माडीबाट फर्केका थियौँ हामी। काभ्रेको महाभारत लेक त धेरैपटक उक्लेको छु।'

यसो भन्दै गर्दाचाहिँ पेमासाङको अनुहारमा गम्भीरता छायो। यसपछि उनी केही सतर्क भएझैंको मनोदशामा देखिइन्। उनको दाइने गालामा ग्रीलवाला झ्यालको छाया परेको थियो। एकजोर आँखाले यस्तो बताइरहेका थिए कि कुनै ठुलो रहस्य खुल्नेप्रति उनी सचेत छन्। त्यो भयमिश्रित गम्भीरतापछि चाहिँ उनी खासै खुल्न चाहिनन्।

टिङ..टिङ..टिङ..टिङ..

त्यही बेला चौथो घण्टी बज्यो पत्रकारिताको। मैले नै उनलाई पहिलोपटक क्लासमा लिएर गएँ। 

ती दिनहरू रमाइला थिए। 

भक्त र मेरो टिममा नयाँ सदस्य थपिएकी थिइन्, पेमासाङ। भक्तको थर स्याङतान, मेरो दोङ र पेमसाङको थिङ। थरको हिसाबले तिनैजना कुटम्ब थियौं- जिस्काजिस्की मात्रै हैन, मन मिलेमा विहे पनि चल्ने। सुरुवाती दिनहरूमा पेमासाङसित मैले थुप्रै पटक ख्यालबात गरेँ। तर पछि विस्तारै म आफैं गम्भीर बन्न थालें।  

क्यान्टिनमा पनि थुप्रै रमाइला विहानहरू बिते। 

एक दिन-चिसो बढेको बेला हामी छेवैको ल क्याम्पसको क्यान्टिन जान्थ्यौँ। त्यहाँ घाम ताप्दै दुबो उम्रिएको सानो बगैँचाभित्र चिया पिउने छुट थियो। बगैँचाबीचमा एउटा शिरीषको रूख थियो, हामी हमेशा यसैको फेदमा बसेर घाम ताप्थ्यौँ। चियासँगै प्रेम र राजनीतिका बहस गर्थ्यौँ। राजनीतिको ताजा विषय बन्थ्यो- माओवादी जनयुद्ध। चिटिक्क मिलेको ज्यान, गहुँगोरी, अण्डाकार अनुहारमा हल्का थेप्चिएका नाक अनि एकजोर तेजिला आँखा लिएर पेमसाङ हाम्रो कुरा सुनिरहन्थिन्।

हामी भृकुटीमण्डपभित्रको फराकिलो चौरमा थियौँ। बद्री सरको पत्रकारिता पिरियड खाली थियो र वसन्त यामको त्यो बिहान हामी आउँदो ल्होछारबारे कुरा गर्दै थियौँ। भक्त फेरि गाउँ गएका थिए। चियाको चुस्की लिँदै पेमासाङले ल्होछारको लागि रातो मखमलको आङरे र बुट्टेदार स्यामा किन्ने सुनाइन्। त्यो दिनचाहिँ उनी पिङ्क कुर्ता र पहेँलो चुरिदार सुरुवालमा खुलेकी थिइन्। तर अनुहारमा भने उमेरजन्य चञ्चलताको साटो साविककै गम्भिरता। केहीयता उनका गम्भीर आँखाहरू मलाई मनपर्न थालेको थियो र यसबारे म उनीसित छिट्टै स्पष्ट हुन चाहन्थेँ। 

त्यो दिन एउटा खास मौका थियो।

चियाको चुस्की लिँदै गर्दा मैले पेमसाङको मनोदशा पढ्न अनुहारतिर नजर फ्याँकेँ। संयोगवश, त्यहीबेला उनले पनि चोरी आँखा मतिर उठाइन्। उनी के सोच्दै थिइन्- थाहा थिएन। तर, हाम्रा चार आँखा एक भए। कति समय हाम्रा आँखा विपरित तर सामानन्तर रेखामा एकतमास टोलाए, थाहै भएन। त्यो एउटा निकै चामत्कारिक सम्मोहनको प्रेमिल र शक्तिशाली समय जस्तो थियो। सायद प्रेममा यस्तै हुन्छ। निकैबेरपछि मात्रै उनले मुस्कुराउँदै आँखा झुकाइन्। मैले बोलीमा चार गुणा खुसी मिसाएर अर्को कालो चिया अर्डर गरेँ।

