३१ जेष्ठ २०८३, आईतवार
,
Latest
अदिभारा-टाक्से-रुम सडक छ वर्षपछि सञ्चालन परराष्ट्रमन्त्री  खनाल बेइजिङमा: बीआरआई परियोजना बारे यस्तो छ दृष्टिकोण  मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न लुम्बिनी र सुदूरपश्चिमको तराई भूभागमा गर्मी बढ्ने बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध प्रधानमन्त्री बालेनको नजरमा ‘देश बनाउने टोली’ ! मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना परराष्ट्रमन्त्री बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी अमेरिकाले इरान सम्झौता : रोक्का सम्पत्ति फिर्ता र ‘स्ट्रेट अफ हर्मुज’ मा स्वतन्त्र आवागमनबारे छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाको त्राससँगै सुनसान छ ‘पर्यटकीय केन्द्र ठमेल’



अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यकाको प्रमुख पर्यटकीय केन्द्रका रूपमा रहेको ठमेल कोरोना सङ्क्रमणका कारण सुनसान बनेको छ । विश्वका विभन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेल सुनसान बनेको हो । गत वर्ष आठ महिना बन्द रहेको ठमेल मङ्सिरपछि विस्तारै चहलपहल शुरु भए पनि वैशाखको पहिलो हप्तादेखि नै दोस्रो भेरियन्टसहितको कोरोना सङ्क्रमण वृद्धि भएपछि यहाँका पर्यटकीय गतिविधि सञ्चालन नहुँदा सुनसान बनेको हो । 

पहिलो चरणको कोरोना सङ्क्रमणका कारण बन्द भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान दोस्रो चरणको कोरोना सङ्क्रमणमा पनि बन्द हुँदा विदेशी पर्यटक नेपाल घुम्न आउन पाएनन् । घुम्न आएका पर्यटकलाई पनि सम्बन्धित देशले जहाज चार्टर्ड गरेर आफ्नै देशमा फर्काउँदा ठमेल क्षेत्र सुनसान बन्न पुगेको हो । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरे पनि कोभिड–१९ का कारण उक्त कार्यक्रम स्थगित भएको थियो । गत वर्षको बन्दाबन्दी अगाडि ठमेलमा रात्रिकालीन मनोरञ्जन गर्ने प्रत्येक दिन खचाखच नै हुन्थे । अझ शुक्रबार र शनिबार थप चहलपहल हुँदै आएको थियो । 

व्यावसायिक घराना, पारिवारिक जमघटदेखि युवापुस्ताको रात्रिकालीन जीवनशैलीसँग जोडिएको ठमेलका क्लब पुनःव्यावसायिक बाटोमा आउने पर्खाइमा छन् । ठमेल क्षेत्रमा छ हजारभन्दा बढी व्यक्तिले व्यापार व्यवसाय गर्दै आएका छन् । ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष भविश्वर शर्माले कोभिड–१९ का कारण स्वदेशी तथा विदेशी पर्यटक नेपाल घुम्नका लागि नआएका कारण ठमेल सुनासान बनेको बताउनुहुन्छ । “पर्यटन व्यवसायीलाई खोपको उचित प्रबन्ध गरेर स्वास्थ्य मापदण्डसहित ठमेल क्षेत्र खुलाउनका लागि राज्य गम्भीर बन्नुपर्छ”, उहाँ भन्नुहुन्छ । 

उपाध्यक्ष शर्माले कोरोनाका कारण व्यापार व्यवसाय बन्द हुँदा मर्कामा परेका पर्यटन व्यवसायलाई विस्तारै चलायमान बनाउन खोज्दा प्रहरीले धरपकड गर्ने गरेको गुनासोसमेत गर्नुभयो । पर्यटन क्षेत्र निर्वाधरुपले चल्न दिनुपर्ने उहाँले बताउनुभयो । तत्काल विदेशी पर्यटक आउने वातावरण नभए पनि आन्तरिक पर्यटक आउने वातावरण ठमेलले निर्माण गर्नुपर्ने उहाँको भनाइ थियो । यहाँका ८० प्रतिशत व्यापार बाह्य पर्यटकबाट र २० प्रतिशत व्यापार आन्तरिक पर्यटकबाट हुन्छ । ठमेल विकास परिषद्ले यस क्षेत्रका व्यवसायीलाई यहाँबाट विस्थापित हुन नदिन गत वर्ष ठमेलका घरधनीसँग छलफल गरेर घरभाडामा ५० प्रतिशत सहुलियतको व्यवस्था मिलाएको छ । ठमेल क्षेत्रमा एक हजारभन्दा बढी होटल रहेका छन् ।

पर्यटन व्यवसायी लीलाबल्लभ दाहाल ‘काका’ ठमेल क्षेत्रलाई बचाउनका लागि पर्यटन व्यवसायीलाई व्यवसायको आधारमा सहुलियत दरमा ऋण उपलब्ध गराउनुपर्ने बताउनुहुन्छ । “गत वर्षको मौद्रिक नीतिमा पर्यटन व्यवसायीलाई सहुलियत दरमा ऋण उपलब्ध गराउने घोषणा गरे पनि सोही ऋण पहुँचवाला व्यवसायीको हातमा मात्र पुग्यो”, उहाँ भन्नुहुन्छ, “व्यवसायको आधारमा रु ३५ लाखदेखि पाँच करोडसम्म ऋण उपलब्ध गराउनुपर्ने उहाँको भनाइ थियो ।” 

ठमेल काठमाडौँ महानगरपालिकाको वडा नं १६, १७, २६ र २७ वडामा पर्छ । ठमेलको सबैभन्दा धेरै भाग वडा नं २६ मा पर्दछ । नेपाल घुम्न आउने पर्यटकमध्ये ९० प्रतिशत पर्यटक ठमेल घुम्न आउने गरेका छन् । काठमाडौँ–२६ का वडाध्यक्ष ख्यामराज तिवारी वार्षिक अर्बौंको कारोवार हुने ठमेललाई बचाउनका लागि महानगरपालिकाले पर्यटन व्यवसायमा लाग्ने कर र घरबहाल करमा छुट दिने नीति अगाडि सारेको बताउनुहुन्छ । 

उहाँ लामो समयसम्म बन्द रहेको पर्यटन क्षेत्रलाई  स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालनमा ल्याउनुपर्ने बताउनुहुन्छ । “ठमेललाई पूर्ववत् अवस्थामा फर्काउनका लागि सरकार र व्यवसायी एक भएर अगाडि बढ्नुपर्छ”, उहाँ भन्नुहुन्छ । ठमेल क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा ठूलो योगदान पु¥याएको छ ।