काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले विशेष अदालतका चार न्यायाधीशको सरुवा गरेका छन्। ललिता निवास जग्गा प्रकरणमा पक्राउ पुर्जी जारी भइ विगत डेढ वर्षदेखि फरार रहेका नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारलाई धरौटीमा रिहा गरेलगत्तै विशेष अदालतका अध्यक्षसहित ४ जना न्यायाधीशको अचानक काज सरुवा गरिएको हो।
बुधबार मात्रै गच्छदारको मुद्दामा सुनुवाइपछि आदेश दिएका अध्यक्ष आफैं सरुवा भएका छन्। न्यायाधीश प्रेमराज कार्की, न्यायाधीश अब्दुल अजिज मुसलमान र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले गच्छदारलाई धरौटीमा छाड्ने आदेश दिएका थिए।
धरौटीमा छाड्ने आदेश दिएको पर्सिपल्ट नै अध्यक्ष प्रेमराज कार्कीलाई इलाम सरुवा गरिएको छ भने न्यायाधीश बालेन्द्र रुपाखेतीलाई पाटन अदालत, न्यायाधीश शान्ति सिंह थापालाई राजविराज अदालत, न्यायाधीश चन्द्रबहादुर सारुलाई सुर्खेत अदालतमा सरुवा गरिएको हो ।
विशेष अदालतमा अध्यक्षसहित ६ जना मात्र न्यायाधीश भएपनि अध्यक्षसहित ४ जना न्यायाधीशको एकैपटक सरुवा भएपछि अब विशेषमा दुई जना न्यायाधीशहरु अब्दुल अजिज मुलसमान र नित्यानन्द पाण्डेय मात्रै बाँकी रहेका छन्। यी दुवै जना गच्छदारको मुद्दामा सुनुवाइ गर्ने न्यायाधीश हुन्।