२० मंसिर २०८२, शनिबार
,
Latest
कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागलुङको ऐतिहासिक जैमिनी मेला



अ+ अ-

बलेवा । परम्परागत जैमिनी मेला जैमिनी नगरपालिकाको मुकाम कुश्मीशेरा बजारमा सुरु भएको छ ।

जैमिनी ऋषिको तपोभूमि बागलुङको कुश्मीशेरामा रहेको जैमिनी धाममा वर्षौंदेखि हुँदै आएको माघे सङ्क्रान्ति मेलालाई केही वर्षदेखि परिमार्जन गरी मेला तथा महोत्सवका रुपमा विकास गरिएको हो ।

जैमिनी ऋषिले तपस्या गरेर ज्ञानआर्जन गरेको थलो जैमिनी धाममा साविक पश्चिमाञ्चल क्षेत्रकै ठूलो व्यापार मेलाका रुपमा यो मेला सञ्चालन हुने गरेको थियो । कालीगण्डकी किनारमा रहेको जैमिनी ऋषिले तपस्या गरेको ठानिने कुटी वरपर मेला लाग्दै आएको थियो । सोही मेलालाई विसं २०४९ देखि कुश्मीशेरा बजारमा सारिएको हो ।

जैमिनी घाटसमेत नामले परिचित सो स्थानमा मकर नुहाउन जानेको ठूलो भीड हुने गर्दथ्यो । यहाँ तीन माघ नुहाउनेअर्थात् माघ १ गतेदेखि तीन दिनसम्म नुहाउने र मेला भर्नेको भीड हुने गर्दथ्यो । त्यसलाई पहिले व्यापार मेलाका रुपमा विकसित गरी यहाँका स्थानीय उत्पादनको बिक्रीका साथै स्थानीय प्रतिभाको पहिचानका लागि प्रतिस्पर्धाको पनि आयोजना गर्ने गरिएको थियो ।

यता कुश्मीसेरामा सारेपछि भने सहारा क्लब कुश्मीशेराको आयोजना र जैमिनी नगरपालिकाको समन्वय तथा सहयोगमा मेला गर्न थालिएको हो । यो मेला माघे सङ्क्रान्तिको अवसर पारेर पुस २९ गतेदेखि सुरु हुने गर्दछ र विभिन्न खेलकुद प्रतियोगितासहित सुरु हुने गर्दछ । सो मेलाको आइतबार गण्डकी प्रदेशसभा सदस्य तथा नेकपा ९एमाले०का पोलिटब्युरो सदस्य लिलबहादुर थापाले उद्घाटन गर्नुभयो ।

मेलाको उद्घाटन गर्दै थापाले बागलुङ दक्षिण क्षेत्रको प्रमुख व्यापार मेलाको रुपमा रहेको मेलालाई युवाले खेलकुद र संस्कृतिसँग जोडेर स्थानीय प्रतिभालाई पनि अवसर दिएकामा खुसी व्यक्त गर्नुभयो । जिल्लाको दक्षिण क्षेत्र भौगोलिक हिसाबले सदरमुकाम र प्रदेश सदरमुकामबाट नजिक रहेर पनि पूर्वाधार निर्माणका हिसाबले दुर्गम रहेको सो क्षेत्रको विकासका लागि मेलामा उपस्थित विभिन्न क्षेत्रका व्यक्तित्वले चासो व्यक्त गरेका थिए ।

जिल्लाको समग्र विकासका लागि राजनीतिक दलहरुका बीचमा एकमत हुनुपर्नेमा पनि उनीहरुको जोड थियो । सो क्षेत्रको विकासका लागि सभासद थापाले पनि कुनै पूर्वाग्रह नराखी गण्डकी प्रदेशसभाका सदस्यले एकताबद्ध भएर पहल थाल्ने बताउनुभयो ।

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य तथा निवर्तमान प्रतिनिधिसभा सदस्य डा सूर्य पाठकले बागलुङको विकासका लागि केही पूर्वाधार निर्माणको काम थालनी भइसकेको भन्दै वर्तमान जनप्रतिनिधिलाई निर्माणाधीन कामलाई पूर्णता दिन आग्रह गर्नुभयो ।

गण्डकी प्रदेशसभा सदस्य डिल्लीराम सुवेदीले निर्वाचनका समयमा गरेका प्रतिबद्धताअनुसारनै आफूले काम थालेको बताउनुभयो । उहाँले पूर्वाधार विकास मात्रै विकास नभएको भन्दै मानवीय, आर्थिक र सामाजिक विकासलाई सँगै लैजानुपर्नेमा जोड दिनुभयो ।

जैमिनी नगरपालिकाका उपप्रमुल हरिहर शर्माले जिल्ला सदरमुकामदेखि पालिका मुकाम जोड्ने सडकनै तत्काल बनाउनै पर्ने अवस्थामा रहेको बताउनुभयो । उहाँले नगरले बनाएका योजनामा सहयोग गर्न सङ्घ र प्रदेशसरकारलाई आग्रह गर्नुभयो ।

मेलामा पालिकास्तरीय खुला पुरुष भलिबल प्रतियोगिता, महिला भलिबल प्रतियोगिता, जैमिनी डान्स आइडल, कृषि मेला प्रदर्शनी, शैक्षिक प्रदर्शनीलगायतका विभिन्न प्रतियोगितात्मक कार्यक्रम आयोजना गरिएको सहारा क्लबका अध्यक्ष सुरेश सुनारले बताउनुभयो । मेला माघ ५ गतेसम्म सञ्चालन हुनेछ । रासस