२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल एकीकरणमा तन्त्रको भूमिका



अ+ अ-

बडामहाराज पृथ्वीनारायण शाहको जन्म वि. सं. १७७९ गोरखा माझकोटदरबारमा भएको थियो । यिनले बिभिन्न टुक्रामा विभक्त नेपालको सम्पूर्ण शक्ति एकीकृत गरेर बलियो राज्य खडा गर्ने योजना सायद तिनका बुबा नरभूपाल शाहबाट पाएका थिए ।

वि. सं. १७९४ मा यिनका बाबु नरभूपाल शाहले विभि; तान्त्रिक अनुष्ठानका साथै मावली राज्य तनहुँबाट सैन्य सहयोग पाउने विश्वास गरेर काठमाडौँ उपत्यका र तिब्बतको व्यापारिक केन्द्र नुवाकोटमा आक्रमण गरे । एकातिर उपत्यकाका तीनवटै मल्लराज्यको फौज र अर्कोतिर गोरखाली सैन्यको बीच युद्ध चल्यो । तनहुँले गोरखालाई आश्वसन दिएर पनि युद्धभूमिमा मद्दत दिन आएन । परिणामस्वरूप गोरखा पराजित भयो । गोरखाको नुवाकोट जितेर काठमाडौँलाई आर्थिक रूपले कमजोर गर्ने र आफ्नो अधीनमा ल्याउने योजना असफल भयो । पराजित राजा नरभूपाल शाहले एकीकरण अभियानको प्रयास छोडे । नरभूपालले राजकाजमा नै अनिच्छा गर्दा पृथ्वीनारायण शाहले आफ्नो बुबाको यो इच्छालाई पूर्ण गर्न अग्रसर हुनुप-यो । वि. सं. १७९९ मा नरभूपाल शाहको मृत्यु भएकाले युवराज पृथ्वीनारायण शाह गोरखाका राजा भए ।

पृथ्वीनारायण शाहलाई आफ्नो पिताजीको इच्छा पूरा गर्ने ध्येयले सताउन थाल्यो । यसका लागि उनले देवीदेवताको पूजा, अर्चना, जपध्यान, तन्त्रमन्त्र सिद्धि तथा खड्ग सिद्धिजस्ता तान्त्रिक मार्ग अवलम्बनका साथै सैनिक तयारी पनि गर्न थाले । उनले सैन्यबल र तन्त्रबल दुवैको सहयोगले उपत्यकालाई जित्ने निर्णय गरे । वि. सं. १८०० मा यिनले नुवाकोटमा पहिलोपटक आक्रमण गरे तर असफल भए ।

पराजयको मूल्याङ्गन गरी अभियानलाई मूर्तरूप दिन बनारसको तीर्थाटन, सिद्धजनहरूसँग सत्सङ्क र हतियारहरू जम्मा गरी वि. सं. १८०१ मा नुवाकोटमाथि पुनः आक्रमण गरी केरुङ नाकाको व्यापारलाई आफ्नो अधीनमा पारे । यसपछि भैरवीदेवीको अनुष्ठान गरे र आफ्नो निवासस्थान पनि आडैमा बनाए । तात्कालिक विभिन्न स्रोतहरूबाट थाहा भएअनुसार श्रीनुवाकोटभैरवी वरपरका कालिका, मालिकालगायतका देवीदेवताहरूको पूजा आराधनाहरू शत्रुमाथि विजय गर्ने शक्ति संवद्र्धन गर्न थाले । उनको लक्ष्य भनेको उपत्यका हातपार्नु थियो । कीर्तिपुरमा भएको वि. सं. १८१४ को पहिलो आक्रमणमा विजयालक्ष्मीले गोरखालीलाई साथ दिइनन् । त्यसपछि यिनले काठमाडौँ उपत्यका वरिपरिका प्रदेशहरू जित्दै आर्थिक नाकाबन्दी गरी तत्तत् स्थलका देवीदेवताहरूको गुठी थपिदिने, पूजारीहरूलाई पनि आफ्नो हातमा लिने आदि कार्य गरी भावनात्मक रूपमा स्थानीय मानिस आफ्नो पक्षमा लिएर आफ्ना शत्रुहरूलाई निस्तेज पार्दै लगे ।

