काठमाडौं । नेकपा (एमाले)का सचिव भीम आचार्यले एमाले पार्टीलाई फुटाउने षडयन्त्रअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले हतारमा विश्वासको मत लिन खोजेको आरोप लगाउनुभएको छ ।
१०बुँदे सहमति कार्यान्वयन गर्दै पार्टीको एकता जोगाउनुपर्ने निचोडमा रहेका दोस्रो तहका नेताहरुले आइतबार बिहान आचार्यसहित वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेका थिए ।
एकाएक प्रधानमन्त्री देउवाले विश्वासको मत लिने निर्णय गरेपछि एमालेमा एकताका लागि प्रयासरत दोस्रो तहका नेताहरु असन्तुष्ट देखिएका छन् । नेता नेपाललाई भेटेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाल पक्षमा रहेका सचिव आचार्यले आजै हतारमा विश्वासको मत लिन जरुरी नरहेको बताउनुभयो ।
संसद जोगाउन मधेसका पार्टीहरुसँग छलफल गर्ने लगायतका विकल्प हुँदाहँदै हतारमा विश्वासको मत लिन खोजिएको आरोप लागाउँदै उहाँले भन्नुभयो, ‘एमालेलाई विभाजित गर्ने षडयन्त्रका कारण यो सब भइरहेको छ । जबकी हामी १० बुँदे सहमति पश्चात विभाजित भएर एमालेले भोट हाल्दैन भनिरहेका छौं ।’
एक महिनाभित्र लिँदा हुने विश्वासको मत चार दिनमै लिनु एमाले फुटाउने षडयन्त्र भएको उहाँको भनाई छ ।