'एउटा कुरा सोध्छु ल…!', उनी अक्मकिँदै प्रश्न गरिन्।

'निर्धक्क सोध्न सक्छ्यौ', मैले भनेँ।

यसपछि उनले आफ्ना नरम हातले मेरा दुवै हातका औँलाहरू समाइन्। वितेका तीन महिनामा उनी पहिलोपटक मसँग यति नजिक भएकी थिइन्। मैले पनि आफ्नो दायाँ हात उनको देब्रे हातभित्र क्रस गरेर उनलाई अलिक नजिक तानेँ। उनले अधिक आत्मीयता महसुस गरून् र मनभित्रको कुरा निर्धक्क भन्न सकून् भन्ने मेरो आशय थियो। तर, उनले भयमिश्रित भाव बनाउँदै अनुहार बिगारिन्। 

'त..त..त…तपाईँ कसको लागि काम गर्नु हुन्छ?', उनको ओठ अनौठोसित काम्न थाल्यो।

'मतलब?'

'मतलब, तपाईँ…तपाईँ…कहाँ जब गर्नुहुन्छ?'

'तिमीलाई थाहै छ, म त एकदम बेरोजगार छु।'

'मेरो अनुमानमा तपाईं कतै सेक्रेट सर्भिस…', उनको ओठ फेरि काम्यो।

म सिधै छाँगाबाट खसेँ। यो एउटा गज्जबको 'जक्स्ट्रापोजिसन' थियो। ऐतिहासिक विरोधाभाष। कुनै एकान्तिक भेटमा एउटी सुन्दर युवतीले मुलायम हातको स्पर्शसाथ तन्नेरी युवकलाई ओठ थर्थराउँदै प्रश्न सोध्छिन् भने त्यो प्रेमसम्बन्धी हुनुपर्ने हो। तर भएन।

जे भयो, ठिकै भयो।

कम्तीमा एउटा रहस्यको पर्दा उठ्यो। क्यान्टिनको पहिलो भेटमा 'म्हावर घुमेको' प्रसंग आउनासाथ उनले अनुहार बिगार्नुको रहस्य यहीँनेर खुलेको थियो। तिनताक महाभारत लेक डुल्दै हिँड्ने कि सैनिक गुप्तचर हुन सक्थ्यो, कि त विद्रोही। मेरो व्यवहार, गेटअप र धारणा विद्रोहीको जस्तो रत्तिभर थिएन। त्यही कारण पेमासाङले गुप्तचर ठानेकी रहिछन्।

मैले जे ठानेको थिएँ, पेमासाङ पनि त्यो थिइनन्।

कमरेड रचना बन्नुअघि उनी छ्योङसाङ थिइन् रे! ठुली हुँदै गएपछि फूलहरू मनपराउन थालिन्। गाई बाख्रा चराउन जाँदा उनी प्रायः लेकाली फूल सिउरेर घर फर्किन्थिन्। लेकको घना जंगलभित्रका स-साना पोखरीमा फक्रिने कमलको फूलसित उनको विशेष चाह थियो। एक दिन छयोर्तेनमा पुजा गरिरहेको बेला बुबाले उनको नामै फेरिदिए- पेमासाङ। महायानी बौद्ध परम्परामा पेमाको अर्थ कमलको फूल हुन्छ।त्यही दिन सबै रहस्य खुल्यो। उनी थिइन्- कमरेड रचना। महाभारत एरिया कमिटीकी पूर्व विद्यार्थी इन्चार्ज। स्नातक पढ्न उनी काठमाडौँ आएकी थिइन्। र, उनको जिम्मेवारी विद्यार्थी फाँटकै उपत्यका कमिटी मातहत सरेको थियो। सिन्धुलीमाडीबाट आईए सकेपछिका केही वर्ष उनलाई पार्टी ग्रामीण इलाकामा खटाइएको रहेछ।

'दश कक्षा पढ्दै गर्दा मेरो जीवनमा ठुलो पहिरो गयो', घाम चर्किंदै जाँदा भृकुटीमण्डपको चौरभित्र मेरो कुममा पुर्णतया ढल्किँदै उनले लामो निश्वास छाडिन्, 'त्यो साल बुबालाई मैले सधैँको लागि गुमाएँ।'

त्यतिबेला सेनाले विद्रोही विरुद्ध 'सर्च एण्ड कर्डन' अप्रेसन चलाएको थियो। हेलिकप्टरबाट झरेको सेनाको टुकुडीले गाउँ घेर्दा पेमासाङको बुबा घट्टबाट मकै पिनेर फर्किंदै थिए रे! भेष बदलेको विद्रोही ठान्दै गोली बर्साउँदा 'ऐया' पनि भन्न पाएनन् बिचराले।

एकाएक पेमासाङका आँखाहरू भरिला देखिए।

'यसपछि दाइ जंगल पस्नु भो', उनले आँसु पुछिन् र अनुहार दृढ बनाइन्। 

'अनि?'