कीर्तिपुरको दोस्रो आक्रमणमा विजयका लागि बाघभैरव र उमामहेश्वरको अनुष्ठान गरिएको थियो । भनिन्छ– सल्यान मखनटाक्रिरीमा तपस्या गरेर बसेका स्वामी भगवन्तनाथ योगीले आफ्नो तन्त्रविधि त्यहाँ प्रयोग गरेका थिए । त्यस अनुष्ठानमा केही त्रुटि भएका कारण युद्धमा पृथ्वीनारायण शाहले पराजित हुनुप¥यो । वि. सं. १८२२ मा अन्ततः विभिन्न पद्धति र तन्त्रानुष्ठानको बलका साथै साम, दाम, दण्ड, भेद चारै प्रकारको नीति प्रयोग गरी कीर्तिपुरलाई आफ्ना अधीनमा ल्याए । कीर्तिपुरजस्तो सामरिक महत्वको स्थल गुमाउनु परेपछि उपत्यकाका राजाहरू क्रमशः आर्थिक र मनोवैज्ञानिक रूपले कमजोर भए । मकवानपुर र नुवाकोट कब्जा भएपछि भोट, तराई, भारत सबैतिरको व्यापार रोकियो ।

उपत्यकाका राजाहरूको आयस्रोत घट्दै गयो भने पृथ्वीनारायण शाहको आयस्रोत बढ्दै गयो । पृथ्वीनारायण शाहलाई हराउन काठमाडौँका मल्ल राजा जयप्रकाशले भारतमा साम्राज्य बढाई राखेको बेलायती शक्तिलाई पुकारे । फलतः पटनाबाट किलनकको नेतृत्वमा नेपाललाई आफ्नो अधीनमा राखी तिब्बत ल्हासाको व्यापारमा एकाधिकार पाउने लक्ष्य लिएर जनकपुरको बाटो हुँदै अग्रेजी फौज सिन्धुलीगढीतिर बढ्यो । योग्य सेनानायकले चतु(याइँपूर्वक गुरिल्लायुद्ध गरी अग्रेजसेनालाई हराउनुको साथै उनीहरूका धेरै उन्नत हातहतियारहरू पनि आफ्नो कब्जामा लिए ।

यसबाट पृथ्वीनारायण शाहको व्यक्तित्व चिन्ने, योग्य व्यक्तिहरूको पहिचान गरेर सही ठाउँमा काम लगाउने क्षमता थाहा हुन्छ । अग्रेजशक्तिलाई नेपाल प्रवेश गर्न रोक लगाएपछि पृथ्वीनारायण शाहले आफ्नो मूल लक्ष्यभेदन गर्न नाकाबन्दी कार्यलाई अझ कडाई गरी भक्तपुरका राजा रणजित् मल्ललाई आफ्नो पक्षमा मिलाई वि. सं. १८२५ को इन्द्रजात्राको दिनमा कान्तिपुरमा विजय गरे । भनिन्छ यसका लागि उनले पचलीभैरवको तन्त्रोक्त विधिबाट पूजाअर्चना, नरदेवीलाई विशिष्ट अनुष्ठान र पूजा गराएका थिए । त्यस्तै दहचोकको इन्द्रदहलाई तान्त्रिक केन्द्र बनाएर इन्द्रदहको जल ल्याई हनूमान्ढोका राजदरबारमा राज्याभिषेक गर्ने मल्लराजाहरूको वार्षिक परम्परामा बाधा पु-याइदिएका थिए ।

काठमाडौँ विजय गरेको दिनमा कुमारीको रथ तान्न अलमल भयो । मल्ल राजाले त्यहाँ गर्दै आएको भूमिकालाई पृथ्वीनारायण शाहले पूर्ववत् गरेपछि रथयात्रा सम्प; भएको थियो । उता काठमाडौँ विजय गरेपछि कीर्तिपुरकी कुमारी, श्रीबाघभैरव, चिठुबिहारको गुठी बन्दोबस्त गराइदिए झै उपत्यकाका तीनै शहरका देवीदेवता, शक्तिपीठ, पशुपति, गुहेश्वरी, दक्षिणकाली, बज्रयोगिनी, बूढानीलकण्ठ, तलेजु, स्वयम्भू, पचलीभैरव आदि देवीदेवताहरूमा धूमधाम पूजाका लागि सरजाम पठाई गुठी थपी दिएका थिए ।

