२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वासको मत पाएपछि हर्ष र गर्वको अनुभुति भएको छः प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले विश्वासको मत पाएपछि हर्ष र गर्वको अनुभुति भएको प्रतिक्रिया दिनुभएको छ ।

मंगलवार प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँलाई हर्ष र गर्वको अनुभुति भएको बताउनुभएको हो । उहाँले ठूलो जिम्मेवारी र चुनौति थपिएको महशुस गरेको पनि बताउनु भयो ।

उहाँले आफूलाई प्रमुख प्रतिपक्षि दल लगायतले पनि विश्वासको मत दिनाले सरकारले गरेका प्रतिवद्धताहरु पूरा गर्न ऊर्जा प्राप्त भएको पनि बताउनु भयो । सञ्चारकर्मीहरुको प्रतिप्रश्नको जवाफ दिँदै उहाँले आफूलाई प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेसको विश्वासको मत प्राप्त हुनुले दुईतिर खुट्टा हालेको रुपमा चित्रण गर्नु नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘हिजो तपाईहरुले मलाई यहीँ ठाउँमा सोध्नुभएको थियो भोलि के हुन्छ विश्वासको मत ? भन्नुहुन्थ्यो । मलाई सिङ्गै हाउसको समर्थन हुन्छ भनेको थिएँ मैले । त्यो त मैले अनुमानको आधारमा भनेको थिएँ । आज त्यो यथार्थमा परिणत भएको छ । मलाई निकै हर्ष र गर्वको अनुभुति भएको छ । साथसाथै निकै ठूलो जिम्मेवारी र चुनौति थपिएको पनि मैले महशुस गरेको छु ।

यो अपार विश्वास जो सदनबाट मलाई प्राप्त भएको छ । तपाईहरुले भनेजस्तो त्यस्तो कुनै दुईवटा खुट्टा, तीनवटा खुट्टा होइन यो । यो एउटा जिम्मेवारीको कुरा हो । यो एउटा चुनौतिको कुरा पनि हो । मैले जे प्रतिवद्धता व्यक्त गरेको छु, ति प्रतिवद्धता पूरा गर्ने एउटा ठूलो ऊर्जा पनि यसले दिएको छ । मलाई लाग्छ आउने दिनमा हामीले प्रश्तुत गरेका प्रतिवद्धता अनुसार कामहरु अगाडी बढ्ने छन् ।’

उहाँले सरकारले गरेका प्रतिवद्धता अनुसार कामहरु अगाडी बढाउने पनि स्पष्ट पार्नुभयो ।