'बर्ष दिन नबित्दै सोलु आक्रमणमा शहीद बन्नुभएको खबर मात्रै घर आइपुग्यो।'

म निशब्द भएँ। युद्धका बेला एउटा निर्दोष परिवार कसरी परिबन्दमा फस्न बाध्य हुन्छ? मसँग जवाफ थिएन। बेहद पीडाले म भित्रभित्रै छट्पिएँ। पेमासाङको अनुहारमा एकतमाससित शून्यता पोतियो। शून्यतापछिको अर्को शून्यता। शून्यताकै बिच एउटा रातो पुतली नाच्दै पेमसाङको कुर्तामा आएर बस्यो। एकैछिनपछि पखेटा फट्फटाउँदै नीलो आकाशमा पुतलीले गजबको उडान भर्यो।   

'म यसैगरि उड्न चाहन्छु', बर्बराएझैँ अचानक पेमासाङ बोलिन्,, 'बाधाहरू पन्छाउँदै। यस्तो उचाइमा पुग्न चाहन्छु कि जहाँ सबै प्रकारका अत्याचारबाट मुक्ति संभव छ।'

पेमासाङको आँखामा अनौठो साहसको ज्योति बल्यो। त्यो ज्योतिभित्र मैले त्यो दिन अर्कै पेमासाङ देखेँ।

'र, किनकिन मलाई अचेल तपाईंको व्यवहारले तान्दै लगेको छ', छुट्ने बेला उनले आँखा झुकाउँदै यति भनिन्।

उनलाई पनि मलाई जस्तै भएको रहेछ।

राजा ज्ञानेन्द्रले शक्ति हातमा लिएको समय थियो त्यो।

विद्यार्थी आन्दोलन विस्तारै चर्किन थाल्यो। प्रजातान्त्रिक र वामपन्थी सबै विचारसम्वद्ध आठ विद्यार्थी संगठनको मोर्चा सडकमा आयो। कलेजमा खासै पढाइ हुन छाड्यो। मेरो दिमागमा भने पेमासाङलाई लिएर अनौठा विचार पैदा हुन थालेका थिए।

आन्दोलन घोषणा हुनुअघिका ठ्याक्कै सात दिन पेमासाङ आश्चर्यलाग्दो तरिकाले सम्पर्कविहीन बनिन्। ती सात दिन मेरा लागि सात बर्षको कष्टपूर्ण जेल सजाय जस्तै थिए। मैले भक्तलाई सबै सुनाइदिएँ। अब उनलाई लुकाउन केही आवश्यक थिएन। हामी प्रेममा परेको शंका उनलाई पहिलेदेखि नै थियो।

'खै मैले त के भन्नु यार!', छट्पटिँदै उनको डेरामा पुगेको साँझ भक्तले भने, 'विचारचाहिँ गर्नुस् है! क्रान्तिकारीहरूको भर हुन्न। उनीहरू त अरूले गर्ने प्रेमलाई बुर्जुवा प्रेम भन्छन्। कतै प्रयोगको रणनीतिक चालबाजी पनि हुन सक्छ।'

अहो! भक्तजीले त मेरो आँखाको अप्रेशन नै गरेजस्तो गरे।

त्यो रात मैले भियतनामी युद्धसम्बन्धी किताबका दृश्यहरू सम्झिरहेँ। अमेरिकी सैनिकलाई भियतनामबाट लखेट्ने बेलाको छापामार युद्धमा प्रेम र युवतीको निकै कलात्मक प्रयोग गरिएको थियो। मलाई रातभर निद्रा लागेन। भक्तजीको डेरा त्यतिबेला चावहिल सरस्वती नगरमा थियो। मचाहिँ बालाजु बस्थेँ। त्यो रात म बालाजु फर्किनँ।

मलाई प्रेम गर्नुसित पेमासाङको के स्वार्थ हुन सक्थ्यो? रातभर हामी घोरियौँ। अनेक कोणबाट विश्लेषण गर्यौं।

उनीहरूको राजनीतिमा तान्न खोजेको पनि त हुन सक्छ नि!', बिहान छुट्ने बेला भक्तले निचोड निकाले।

सात दिनपछि एउटा अपरिचित फोन आयो मेरो मोबाइलमा। काभ्रेको कामीडाँडाबाट आएको फोन थियो त्यो।

