काठमाडौं । नेकपा(एमाले)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदहरु पार्टीमा नरहने बताएको छ ।
आइतबार बसेको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरुमाझ बोल्दै प्रवक्ता प्रदीपकुमार ज्ञवालीले पार्टीले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने संस्थागत निर्णय गरिसकेकाले देउवालाई विश्वासको मत दिने सांसदहरु पार्टीमा नरहने बताउनुभएको हो ।
उहाँले भन्नुभयो – ‘नेकपा(एमाले) को संस्थागत निर्णयभन्दा बाहिर गएर आफ्नै पार्टीको नेतृत्वको सरकारलाई ढलाएर बनेको सरकार या प्रधानमन्त्रीको पक्षमा मत हालिसकेपछि ति साथिहरु चाहीँ पार्टी भित्र रहनुहुन्न । यो चाहीँ प्रष्ट नै हो ।’ प्रवक्ता ज्ञवालीले एमालेले देउवा सरकारको विपक्षमा मतदान गर्ने पनि बताउनुभयो ।
उहाँले भन्नुभयो – ‘हामीले अस्तिको बैठकबाटै निर्णय गरिसकेका छौँ । हामी प्रतिपक्षमा रहन्छौँ । सरकारलाई समर्थन गर्न सक्दैनौँ र सरकारले माग्ने विश्वासको मतको विपक्षमा मतदान गर्छौँ । यही कुरा हामीले पार्टीका सबै सांसदहरु र सम्भव भएका अरु दलहरुलाई पनि आग्रह गर्ने निर्णय गरेका छौँ ।’
प्रवक्ता ज्ञवालीले एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पार्टी एकताको पक्षमा नरहेको पनि जिकिर गर्नुभयो । प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिन लागेको विषयले विभिन्न प्रश्न जन्माएको पनि उहाँको भनाई छ ।