२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्वतमा अवैध क्रसर उद्योग बन्द गर्न निर्देशन



अ+ अ-

पर्वत । पर्वतमा अवैध रुपमा सञ्चालन भएका क्रसर उद्योगहरु बन्द गर्न जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको छ । कार्यालयले मङ्गलबार सूचना जारी गर्दै विना दर्ता र अनुमति विना सञ्चालित क्रसर उद्योग, नदीजन्य र खानीजन्य ढुङ्गा, गिट्टी, बालुवा उद्योग र व्यवसाय बन्द गर्न निर्देशन दिएको हो ।

नदीजन्य तथा खानीजन्य पदार्थ उन्खनन गर्ने उद्योग बन्द नगरी अटेर गरेमा कानुनबमोजिम कारबाही गरिनेसमेत प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । हालै गृह मन्त्रालयले देशका ७७ वटै जिल्लामा गैरकानुनी रुपमा सञ्चालनमा रहेका उद्योगहरु बन्द गराउन निर्देशन जारी गरेपछि पर्वत प्रशासन पनि बन्द गराउने अभियानमा जुटेको हो ।

प्रशासनले यसअघि क्रसर उद्योगहरु दर्ता हुने घरेलु तथा पर्यटन कार्यालय र स्थानीय तहमा पत्राचार गरेर विवरण माग गरेको थियो । क्रसर उद्योग दर्ता गर्ने, नवीकरण गर्ने र नियन्त्रण गर्ने निकाय भनेका स्थानीय तह र घरेलु तथा पर्यटन कार्यालय हुन प्रजिअ सापकोटाले भन्नुभयो, “अहिले पर्वतमा कति उद्योग दर्ता भएका छन्, कति नवीकरण भएका छन् र हालको अवस्था के रहेको छ, कानुनी प्रक्रियाअनुसार कति सञ्चालन भएका छन् र मापदण्ड विपरीत कति सञ्चालित छन् भन्ने बारेमा खुलाएर पठाउनका लागि पत्राचार गरिएको छ ।” ती निकायबाट पत्र आएपछि गृहको आदेशानुसार अवैध रुपमा सञ्चालन भएको पाइएमा आवश्यक कारबाही गरिने प्रजिअ सापकोटाले बताउनुभयो ।

गृहमन्त्रालयको आदेशलगत्तै सूक्ष्म रुपमा प्रक्रिया अघि बढाइसकिएको प्रशासनले जनाएको छ । जिल्लामा सञ्चालित कतिपय विकास निर्माणका आयोजनाले काम सकिएपछि पनि क्रसर उद्योग चलाएर गिट्टी, बालुवा बिक्री गर्दै आएका छन् ।

धौलागिरि क्रसर व्यवसायी समितिका अध्यक्ष विप्लव हमालका अनुसार साबिक घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएर सञ्चालन भएका उद्योग पर्वतमा तीनवटा मात्र रहेका छन् । अहिले गैरव्यवसायीहरुले पनि नदीनालाबाट जबर्जस्ती उत्खनन गर्ने र बिक्री गर्ने गरेका कारण क्रसर उद्योगहरुमा समस्या आएको बताउनुभयो । उहाँले क्रसर उद्योगहरुको मापदण्ड र उत्खननलाई व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो । हमालले मापदण्ड ठूलो समस्या नभएको बताउँदै उत्खननलाई व्यवस्थित गर्नुपर्ने बताउनुभयो ।

जिल्लामा खासगरी कालीगण्डकी नदीका किनारमा रहेका अधिकांश उद्योगहरु अवैध रुपमा सञ्चालन हुँदै आएका छन् भने कतिपयले लुकीछिपी रातको समयमा नदी दोहन गर्ने गरेका छन् ।

जथाभावी दोहनको शृङ्खला बढेपछि सर्वोच्च अदालतले विगत दुई वर्षदेखि अर्को आदेश नभएसम्म नदी उत्खननमा रोक लगाएको छ । नदी उत्खनन र ढुङ्गा, गिट्टी बालुवा निकासी गर्न नपाउँदा पर्वतको जलजला, कुश्मा र फलेवासको करोडौँको आम्दानीसमेत गुमेको छ भने विकास निर्माणका कामसमेत प्रभावित भएका छन् ।

जिल्ला समन्वय समिति पर्वतका संयोजक तथा अनुगमन समितिका संयोजक विष्णुराम विकले पर्वतमा अवैध क्रसर उद्योगहरुको सङ्ख्या उल्लेख्य रहेको बताउँदै तिनको नियन्त्रण र व्यवस्थापन गरिने बताउनुभयो । उहाँले गृहको आदेशसँगै अब त्यस्ता अवैध उद्योगहरुको अनुगमन गरेर बन्द गराउन पहल गर्नेसमेत बताउनुभयो । अहिले अनुगमन समितिमा बन्द गराउने कार्यतालिका र प्रक्रियाका बारेमा छलफल भइरहेको बताउनुभयो । जिल्लाका खोलानालामा झन्डै डेढ दर्जनको हाराहारीमा क्रसर उद्योग सञ्चालनमा रहेको पाइएको छ ।