'भोलि हाम्रो भेट काठमाडौँमा हुनेछ', पेमासाङको शुष्क स्वर सुनियो, 'कमाण्डरलाई छलेर गरेको फोन हो यो। ममाथि केही साथीहरूले शंका गरेका छन्। तर, तिमी चिन्ता नगर, म ठीक छु।'

पेमासाङको मनभित्र म 'तपाईं'बाट 'तिमी'मा सुरक्षित बनिसकेको थिएँ।

भोलिपल्ट हामीले ठमेलको एउटा क्याफेमा कफी खायौँ। उनले आफू उपत्यकामा आन्दोलन चर्काउने रणनीतिक बैठकमा सामेल हुन अचानक बाहिर जानु परेको र सुरक्षाको कारण फोन गर्न नमिलेको स्पष्टीकरण दिइन्। म केही बोलिनँ। उनले लामो निश्वास तानिन् र मेरो कुममा टाउको अड्याएर भावुक अनुहार बनाइरहिन्। क्याफेकी एउटी वेट्रेसले यो दृश्य लुकी-लुकी चिहाएको झैँ लाग्यो मलाई। उठेर वासरुम गएको बहाना गरेँ।

'के हामी स्वतन्त्र जीवन विताउन सक्दैनौँ?', वासरुमबाट फर्केपछि मैले उनको कपाल चलाउँदै सुस्तरी भनेँ।

'अँहँ', उनले निडर तर मुस्कुराउँदै भनिन्, 'मान्छे भनेको समाजकै इकाई हो। यस अर्थमा हामीसित समाज जोडिएको हुन्छ। अनि यो समाज चाहिँ सदियौँदेखि शोषणयुक्त र समस्याग्रस्त छ। यसो हो भने हामी कसरी स्वतन्त्र र निरपेक्ष जीवन जिउन सक्छौँ?'

उनी फेरि राजनीतिक बहसमा उत्रिइन्। यस्तो बेला म चुपचाप उनको कुरा सुनिदिन्थेँ मात्रै। तर्क गर्नु, खण्डन गर्नु र मनपर्ने मान्छेको मन दुख्नेगरी विपरीत कोणबाट बहस गर्नु मलाई उचित लाग्दैन। तर, किनकिन म युद्धसित विमोहित थिएँ। समाज बदल्ने शान्तिपूर्ण उपायहरू छँदाछँदै बलपूर्वक हिंसात्मक बाटोमा हिँड्नु भनेको बेमौसमी बलिदानको पासो थाप्नु जस्तै लाग्थ्यो मलाई। अहिले पनि म यही विचारमा दृढ छु।

त्यो दिन हामी ठमेलबाट हिँडेरै सुन्धारातिर टहलिन निस्क्यौँ। काठमाडौँ महानगरपालिकाले निही कम्पनीलाई लिजमा सुम्पेर भर्खरै धरहरा खुला गरेको थियो। र, हामी धरहराको फेदमा दोस्रो पटक उभिइरहेका थियौँ।

'दुइटा टिकट काट्छु है!', मैले भनेँ।

'नाइँ, म धरहराचाहिँ चढ्दिनँ।'

'ल, यो त हाम्रो ऐतिहासिक सम्पदा हो, ट्राई गरौँ न एकपटक।'

'त्यो तिम्रो दृष्टिदोष हो। म त यसलाई उत्पीडनको प्रतीक मान्छु।' मेरो अघिल्तिर प्यारी पेमासाङ हैन, कमरेड रचना उभिएकी थिइन्, 'हज्जारौं श्रमजीवीले उभ्याए यो धरहरा, तर शासकको नाम जोडिएर 'भीमसेन स्तम्भ' बन्यो। थाहा छ- नब्बे सालको महाभुकम्पपछि यसको पुनर्निर्माणमा सयौँ तामाङ पीपाहरूले कसरी रगत पसिना बगाए? विना ज्याला काम गरे उनीहरूले- विना ज्याला। मेरो जिजुहजुरबा यही धरहरा उभ्याउन इँटा बोक्दा बोक्दै रगत छादेर बित्नुभो। कहाँनेर छ हाम्रा पुर्खाहरूको रगत र पसिनाको मूल्य?'

