२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुजिता भण्डारी मृत्यु प्रकरणः परिवारले शव बुझेपछि देवघाटमा अन्त्येष्टि गरियो



अ+ अ-

चितवन । असार ११ गते बिहानै घरबाट हराएकी सुजिता भण्डारी जंगलमा मृत भेटिएकी थिइन् । 

सोमबार शव बुझेर परिवारले देवघाटमा दाहसंस्कार गरेका छन् । अपहरणमा परेको भन्ने परिवारले दिएको सूचनाका आधारमा प्रहरीले सुजिताको खोजतलास गरिरहेको थियो । तर घरबाट निस्केको ९ दिनपछि असार २० गते आइतबार साँझ सुजिताको शव जंगलमा फेला परेको थियो ।

पूर्वी चितवन राप्ती नगरपालिका–३ प्रगति टोलकी २३ वर्षीया सुजिताको हत्या भएको भन्दै परिवारले प्रहरीले तदारुकताका साथ खोजतलास नगरेको  भन्दै दोषी गिरफ्तार नहुँदासम्म शव नबुझ्ने अडान लिएका थिए । 

शनिबार प्रशासन र परिवारका सदस्यबीच यो विषयमा छलफल भएको थियो ।

सुजिताको असार २२ गते काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम भएको थियो । शरीरमा ज्यानै जाने घाउ चोटहरु नदेखिएपछि चिकित्सकले भिसेरा परीक्षणका लागि नमुना पठाएका हुन् । प्रहरी त्यही भिसेराको रिपोर्टको प्रतिक्षामा रहेको छ । अनुसन्धानको नतिजा र भिसेरा परीक्षण प्रतिवेदनलाई आधार मानेर घटनाको विवरण सार्वजनिक गर्ने प्रहरीको योजना छ ।