• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   अर्थमन्त्री पुनले चुनौती सिर्जना र समाधान गर्ने अठोटका साथ बजेट ल्याउनुभयो: पूर्वअर्थमन्त्री पौडेल ★   मुकेश अम्बानीलाई पछि पार्दै गौतम अडानी बने भारतका सबैभन्दा धनी व्यापारी ★   सहमतिबाट नेतृत्व चयन हुने झलनाथको विश्वास ★   औद्योगिक राजधानी घोषणामा विलम्ब ★   रविना टण्डनमाथि एक वृद्ध महिलालाई कुटपिट गरेको आरोप ★   विराट कोहलीलाई तेस्रो पटक ‘ओडीआई क्रिकेटर अफ द इयर’को अवार्ड ★   एक महिनामा भित्रिए ९० हजार विदेशी पर्यटक ★   सरकारले राष्ट्रिय प्राथमिकतालाई तिलाञ्जली दिएर बजेट ल्यायो: काँग्रेस ★   आठ वर्षमा पनि बनेन शीत भण्डार ★   लुक्लामा पासाङल्हामु स्मृति ‘ग्यालरी’ स्थापना

बहुमत नपुगेपछि सुदूरपश्चिम प्रदेशसभामा सभामुख चयन भएन



file photo

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको आज साँझ बसेको बैठकमा सभामुख चयन गर्नेसम्बन्धी दुई छुट्टाछुट्टै प्रस्तावमाथि भएको कारवाहीमा आवश्यक बहुमत सङ्ख्या नपुग्दा अस्वीकृत भएको छ ।

सभामुख चयन प्रक्रियामा सत्तापक्षकै नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभाका सदस्य तटस्थ बस्दा कसैको पक्षमा बहुमत नपुगेपछि दुवै प्रस्ताव अस्वीकृत भएका हुन् ।

प्रदेशसभा सदस्य मानबहादुर रावललाई सभामुख पदमा निर्वाचित गरियोस् भनी नेपाली कांग्रेसका मेघराज खड्काको प्रस्ताव उपर गरिएको मत विभाजनमा ‘हुन्न’ भन्ने पक्षमा २२ मत र ‘हुन्छ’ भन्ने पक्षमा पनि २२ मत परेको छ । उहाँको समर्थकमा पृथ्वीबहादुर सिंह हुनुहुन्छ ।

यसैगरी प्रदेशसभा सदस्य भीमबहादुर भण्डारीलाई सभामुख पदमा निर्वाचित गरियोस् भनी नेकपा (एमाले) की जानकी ऐर बमले राख्नुभएको अर्को प्रस्ताव उपर भएको मतविभाजनमा ‘हुन्छ’ भन्ने पक्षमा २२ र ‘हुन्न’ भन्ने पक्षमा पनि २२ मत परेको छ । उहाँको समर्थकमा माओवादी केन्द्रकी गीतादेवी माल हुनुहुन्छ ।

आजको बैठकमा प्रतिपक्ष नेपाली कांग्रेसकी सरस्वती खड्का अनुपस्थित हुनुहुन्थ्यो । नागरिक उन्मुक्तिका सबै सात सदस्य बैठकमा उपस्थित भए पनि मत विभाजनमा तटस्थ बस्नुभएको थियो । सभामुखको भूमिकामा रहनुभएका नेपाली कांग्रेसका शिवराज भट्टले मत विभाजनमा भाग लिनुभएन ।

सभामुखमा निर्वाचित हुनका लागि २७ सदस्यको बहुमत आवश्यक पर्छ ।

यसअघि बिहीबार बसेको बैठकमा भएको सभामुख निर्वाचनसम्बन्धी दुई प्रस्ताव पनि आवश्यक बहुमत नपुग्दा अस्वीकृत भएको थियो ।

उक्त दिनको मत विभाजनमा सत्ता पक्ष एमालेका एक र नागरिक उन्मुक्तिका एक सदस्य अनुपस्थित हुनु भएको थियो भने सत्ता पक्षकै एक सदस्यको मत बदर भएको थियो ।

आजको बैठकमा सभामुखको भूमिकामा रहनुभएका भट्टले सभामुख चयन गर्न आवश्यक बहुमत सङ्ख्या नपुग्दा दुवै प्रस्ताव अस्वीकृत भएको सदनलाई जानकारी गराउनुभयो ।

भण्डारी सत्ता पक्ष नेकपा (माओवादी केन्द्र) का तर्फबाट र रावल नेपाली कांग्रेसका तर्फबाट सभामुखको उम्मेदवार हुनुहुन्छ । भण्डारीको पक्षमा एमाले, माओवादी केन्द्र, राप्रपाका सदस्यले मत जाहेर गर्नुभएको थियो । रावलको पक्षमा कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र एकजना स्वतन्त्र सदस्यले मत जाहेर गर्नुभएको थियो ।

त्रिपन्न सदस्यीय प्रदेशसभामा काँग्रेसका १९, एमालेका १०, माओवादी केन्द्रका ११, एकीकृत समाजवादीका चार, राप्रपाका एक र एकजना स्वतन्त्र सदस्य हुनुहुन्छ ।

आजको बैठकको प्रारम्भमा दिइएको विशेष समयमा नेपाली कांग्रेसका विक्रमसिंह धामी, माओवादी केन्द्रका रमेशसिंह धामी, एमालेका धर्मराज पाठक, नागरिक उन्मुक्तिका लक्ष्मणकिशोर चौधरी र एकीकृत समाजवादीका दीर्घबहादुर सोडारीले समसामयिक विषयमा धारणा राख्नुभएको थियो । अर्को बैठक यही माघ २ गते बिहान ९ बजे बस्ने कार्यक्रम छ ।

प्रदेशसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुखको निर्वाचन गरिसक्नुपर्ने संवैधानिक बाध्यता छ । आउने माघ २ गते यो अवधि पूरा हुँदैछ । रासस