पेमासाङलाई मैले नै रोक्नुपर्यो। उनी मलाई एकदमै केटाकेटी छापामार लाग्दै थियो। उनी यति 'इमोश्नल' बन्दै ठुल्ठुला स्वरले बोलिरहेकी थिइन् कि वरिपरि कोही गुप्तचर भएको भए ठुलै आपत आउने पक्कापक्की थियो।

त्यो साँझ पेमासाङलाई सोह्रखुट्टेको डेरामा उनकै काकीसित छाडेर म बालाजु फर्कें।

भोलिपल्टको बिहान मेरो लागि जिन्दगीकै क्रूर र कष्टकर समय बनेर धर्तीमा खस्यो। सुरुमा मैले केही पनि देखिनँ आँखा अघिल्तिर- एकदमै अँध्यारो र काला धब्बाहरू बाहेक। त्यसपछि बिस्तारै आँखा खोलेँ। आफैँलाई नियालेँ, पसिनाले निथ्रुक्क भिजेको थिएँ। किचेनमा गएर एक गिलास चिसो पानी घट्घटी पिएँ।

'के यो साँच्चिकै हो?' स्पष्ट हुनलाई पेमासाङकी काकीलाई फोन गरेँ। उनकै फोनको घण्टीले म ब्युँझेको थिएँ।

'हो बाबू, बिहान चार बजेतिरै नानीलाई केही अपरिचितले उठाएर लगे', काकी फोनमै रुन थाल्नुभयो।

'कस्तो ड्रेस लाएका थिए, आर्मीको जस्तो?'

'हैन, सबैजना सामान्य ड्रेसमा थिए।'

'के भन्दै थिए उनीहरू?'

'पार्टी हेडक्वार्टरले पठा'को मान्छे भन्थे बाबू, तर सबैले अनुहार छोपेका थिए।'

मेरो मुटुमा बढेमानको ढ्याङ्ग्रो बज्न थाल्यो। तिमालको 'गोने ङ्हया' मेलामा झाँक्रीहरूले जोडतोडले बजाउने ढ्याङ्ग्रो भन्दा पनि चर्को। हतपत अनुहारबाट चिसो पसिना पुछेँ। ओठमुख सुकेको अनुभुति हुँदै थियो। किचेन रुममा बहिनी उठिसकेकी थिइनन्। म फटाफट निस्केँ सडकमा, बस समातेर सोझिएँ चावहिलतिर, भक्तजीलाई भेट्न। त्यतिबेला माओवादीको सिन्धुली जिल्ला सेक्रेटरी सोनामसिंह स्याङ्तान भक्तजीकै आफन्त थिए।

एकाबिहानै अत्यासलाग्दो अनुहारसहित मलाई ढोका अघिल्तिर उभिएको पाएर भक्त आत्तिए।

'के भो? सबै ठिक त छ?', ओछ्यानबाट जर्याक-जुरुक उठ्दै उनले भने।

'पेमासाङको अपहरण भयो', मैले एकै स्वासमा भनेँ।

'अपहरण? कोबाट?', उनी झन् आत्तिए।

'पार्टी हेडक्वार्टरबाट आ'को भन्दै थिए रे!'

भक्त पनि खङरङ्ग भए। अनुहार खुम्च्याउँदै निकैबेर गम खाएपछि उनले भने- 'गाउँकै आफन्तहरूको सूत्रबाट सोनाम काकासम्म यो खबर पुर्याउने प्रयास गर्छु, केही पत्तो लाग्छ कि!'

तर दिन बिते, महिना बिते, पेमासाङको केही अत्तोपत्तो लागेन। यसबीचमा सेनाको एकजना चिनारु जर्नेलमार्फत् आर्मी र सरकारी कष्टडीभित्र पनि पेमासाङबारे बुझ्न लाएँ। केही पत्ता लागेन। म हारेँ।

अब बिस्तारै मेरो स्थिति बिग्रिँदै गयो। मलाई यो शहर वाफैवाफ गुम्सिएको गोलाकार सिलिन्डरजस्तो लाग्न थाल्यो। श्वास फेर्नै पनि मुश्किल। एकदमै अत्यासलाग्दो। धेरै दिन त म बाहिर निस्कनै सकिनँ। जब साँझ पर्थ्यो र नागार्जुन पर्वत पछिल्तिर डुबेको घामले आकाशलाई विरक्तलाग्दोगरी रातो बनाउँथ्यो, मनभित्र पेमासाङको याद एकतमाससित हुँडुल्किएर आउँथ्यो। डेरा छेवैको बाँसघारीमा बास बस्न आएका सारौँटेहरू चिलिङ-मिलिङ गर्दै कराउँदा त झन् झ्यालमा बसेर भक्कानिएर रुन मन लाग्थ्यो।

त्यसबखत म आफ्नो अनुहार ऐनामा हेर्नै सक्दिनथेँ। एकदम डर लागेर आउँथ्यो। निकै दिनपछि चिनारु डाक्टरकोमा गएँ। उनले डिप्रेशनको प्रारम्भिक लक्षण औँल्याउँदै चिसो हावामा मर्निङ वाक गर्न र केही न केही काममा व्यस्त हुन सुझाए। 