नुवाकोटको देवीघाट, जालपादेवी पीठमा बलिपूजा गर्दा तत्कालै माझीद्वारा जिउँदो माछा पक्री मत्स्यबलि दिने परम्परा थियो । पृथ्वीनारायण शाहले आफ्नो जीवनकालमा वर्षेनी जालपादेवीको अनुष्ठान गरी मत्स्यबलिको सड्ढल्प गर्दथे । गोरखादरबारको गुप्तकालिका, बुङ्कोटकी मनकामना, नवलपुरकी मौलाकालिका, धादिङकी त्रिपुरासन्दरी, नुवाकोटकी भैरवी आदि देवीहरूको तन्त्रसिद्धि गर्ने उद्देश्य र नेपालको एकीकरण गर्ने मूल हेतुले पूजाअर्चना, तन्त्रमन्त्र, भजन, कीर्तनहरू गर्दथे ।

यसैको प्रभावले शक्तिको आराधनाका साथै कुटनैतिक षाड्गुण्य औषधस् विद्याको प्रयोग गर्दै राजकाजमा कौटल्यको नीति अपनाई यस देशलाई सिङ्को र सबल बनाए । पृथ्वीनारायणले नेपाललाई असल हिन्दूस्तान त यही रहेछ भन्नुकाे अर्थ– भारतवर्षमा अग्रेजहरूले शासन गरे तर नेपालले कहिल्यै पनि औपनिवेशको अनुहार देख्नुपरेन । कसैको अगाडि शिर झुकाउनुपरेन भन्न खोजेका हुन् । भारतलाई कहिले मुसलमानले, कहिले अग्रेजले अधीनमा लिए । यसक्रममा वैदिक धर्ममाथि पनि केही प्रभाव परेको प्रति पृथ्वीनारायणले सङ्गेत गरेका हुन् ।

वि. सं. १८२५ मा ललितपुरले स्वतः आत्मसमर्पण गरी पृथ्वीनारायण शाहको अधीनमा आयो । काठमाडौँ र ललितपुरका राजाहरू भक्तपुरमा शरण लिन पुगे । भक्तपुरका प्रजातान्त्रिक राजा रणजित् मल्लले २४ टोलका नायकहरूसँग सल्लाह गरी कान्तिपुर र ललितपुरका राजाहरूलाई शरण दिए । पृथ्वीनारायण शाहले आफ्ना मितबुबा अर्थात् भक्तपुरका राजासँग काठमाडौँका राजा जयप्रकाश मल्ल र ललितपुरका राजालाई आफूसामु सुम्पिदिन अनुरोध गरे ।

रणजित्ले २४ टोलका नायकसँग पृथ्वीनारायणको प्रस्तावबारे छलफल गरेपछि शरणमा आएकालाई मरण नगर्ने भेट्ने सन्देश पठाए । पृथ्वीनारायणलाई भक्तपुरमाथि धावा बोल्ने यो राम्रो अवसर थियो । त्यतिबेला उनका मितज्यूको स्वर्गवास भइसके पनि मितबुबाको राज्यमा आफूले आक्रमण गर्न उचित नसम्झेर भाइ शूरप्रतापको नेतृत्वमा सेना पठाए । शूरप्रतापले तीनै राजालाई पक्रिएर आफ्नो नियन्त्रणमा लिए । यसरी काठमाडौँलाई विजय गरेपछि विशाल नेपालको राजधानी पनि यहीँ बनाए । यसरी पृथ्वीनारायण शाह नेपाल उपत्यकाका एकछत्र महाराज बने । उनको इच्छा पहाडी राज्यलाई जितेर एउटै बनाउँछु र अग्रेजबाट सुरक्षित गर्छु भन्ने थियो । उनी अनुभवी, दूरदर्शी र राष्ट्रप्रेमी थिए । यसका लागि उनले तन्त्रशक्तिलाई ब्रम्हास्त्रको रूपमा प्रयोग गरेको देखिन्छ ।

