६ श्रावण २०८३, बुधबार
,
Latest
अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विषयमा मन्त्री सिता बादी र सांसद रमेश प्रसाईबीच भेटवार्ता प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया डा. गोविन्द केसीले बिहीबारदेखि २२औँ पटक सत्याग्रह थाल्ने नतिजा देखिनेगरी जिम्मेवार भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन दुई वर्षको वाचा, साढे पाँच वर्षको पर्खाइ, अधुरै छन् आधारभूत अस्पताल
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनक शिक्षाको चार ट्रक कागज प्रहरी नियन्त्रणमा



अ+ अ-

भक्तपुर । पुस्तक छपाइ गर्न गुणस्तरहीन कागज ल्याएको भन्दै जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले फिर्ता गरेको कागज सप्लायर्स कम्पनीले पुनः जनक शिक्षामै ल्याएपछि चार ट्रक कागज प्रहरीले नियन्त्रणमा लिएको छ ।

केन्द्रको पदाधिकारीको मिलेमतोमै फिर्ता भएको कागज पुनः केन्द्रमा आएको आरोप लागेपछि आज शिक्षा मन्त्रालयको सहसचिवको टोलीसहित स्थानीय सरकारका रूपमा रहेको मध्यपुरथिमि नगरपालिकाले केन्द्रको अनुगमन गर्दै यसबारे चासो लिएको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्मासहितको टोलीले जनक शिक्षाको कागज प्रकरणमा आएको चर्चाको बारेमा केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झासँग जानकारी लिएको थियो । झाले केहीले केन्द्रका बारेमा भ्रम छरेको भन्दै केन्द्रमा आएको चार ट्रक कागजको गुणस्तर परीक्षण गर्न बाँकी रहेको र यसबारेमा मन्त्रालयसहितलाई छानबिन गर्न आग्रह गर्नुभएको थियो ।

त्यस लगतै मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ र उपप्रमुख विजयकृष्ण श्रेष्ठले केन्द्र पुगेर कागज प्रकरणका बारेमा प्रबन्ध निर्देशक झासँग जानकारी माग्नुभयो । उहाँहरूले नगरपालिकालाई जनक शिक्षालगायतका यहाँका शैक्षिक कार्यालयले अहिलेसम्म कर नतिरेको भन्दै तत्काल नगरपालिकाले निर्धारण गरेको कर तिर्न आग्रह गर्नुभयो ।

केन्द्रका प्रबन्ध निर्देशक झाले जनक शिक्षामा कक्षा ११ र १२ को पुस्तक छपाइका लागि ७० ग्रामको कागज ल्याउन ठेक्का सम्झौता भए पनि असोज २५ गतेदेखि कात्तिक ४ गतेसम्म आएका एक सय ६४ टन कागज गुणस्तरहीन रहेका र ६५ ग्रामको मात्र रहेको पाइएपछि गत कात्तिक १७ गते फिर्ता गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “केन्द्रले गुणस्तरहीन कागज फिर्ता लगेर सम्झौताअनुसार गुणस्तरीय कागज ल्याउन कात्तिक १७ गते सप्लायर्सलाई पत्र पठाएका हौँ, गत २४ र २५ गते कागज फिर्ता ग¥यो र हिजो बिदाको दिनमा कागज लिएर आएछ, गुणस्तर जाँचपछि कारबाही प्रक्रिया अगाडि बढाउँछौँ ।”

यसबारेमा शिक्षा मन्त्रालयको टोलीसँग छलफल भइसकेको र आन्तरिकरूपमा पनि छानबिन गर्ने उहाँले बताउनुभयो । उहाँले सप्लायर्स कम्पनीको बदमासी पाइए उसले राखेको रु पाँच करोड धरौटी जफतसमेत हुनसक्ने बताउनुभयो । केन्द्रका प्रवक्ता चित्रराज आचार्यले केन्द्रमा दैनिक कागज आउने गरेको जानकारी दिँदै आएका कागज नापतौल तथा गुणस्तर विभागले गुणस्तर परीक्षण गरेपछि मात्रै प्रयोगमा ल्याउने प्रक्रिया रहेको बताउनुभयो ।

केन्द्रले टेण्डरमार्फत ललितपुरको नेपाः हिमा ट्रेड लिङ्क प्रालिसँग गत भदौ २७ गते एक हजार मेट्रिकटन कागज ३० दिनभित्र र थप पाँच मेट्रिकटन गरी कूल एक हजार पाँच मेट्रिकटन कागज आउँदो माघ ४ गतेसम्म ल्याइसक्नुपर्ने सम्झौता गरेको थियो । सम्झौता गरेको सप्लायर्सले जनकपुरको एभरेष्ट पेपर मिल्स प्रालिबाट कागज ल्याएपनि गुणस्तरहीन कागज ल्याएको प्रमाणित भएपछि केन्द्रले कात्तिक १७ गते फिर्ता गरेको थियो ।

केन्द्रका प्रवक्ता आचार्यले भन्नुभयो, “समयमै कागज दिन नसक्दा गत वर्ष एउटा कम्पनीको रु आठ करोड धरौटी जफत गरेका थियौँ, अहिले पनि समयमै कागज ल्याउन नसके र यस्तै भए रु पाँच करोड धरौटी जफत गर्छौं तर केन्द्रका बारेमा बाहिर फैलाइएको अफवाहमा हाम्रो आपत्ति छ, केन्द्रबाट कुनै भ्रष्टाचार र अनियमितता भएको छैन ।”

सप्लायर्स कम्पनीले भने जनक शिक्षाबाट फिर्ता लगेको नौ ट्रक कागज नजिकै मनोहरा किनारामा रहेको एक ग्यारेजमा दुई दिन राखेर पुनः सोही कागज केन्द्रमा फिर्ता ल्याएको बताइएको छ । चार ट्रक प्रहरीले नियन्त्रणमा लिएर केन्द्रमै राखेको छ । कागज बोकेको अन्य नौ ट्रक भने दुई दिनदेखि सानोठिमी सडकमै रहेको छ ।

रमेश गिरी /रासस




भर्खरै