दिनहरू बित्दै गए।

पेमासाङ हराएको बर्ष दिनपछि भक्त र म एउटा गैरसरकारी संस्थाको सामुदायिक सहजकर्ता बनेर रसुवामा खटियौँ। त्यो डिएफआइडीको अल्पकालिन परियोजना थियो। तैपनि मन बहलाउन त्यो जागिरले निकै सघायो। पेमासाङलाई भने भुल्नै सकिरहेको थिइनँ।

'बाबू, तपाईंलाई केही खबर छ।'

हिउँदको एक दिन काठमाडौँ फर्केको बखत पेमासाङकी काकीको फोन आयो। म खुसीले पागल भएँ। तर, काकीले फोनमा केही बताउनुभएन। बालाजुबाट बाइकमा हुत्तिएर म सोह्रखुट्टे पुगेँ। काकी कालो चिया बसाल्दै हुनुहुन्थ्यो, सिलाबरको केट्लीमा। मलाई देख्नेवित्तिकै उहाँको अनुहार बिग्रियो। हामी दुईको सम्बन्धको उहाँ शुभचिन्तक नै हुनुहुन्थ्यो।

काकीले केही नबोली दराजभित्रबाट सानो चिर्कटो निकालेर मेरो हातमा थमाउनुभयो।

'प्रिय पुष्प,

असीम सम्झना। परिबन्दले मलाई फसायो। अब म तिम्रो जीवनमा फर्किन सक्दिनँ। मलाई केही भएको छैन। तिमी आफ्नो ख्याल राख। युद्ध मैदानमा शहीद भइनछु भने जीवनको कुनै कालखण्डमा हाम्रो भेट हुनेछ। तर, त्यतिबेला हामी जीवनको विपरीत बाटोमा उभिएका हुनेछौँ।

बिदा।

तिम्री हुन नसकेकी

पेमासाङ थिङ

चिठ्ठी पढेपछि मन एकतमाससित भाउन्न भएर आयो। जुरुक्क उठेँ। काकीतिर फर्किनै सकिनँ। आँसु पुछ्दै भर्याङ ओर्लें।

त्यो साँझ निकै अबेरसम्म स्वयम्भुको सुनसान टाकुराबाट वियर पिउँदै मलिन काठमाडौँ खाल्डो नियालेर रोइरहेँ।

केही बर्ष बितेर गए।

मुलुकमा लोकतान्त्रिक आन्दोलन मच्चियो। राजा हारे। पत्रपत्रिकाहरूले बृहत् शान्ति सम्झौताको समाचार प्राथमिकताका साथ छापे। सरकारले माओवादी विद्रोहीलाई शान्तिपूर्ण समायोजनका लागि क्याम्प खडा गर्यो। लडाकु वर्गीकरण र समायोजनको मुद्धा राष्ट्रिय बहसको रूपमा उठ्यो। त्यतिञ्जेल म शान्ति प्रक्रियामा काम गर्ने एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको कम्युनिकेसन व्युरोमा थिएँ। भक्त कल्चरल कम्युनिकेसनमा फेलोसिप पाएर फिनल्याण्ड उडिसकेको थियो।

अबचाहिँ पेमासाङसित भेट हुन्छ कि भन्ने आशा मनको अन्तरकुन्तरमा कतै जिउँदै बोकी हिँडेको थिएँ म।

बर्षातको एक दिन मैले सिन्धुलीको दुधौली क्याम्प जानुपर्ने भयो।

पत्रपत्रिकाहरूले दुधौली क्याम्पमा बालबालिकालाई सैनिकको रूपमा प्रयोग गरिरहेको समाचार छापिरहेका थिए।

'कमरेड पुष्प!'

मुख्य क्याम्प नं- २ को गेट छेवैमा कसैको स्वर सुनेँ। बाहिर खुला चौरमा जनसेनाहरू मार्चपास गरिरहेका थिए। कोही भर्खरै खुलेको आकाशमुनि घाम ताप्दै। २०६३ को साउन महिना थियो त्यो।

'कमरेड पुष्प, म घर जान चाहन्छु केही दिनलाई।'

अन्दाजी ४ बर्षको बच्चालाई दायाँ हातमा टुकुटुकु डोहोर्याउँदै एउटी छापामार युवती नेताजस्तै लाग्ने एक अग्लो मान्छेसित कुरा गर्दै थिइन्। संयोगले ती नेताको 'टेकनेम' पनि पुष्प नै रहेछ। माओवादी सेना दुई नम्बर डिभिजनअन्तर्गत विशालकुमार स्मृति ब्रिग्रेडका कमिसार।