उनले भनेका छन्– “…गुरु गौरेश्वर पण्डितले बिन्ती ग-या. सड्ढल्प जावस्. पीठपीठमा जाइ गर्नुपर्ला भनि बिन्ति ग¥या र नेपालको भोग हवस् भन्या कामना गरी चौबीस पुरश्चरणको सड्ढल्प गर्नु भयो… उत्तमउत्तम पीठमा गुरुज्यू गौरेàर पण्डितले आफ्ना छोराहरूलाई पठाउदा भया. अलिक केही मन्त्रसिद्ध जस्तो हुनाले श्रीगुहेश्वरीमा गया र केहि दिन अनुष्ठान ग-या. वहांदेषिन् केहि दिन श्री दक्षिणकालिकामा अनुष्ठान ग-या. वहां देषिन् केहि दिन मणिचूड पर्वतमा श्रीबज्रयोगिनीमा गै अनुष्ठान गर्न लाग्दा भया ।” (गोरखावंशावली)

नेपालराज्यले आकार पाउन थाले पनि पूर्णता पाएको थिएन । आर्थिक, सामाजिक, क्षेत्रीय रूपमा एकता गरी सबल र सक्षम नेपाल बनाउने इच्छा थियो । पृथ्वीनारायण शाह अधिकांश युद्धमा आफै सहभागी हुन्थे । कहिले बनारस त कहिले सिन्धुलीगढी, कहिले मकवानपुर त कहिले नुवाकोट र गोरखा । उनले मानसिक र शारीरिक परिश्रम निकै खर्चिए । गौतमवज्र बज्राचार्यले हनूमान्ढोकादरबारको अनुसन्धानको क्रममा मूलचोकको छिँडीमा एउटा पुरुष र दुई नारीमूर्ति फेला पारे ।

त्यसबारेमा अध्ययन बढाउँदै जाँदा यो मूर्ति पृथ्वीनारायण शाह भएको एवं साथमा रहेकी दुई नारी उहाँकी महारानी भएको प्रष्ट हुन आयो । केही पुस्तादेखिको प्रयासस्वरूप एवं सोहीबमोजिमको शिक्षादीक्षामा शिक्षित र दीक्षित उनका वंशजहरूले नेपाल अधिराज्यलाई एकीकरण गर्दै पूर्वमा टिष्टा, पश्चिममा काँगडासम्म पु¥याइदिए । विस्तारै आन्तरिक द्वन्द्व बढ्न थाल्यो । त्यसपछि आपसी भाइभारदारबीच द्वन्द्वबाट एकीकरण अभियान रोकियो । हामीले यसबाट शिक्षा लिनुपर्छ । एकता र आत्मीयताको बोट मास्यौँ, बीऊ पनि मास्यौँ । सैन्यशक्ति, तन्त्रशक्तिमा पनि विश्वास गरी पृथ्वीनारायणले जुन स्वरूप दिए आज त्यसमाथि आघात पर्न थालेको छ ।

यत्रास्ति भोगो न हि तत्र मोक्ष्यो यत्रास्ति मोक्ष्यो न हि तत्र भोगो ।
श्रीसुन्दरीसेवनतत्पराणां भोगश्च मोक्षश्च करस्थ एव ।

पृथ्वीनारायण शाहले यसलाई ह्दयङ्कम गरी तदनुकुल चलेको कारण नेपाल एकीकरण गर्न सफल भएका हुन् । उनको दरबारनजिकै गोरखनाथको गुफा अद्यापि छँदैछ । दरबारको आडमा रहेकी गोरखकालीदेवी भने शक्तिकी प्रतिमूर्ति हुन् । यसरी शाहवंशको परम्परामा शिवशक्तिको समायोजन राम्रोसँग भएको देखिन्छ । पृथ्वीनारायण शाह काठमाडौँ बस्न थालेपछि पशुपतिमा पञ्चामृतका लागि गुठीको व्यवस्था गरिदिने, पशुपति पुग्न सहज होस् भनी पुल बनाइदिनेजस्ता कार्य गरेका थिए । पृथ्वीनारायणलाई तन्त्रमाथि श्रद्धा र विश्वास थियो भन्ने विषय उनकै भनाईबाट पनि पुष्टि हुन्छ–

