सत्तारुढ दल नेपाली काँग्रेसले कोरोना विरुद्धको खोपमा कमी आउन नदिन सरकारको ध्यानाकर्षण गराएको छ । आईतबारबाट सुरु भएको राष्ट्रिय सभाको नवौं अधिवेशनको शुभारम्भमा बोल्दै नेपाली काँग्रेसका सांसद राधेश्याम अधिकारीले कोरोनाविरुद्धको खोपमा कमी आउन नदिन सरकारसँग आग्रह गर्नु भएको हो ।
त्यसै गरी उहाँले मनसुनी वर्षासँगै आएको बाढि, पहिरो र डुबान प्रभावितहरुका लागि तत्काल राहतको व्यवस्था गर्न पनि सरकारसँग अनुरोध गर्नु भयो । “सरकारले आउने दिनमा कोरोना विरुद्धको खोपमा कमी आउन दिने छैन । सरकारले आफ्नो लक्ष्य अनुसार नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई खोपको आवश्यक व्यवस्था गर्नेछ भन्ने विश्वास व्यक्त गर्दछु ।”
सांसद अधिकारीले मुलुकमा सुशासन र समृद्धि ल्याउने गरी कानुन निर्माण गर्नुपर्ने, सत्तापक्ष, प्रतिपक्ष सबै दलले हातेमालो गरेर आवश्यक्ता अनुसार संविधान संशोधन गर्दै लैजानुपर्नेमा पनि जोड दिनु भयो ।