जब युवतीको अनुहार देखेँ, म एकैपटक छाँगाबाट खसेँ। जीवनको अँध्यारो भासमा कहिल्यै निस्कन नसक्नेगरी भास्सिएको अनुभूति भयो।

अघिल्तिर उदास चेहरा बोकेर उनै पेमासाङ उभिएकी थिइन्। उनी बोल्न सकिनन्। हठात् अनुहार छोपिन् र बच्चालाई जुरुक्क उठाएर क्याम्पभित्र दौडिन्। उनी दौडिँदा हावामा बेस्मारी कपाल फरफराएको थियो र काँधमा भिरेको बन्दुक झण्डै भुइँमा लत्रिएको थियो।

कमिसार पुष्पका अनुसार उनी शहीद पत्नी थिइन्। ओलखढुंगाको एउटा आक्रमणमा पति शहीद भएपछि उनको मनोदशा बिग्रिएको थियो।

'कतिबेला के बोल्छिन् र के गर्छिन्, पत्तै हुँदैन', कमिसार पुष्प भन्दै थिए, 'युद्धमा यस्ता घटनाहरू सामान्य लाग्दा रहेछन् सर!'

तर मेरो लागि यो समान्य थिएन।

पेमासाङसित भेटेर कुरा गर्ने वातावरण मिलाउन मैले पुष्पसित निकै नै अनुरोध गरेँ। क्याम्पको नियम भन्दै उनले अस्वीकार गरे। हतियार व्यवस्थापन भइसकेको थिएन, बलपूर्वक प्रयत्नको नकारात्मक अर्थ लाग्न सक्थ्यो। म आधा डढेको मन लिएर दुधौलीबाट फर्कें।

काठमाडौँ आइपुगेपछि मैले जागिर छोडिदिएँ। मलाई पहिलेकै बिमारले छोप्न थाल्यो। बिग्रेको मनोदशा बोकेर म गाउँ फर्कें। बुबाले सुरु गरेको कफी फार्ममा सघाउँदै मन बहलाउन थालेँ। डाक्टरका अनुसार सबै अतीत भुलेर आफूलाई व्यस्त राख्नुमै मेरो लागि सबैभन्दा उत्तम र लाभकारी ठहरिन्थ्यो।

गर्मीयाममा पहाडको आँप बगैँचाभित्र शीतल खाँदै गर्दा दक्षिणतिरको म्हावर लेकबाट हुँइँकिएर आउने चिसो बतासले भने मलाई हमेशा टोलाउने बनाइदिन्थ्यो।

गाउँको हावापानीमा मैले आफूलाई पाँच वर्ष भुलाएँ।

'हेलो, आराम हुनुहुन्छ?'

छैठौँ वर्ष काठमाडौँ फर्केपछिको एक साँझ कोही अपरिचित व्यक्ति मेरो फेसबुक च्याटमा देखापर्यो। प्रोफाइल तस्बीर भने खाली थियो। नाम देखियो- छ्योइसाङ छ्योइसाङ।

'ठिकै छु, चिन्न सक्छु कि हजुर!', मैले रिप्लाई गरेँ।

'मैले तपाईंलाई फेसबुकमा खोजेको तीन वर्ष भयो महाशय।'

'भन्नुस् न को पर्नुभयो?'

'चिन्नै चाहनुहुन्छ त?'

'नजिस्काउनु न हाउ', कोही फेक साथी ठानेर म झर्किएँ।

'म पेमासाङ थिङ।'

मुटुले एकैपटक सय धड्कन मार्यो। हत्तपत्त उनको टाइम लाइनमा गएँ। फूलैफूल सजिएको कुनै फराकिलो सडक छेउको पार्कभित्र साँच्चिकै पेमासाङ उभिएकी थिइन्।

'माफ गर्नु होला। सबै नसोचिएको भयो। थुप्रै पटक मोर्चा छोडेर म तपाईँलाई भेट्न काठमाडौँ आउन खोजेँ, झनझन जोखिममा फस्दै गएँ, आखिर मैले दुइटै युद्ध हारेँ- प्रेमको र राजनीतिको', उताबाट लामो म्यासेज आयो, 'जे भयो बिर्सिदिनुस्। जीवन, राजनीति र समाजबाट मैले ठूलो पाठ सिकेकी छु।'

त्यो साँझ मैले थाहा पाएँ- उनी लडाकु वर्गीकरणमा अयोग्य ठहरिइछन्। काठमाडौँ फर्केपछि काकीसित त भेटिन् तर मेरो बिग्रिएको हालत थाहा पाएपछि उनलाई ठूलो आत्मग्लानी भएछ।

'तपाईँलाई भेट्ने आँटै आएन', अब पेमासाङले 'तिमी' सम्बोधनको साहस गर्नै सकिनन्, 'अनि काकीलाई ऋण खोज्न लगाएर इजरायल आइपुगेँ।'

'सानो बच्चा नि?' 