“रणजित् बस्न्यात् मानसिं रोकाया वीरभद्र पाठक यिनलाई गौटानको विराइ लिग्लिगको आडमा राखी म पनि सल्यानकोटकी देवी साक्षात् भनी भन्छन् म पनि साइत गरी जान्छु भनी बिदा गराएर साइत गरी म पनि गञूँ र बारीमा थर्पू परेर सल्यानीको थरघर वराहा उमरावसँग सुधायँ माईको दर्शन गर्न हुन्छ कि भन्दा भित्र पूजारी टहलुवाहरूलाई मात्रै दर्शन गर्न हुन्छ जो हुकुम भन्या र ढोकामा त हुन्छ कि भन्दा ढोकामा त हुन्छ भन्या र साँझ विहान ढोकासम्म जाइ पाठपूजा जप दर्शन ग-या र एक दिनका रातमा सपना भयो र दुई हातमा खड्ग लिया कि सात आठ वर्ष कि कन्या उसले पछ्यौराको घुम्टो पारी म छेउ आइ रह मैले सोध्यौँ तिमी कस्की छोरी हौँ भनी मैले भन्दा पूजाहारी रानाकी छोरी हूँ भनीन् र उ दुवै खड्ग मेरो हातमा दिइन् र आर्षि प्रमाण टलबल गथ्र्यो. खोकिलाबाट झिकी मेरो मुखसम्म ल्याई यो पनि निल भनीन् र तम्रो मनकाङ्क्षा पुरायाइदिएको छु म पनि केही माग्छु भनी जसै दुई पाइला गई थे. उसै बेलामा म पनि बिऊझे र भानु जैसी, पूजारीलाई सुध्यायँ ।”

यस उद्धरणबाट पृथ्वीनारायणले भगवती त्रिपुरासन्दुरीको उपासना तन्त्रोक्त विधिले गरेको र मनोवाञ्छित फल प्राप्त गरेको पुष्टि हुन्छ । देवीको पाठपूजा, जपध्यान, दर्शन गरी सपनामा पनि चिन्तन गरी साक्षात् देवीले दर्शन दिएको र खड्ग (सिद्धि भएको दुई तरबार) प्रदान गरी प्रसाद खान दिएबाट उनले गरेका तन्त्रसाधना सिद्ध भएको आधार मिल्दछ । त्यस्तै आद्यगुरु शङ्गराचार्य जसलाई यन्त्रप्रतिष्ठानाचार्य पनि भन्दछन् ।

उनले आफ्नो प्रसिद्ध तन्त्रग्रन्थ सौन्दर्यलहरीको पहिलो श्लोकमा–
शिवः शक्या युक्तो यदि भवति शक्तः प्रभवितुम् ।
न चेदेवं देवो न खलु कुशलः स्पन्दितुमपि ।।
अतस्त्वामाराध्यां हरिहरविरिञ्चादपिभिरपि ।
प्रणन्तुं स्तोतुं वा कथमकृतपुण्यः प्रभवति ।। –सौन्दर्यलहरी !

पृथ्वीनारायणमा गोरखनाथप्रति अटल श्रद्धा र भक्ति थियो । गोरखनाथ शिवका स्वरूप मानिन्छन् । गोरखनाथले पृथ्वीनारायण शाहसँग दही मागेको, आफूले दही खाई ओकली लौ खा भनेर दिँदा हातबाट पोखिँँदा “खाएको भए वाक्सिद्धि हुन्थ्यो र पुग्थ्यो । खुट्टामा परेको हुनाले पादसिद्धि होला । तेरो पाउले जुन राज्य कुल्चलास् तेरो हुने छ” भनी आशीर्वाद पाएका थिए । उनले गोरखनाथप्रति देखाएको श्रद्धालाई भजनका रूपमा केही वर्षअघिसम्म रेडियो नेपालमा बजाइन्थ्यो जो यसप्रकार रहेको छ–

