काठमाडौं । सरकारले साउन ३ गते आईतबार अपरान्ह ४ बजे संघीय संसदका दुवै सदनको अधिवेशन आव्हान गर्न राष्ट्रपतिलाई सिफारिस गरेको छ ।
विहिबार बसेको मन्त्रीपरिषद् बैठकले संघीय संसदका दुवै प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आव्हान गर्न सिफारिस गर्ने निर्णय गरेको हो । त्यसैगरी सत्यनिरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र पदाधिकारीको कार्यवधि एक बर्ष थप गर्ने निर्णय पनि बैठकले गरेको छ ।
अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले साउन ३ गते आईतबार अपरान्ह ४ बजेका लागि प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आव्हान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने र सत्यनिरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र पदाधिकारीको कार्यवधि एक बर्ष थप गर्ने निर्णय भएको जानकारी दिनुभएको हो ।
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले असार २८ गते राती १२ बजे राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गर्नुभएको थियो । असार १७ गते सुरु भएको राष्ट्रियसभाको आठौ अधिवेशन १२ दिन चालु भएकोमा जम्मा ६ वटा बैठक बसेका थिए । अधिवेशन अन्त्य भएको ३ दिन पछि नै बर्तमान सरकारले ३ गतेका लागि अर्को अधिवेशन आव्हान गरेको हो ।