'ए छोरी?', पेमासाङले लेखिन्, 'काकीसित बस्छे। तपाईंलाई भुल्न नसकेर उसको नाम म्हेन्दो राखेकी छु, अब यसको सायद केही अर्थ हुनेछैन।'

पेमासाङले ठिकै भनिन्। अपहरणपछिको चिठ्ठीमा उनले लेखेकी नै थिइन्- 'जीवनको कुनै कालखण्डमा हाम्रो भेट हुनेछ। तर, त्यतिबेला हामी जीवनको विपरीत बाटोमा उभिएका हुनेछौँ।' 

त्यसयता बरोबर हाम्रो च्याटिङ चलि नै रह्यो। अब हामी सामान्य साथी र शुभचिन्तकमा बदलिसकेका थियौँ। कलेजका प्रथम दिनहरूमा गरेजस्तैको हँसीमज्जाक र ख्यालठट्टामा उनी रम्न थालेकी थिइन्। यस्तोबेला उनी हमेशा मलाई कोही सुशील केटी खोजेर छिट्टै विहे गर्न आग्रह गर्थिन्। तर, विहे र प्रेमसम्बन्धी मेरो धारणामा ठूलो परिवर्तन आइसकेको थियो।

त्यसको बर्ष दिनपछि इजरायलबाट पेमासाङ काठमाडौँ फर्किन्। फर्किनुअघि नै उनी च्याटमा भन्दै थिइन कि 'यसपटक सँगै धरहरा चढ्ने है!'

'त्यो त उत्पीडनको प्रतीक…', मैले जिस्किदिएको थिएँ।

'अब त्यो समय सकियो', उनले भनेकी थिइन्, 'प्लिज, अतीत सम्झाएर मलाई दुःखी नबनाउनु होला।'

अघिल्लो साँझ हामीले फोनमै लामो कुराकानी गरेका थियौँ। मसँगको भेटका लागि उनी यति अधीर, रोमाञ्चित र उत्साहित भएकी थिइन् कि सायद धरहराको उचाइबाट नयाँ जिन्दगीको क्षितिज नियाल्न चाहन्थिन्।

तर दुर्भाग्य! धरहरा ढल्यो र, नलेखिएको एउटा कथाको दुखद अन्त्य भयो। धरहराको फेदमा हामीले बिताएका ती क्षणहरू अब इतिहास बने। उनी स्वयं पनि इतिहास बनिन्।

बौद्धबाट बाइकमा हुइँकिएर कमलपोखरी आइनपुग्दा जमिन हल्लियो। रूखहरू हल्लिए। एक्कासी दायाँतिरका पुराना घरहरू गर्ल्याम्मगुर्लुम ढल्न थाले। बायाँतिरको रसियन कल्चर सेन्टर पनि बेस्मारी हल्लिरहेको थियो। म बाइकसहित सडकमा लम्पसार थिएँ। आकाश धुलाम्य देखियो। मानिसहरूको चिच्याहट डरलाग्दो बन्दै गयो।

बिस्तारै उठेँ। कोकोहोलो बढ्दै गइरहेको थियो। भीडमा सुनियो- 'हे भगवान! धरहरा पनि बाँकी रहेन।'

हठात् मोबाइल निकालेँ। पेमासाङलाई फोन गरेँ, सम्पर्क हुन सकेन। नयाँ नोटिफिकेशन आइरहेको थियो इन्बक्समा। पेमासाङले लेखेकी थिइन्- 'तपाईंको फोन लागेन। म धरहरा आइसकेँ है! दुइटा टिकट काटेर पहिले हामी बसेकै फेदमा कुरिरहेकी छु। छिट्टै आउनुस्।'

म भावशून्य भएँ। टाउको फनफनी घुम्न थाल्यो। एकैछिनअघिको भुकम्प भन्दा पनि बढ्ता। सडकबाट मलाई कसले कतिबेला उठायो थाहा भएन। होसमा आउँदा म टिचिङ अस्पतालको इमरजेन्सी वार्डमा थिएँ।

त्यसयता हरेक साँझ म पेमासाङलाई फोन डायल गरिरहेको हुन्छु। तर, अँहँ, पेमासाङको फोन अहिलेसम्म लागेको छैन।