बाबा गोरषनाथ सेवक सुखदाये भजहुँ तो मलाये ।
बाबा चेला चतुर मछिन्द्रनाथाको अधबुध रूप बनाये ।
शिवके अंश शिवासन काये, सिद्धि माहा बनि आये ।
बाबा सिंधिनाद जटाकुवरि तुम्बी बगल दबाए
सम्रथन बाघ बघाम्बर बैठे तिन ही लोक वरदाये ।
गलेमाल रुद्राच्छे सेली तनमे भसम चढाए
अगम कथा गोरषनाथ कि महिमा पार नपाये ।
मुन्द्रा कानमै अति सोभिते गेरुका बस्र लगाये ।
नरभूपाल साह जिउको नन्दन पृथ्वीनारायन गाये ।
बाबा गोरषनाथ सेवक सुखदाये भजहुँ मन लाये ।।

उनले गरेको गोरखनाथको भजनबाट यिनी शिव अर्थात् गोरखनाथका पनि ठुला भक्त थिए भन्ने पुष्टि हुन्छ । सनातनधर्ममा देवीसाधना अत्यन्त महनीय मानिन्छ । प्रचलित मान्यताअनुसार युद्धमा विजय दिने देवी हुन् । राम र रावणको युद्धमा पनि रामले देवीको स्तुति गरेको पाइन्छ । महाभारतको युद्धमा पनि विजयप्राप्तिका लागि युधिष्ठिरले भगवती स्तुति गरेका थिए । यही परम्परालाई पृथ्वीनारायण शाहले पनि निरन्तरता दिएको पाइन्छ ।

उनले भनेका पनि थिए “…… अघि श्री ५ महाराजा रामसाहबाट ढेरै तपस्या गरि श्रीदेवता सिद्धहेरु देषिन् वरदान पनि पाउनु भए छ. एक थिति बांधनु भय छ. वाहादेषिन् पछिका र हामि देषिन् अघिका हाम्रा पितापुरुषा राजाहेरुले ता तपस्या पनि केहि गर्न सक्यान छन्. थिति विति जस कीर्ति बढाउन पनि केही सक्यान छन्. श्रीमहाराजा रामसाह देषि सातौँ राजाका पालामा नेपाल भोग होला भनि वरदान भयाको रहेछ. तसर्थ हामिले पनि तपस्या गर्न सक्या. हाम्रा पालामा नेपालको भोग होला कि….. ।”

(योगी नरहरिनाथ, गोरखावंशावली काशी योग प्रचारिणी, २०२१ पृ. नं. ९५–९६) ।

धर्मले विश्वलाई अड्याएको छ । यो शिवशक्त्यात्मकं जगत् त्यसै भनिएको होइन । ब्रम्हाण्ड परमात्माको अनुकम्पाले मात्र अडिन्छ । पृथ्वीनारायण शाहले यसलाई आत्मसात् गरेका कारण नेपाल एकीकरणको जग बसाल्न सके । नेपालका केही इतिहासकारहरूले पृथ्वीनारायण शाह कर्मवीर थिए, धर्ममा उनको त्यति विश्वास थिएन भन्ने विचार व्यक्त गरेको पनि पाइन्छ ।
त्यसो होइन ।

गोरखाराजवंश शुरूदेखि नै कर्मको साथ धर्म, धर्मको साथ कर्म, धर्म र कर्मको साथ राजनैतिक षाड्गुण्य, सैन्य र अर्थ शक्तिको साथै आध्यात्मिक शक्तिमा पछिसम्म एकनाशको श्रद्धा र विश्वास गर्दथे । यसको उचित समायोजनको प्रतिफलस्वरूप पृथ्वीनारायणले नेपाललाई भौगोलिक, धार्मिक, सांस्कृतिक रूपमा पनि एकाकार गराए । उनको विजययात्रामा तन्त्र र साधनाको महत्वपूर्ण हात छ । तरबार र सैन्यबलको बारेमा इतिहासले जति प्रकाश पारेको छ तन्त्रशक्तिको भूमिकामाथि अनुसन्धान हुन उति नै आवश्यक छ । यसरी नेपाल एकीकरणको जगको आधार तन्त्रबल हो भन्न सकिन्छ ।