• १३ असार २०८१, बिहीबार
  •      Thu Jun 27 2024
  •   Unicode
Logo
Latest
★   इंग्ल्याण्डलाई ६८ रनले हराउँदै भारत टी–२० विश्वकपको फाइनलमा ★   झापामा खोलाले बगाउँदा दुई बेपत्ता ★   नेपाल-भारतबीचको प्रगाढ सम्बन्ध कायमै राख्नुपर्नेमा जोड ★   घरजग्गा कारोबार गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य ★   चिनियाँसँग बिहे गराईदिने भन्दै चीन लगेर बन्धक, एक पक्राउ ★   प्रमिश ! मैले जीवनको परिभाषा जानिन ★   बालुवाटारमा प्रमुख तीन दलको बैठक जारी ★   नेपाल मेरा लागि दोस्रो घर हो: भारतीय अभिनेत्री जयप्रभा ★   सम्मानित नेता र वरिष्ठ उपाध्यक्षसहित २१ सदस्यीय पदाधिकारी बनाउने एकीकृत समाजवादीको निर्णय ★   लामखुट्टेलाई भगाउन घर वरिपरि रोप्नुहोस् यी बोटबिरुवा

निर्माण सुरु भएको साढे छ वर्षमा पनि सकिएन नख्खु–बुङमती सडक



काठमाडौँ । निर्माण सुरु भएको साढे छ वर्ष बित्दासमेत पाँच किमी लम्बाइको नख्खु–बुङमति सडक सम्पन्न हुन सकेको छैन ।

लामो समयसम्म सडक निर्माणस्थल (साइट) का कारण निर्माण रोकिएकामा पछिल्लो समय सडकमा रहेका संरचना हटाउन नसक्दा निर्माण सम्पन्न हुन नसकेको हो । पछिल्लो पटक चैतसम्मका लागि अवधि थप भएकाले त्यो अवधिमा सकाउनुपर्ने काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।

लामो समय सडक विस्तारका कारण अघि बढ्न नसकेको र पछिल्लो समयमा विभिन्न समस्या एकपछि अर्को आइरहेकाले निर्माणमा अवरोध पुगेको आयोजनाका सूचना अधिकारी महानन्द जोशीले बताउनुभयो । उहाँका अनुसार सो सडकमा बिजुलीका खम्बा अझै हटाउन सकिएको छैन भने खानेपानीका पाइप पनि फुटेर पटक पटक समस्या आइरहेको छ । उहाँले भन्नुभयो, “कालोपत्र गर्न ग्रेड मिलाउन लाग्दा खानेपानीको पाइप फुटिरहेको छ ।”

पहिले डिजाइनमा भएको भन्दा सडकमा विभिन्न कुरामा परिवर्तन गर्नुपरेकाले सडक विभागसँग स्विकृतिका लागि पठाइएको प्रवक्ता जोशीले बताउनुभयो । सडक निर्माणका क्रममा चौडाइ बढ्दा र घट्दा वा अरू कुरामा परिवर्तन हुँदा विभागले स्वीकृति दिएपछि काम गर्न सकिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “विभागबाट स्वीकृति दिएपछि मात्रै आयोजनाले भुक्तानी गर्न सक्नेछ ।”

बुङमतीसम्मको अन्तिम विन्दुतर्फ कालोपत्र भएको र बीचमा कतै मन्दिर कतै जग्गा उपलब्ध नहुँदा बनाउन नसकिएको उहाँले बताउनुभयो । नख्खु खोलाबाट अघि बढ्दा उकालोमा झन्डै आठ सय मिटरमा बढी समस्या रहेको छ । सो सडकको निर्माण दुई ठेक्कामार्फत अघि बढाइएको थियो । नख्खु खोलाबाट भैँसेपाटी तीन दशमलव ५२ किमी र भैँसेपाटी–बुङमती एक दशमलव ५५ किमी रहेको छ ।

उपत्यकामा विस्तारका क्रममा रहेका सडकमध्ये बढी चौडाइ कायम भएको सडकमा नख्खु–बुङमती सडक रहेको छ । अधिकांश स्थानमा चौडाइ २० मिटर कायम गर्न सकिएको र थोरै ठाउँमा मात्रै नसकिएको सूचना अधिकारी जोशीले बताउनुभयो । बीस मिटर चौडा गर्ने गरी सडक निर्माणको ठेक्का भएको थियो । सोअनुसार नै भएका ठाउँमा पैदलयात्रु मार्ग, पानी जाने ड्रेन बनाइएको र कम चौडाइ भएका ठाउँमा बनाउन नसकिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “खासगरी भित्री बस्ती रहेका ठाउँमा चाहेर पनि चौडाइ बढाउन सकिएको थिएन ।”

सडक निर्माणको काम विसं २०७३ असारदेखि सुरु भएको थियो । सडकको चौडाइ २० मिटर हुने र सडकमा वर्षाको पानी जाने पाइप, पैदलयात्रु मार्गलगायतका संरचना निर्माण गरिने ठेक्का सम्झौतामा उल्लेख थियो । आशिष बिरुवा सिएम जेभीले एउटा र पप्पु महालक्ष्मी वल्डवाइड जेभीले अर्को खण्ड निर्माण गर्ने गरी सम्झौता भएको थियो । रासस