सुदूरपश्चिम । केही दिनदेखि कैलाली, कञ्चनपुरसहितका तराईका जिल्लामा बाक्लो कुहिरो र हुस्सुसँगै चलेको शीतलहरले जनजीवन कष्टकर बनेको छ ।
दिनभरि लाग्ने बाक्लो हुस्सु र कुहिरोसँगै चलेको शीतलहरले जाडो बढेपछि जनजीवन कष्टकर बनेको हो । कैलाली, कञ्चनपुरसहितका जिल्लामा लगातारको हुस्सुका कारण पछिल्ला दिनमा घाम झुल्किन नपाएर दिउँसै अँध्यारोजस्तो भइरहेको छ ।
कठ्याङ्ग्रिने जाडोको सामना गरिरहेका सर्वसाधारणलाई न्यानो कपडा र आगो ताप्न दाउराको समस्या भइरहेको छ । सहरी क्षेत्रका कतिपय सार्वजनिक चोकमा दाउराको विकल्पमा काम नलाग्ने पुराना टायर र प्लाष्टिक बालेर सर्वसाधारणले आगो ताप्नुपर्ने बाध्यता छ । धनगढी उपमहानगरपालिकाका–१३ वडा कार्यालयले वडाका ज्येष्ठ नागरिकलाई न्यानो कपडा कम्बल वितरण गरिरहेको छ ।
यस वर्ष विगतका वर्षको तुलनामा केही दिन ढिलोगरी चलेको शीतलहरले बढेको जाडोका कारण मजदुर, स्कुले बालबालिका, वृद्धवृद्धालाई बढी असर पारेको छ । धेरै विद्यालयले जाडोको बिदा दिए पनि कतिपय निजी विद्यालयले बालबालिकाको स्वास्थ्यमा चिसोका कारण पर्नसक्ने जोखिमको बेवास्ता गरेर अझै बिदा दिएका छैनन् ।
“पठनपाठनलाई नियमित बनाउने निजी विद्यालयबीचको अस्वस्थ प्रतिस्पर्धाले प्रतिकूल मौसममा पनि बिदा नदिने प्रवृत्ति देखिएको छ, चिसोले सबैभन्दा बढी साना बालबालिकालाई असर पुगिरहेको छ”, एक शिक्षकले भन्नुभयो । तराईका जिल्लामा देखिने शीतलहरको समस्याले बर्सेनि जनजीवन नराम्रोसँग प्रभावित हुने गर्छ ।
पहाडी क्षेत्रका जिल्लामा पारिलो घाम लाग्दा यतिबेला तराईका जिल्ला कुहिरो र हुस्सुले ढाकेको छ । घाम झुल्किन नपाउँदा सर्वसाधारणलाई बिस्कुन सुकाउन र धोएका लुगा सुकाउनसमेत समस्या भइरहेको छ । निरन्तरको हुस्सु र कुहिराका कारण ‘भिजिविलिटी’ कम हुँदा केही दिनदेखि काठमाडौँ–धनगढीको हवाई उडान प्रभावित भइरहेको छ । दुई दिनअघि काठमाडौँबाट धनगढी उडान भरेको श्री एयरलाइन्स धावनमार्गमा अवतरण गर्न नसकी काठमाडौँ फर्किएको थियो ।
लामो समयसम्म हुने शीतलहरका कारण देखिने डढुवा रोगले आलु, गोलभेँडा, तोरीलगायतका बाली नष्ट हुने समस्या किसानका लागि स्थायी समस्या भइसकेको छ । त्यसका कारण डढुवा रोगको प्रकोपबाट यी बाली जोगाउन तराईका किसानलाई मुश्किल हुने गरेको छ ।
यो रोगबाट जोगाउन कतिपय किसानले ‘टनेल’ (पारदर्शी प्लाष्टिको छानासहितको टहरो) बनाएर त्यसमुनि गोलभेँडालगायतका तरकारी बालीको खेती गर्ने गरेका पनि छन् । टनेलको व्यवस्थापन गर्न नसक्ने कतिपयले विषादी पनि छर्किने गरेका छन् ।
यस्तो विषादी प्रत्येक सात÷आठ दिनको फरकमा छर्किनसकेमा मात्र बाली जोगाउन सकिने सल्लाह कृषि प्राविधिकले दिने गरेका छन् । कमजोर आर्थिक अवस्था भएका किसानलाई पटकपटक विषादी किनेर छर्किन सक्ने क्षमता नहुँदा उनीहरुलाई बाली जोगाउनै मुश्किल छ । पटकपटक विषादी छर्किंदा उत्पादन लागत धेरै पर्ने गरेको गुनासो किसानको छ ।
रातिको तापक्रम तीन डिग्री सेल्सियसभन्दा तल जाने र आद्रता बढ्न गई शीत पर्ने तथा चिसो मौसमको सुसुप्त अवस्थामा रहने ढुसी सक्रिय भई आलु, गोलभेँडालगायतका बोटमा डढुवाको सङ्क्रमण देखिने गरेको कृषि प्रविधिकको भनाइ छ ।
लामो समयसम्म हुस्सु र कुहिरो लागेर धेरै चिसो मौसम भइरहँदा ओसिलो जग्गामा गरिएको आलु, गोलभेँडालगायतका बालीमा डढुवा सङ्क्रमणको समस्या हुने गरेको कृषि ज्ञानकेन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्मा बताउनुहुन्छ । ढुसीनाशक विषादी छर्केर बाली बचाउन सकिने सल्लाह प्राविधिकको छ । यसका लागि क्रिनोसिल गोल्ड, मेटाल्याक्जेल, एक्रोप्याट वा सेन्टिन नामको ढुसीनाशक विषादी प्रतिलिटर पानीमा डेढ ग्राम मिसाएर बनाइएको झोल एक हप्ताको फरकमा छर्किन सकेमा यो रोगबाट बाली बचाउन सकिने शर्मा बताउनुहुन्छ ।
रोग लाग्ने सम्भावना देखिएमा भने बोटमा तोकिएको मात्रामा मेन्कोजे पाउडर पानीमा घोलर छर्किंदा डढुवाको सङ्क्रमणबाट बाली जोगाउन सकिने बताइएको छ । पछिल्ला दशकमा हिउँदे याममा डढुवा रोगको समस्या बढ्दै जाँदा कैलाली र कञ्चनपुरका ठूलो क्षेत्रफलमा गरिने तोरी बालीको क्षेत्रफल पनि घट्दै गएको छ । कैलालीको गोदावरी नगरपालिकाका किसान दुर्गा भट्टले बर्सेनि हुने डडुवा रोगकै समस्याका कारण तोरी खेती गर्न छाड्नुभएको छ ।
“अढाइ दशकअघिसम्म आफ्नो पूरै खेतमा तोरी लगाउँथ्यौँ”, उहाँले भन्नुभयो, “त्यसपछिका वर्षमा भने डढुवा रोगको प्रकोप देखिँदा यो बाली लगाउन छाड्नुप¥यो ।” अढाइ दशकयतादेखि हिउँदे याममा विभिन्न बालीमा डढुवा रोगको समस्या देखिन थालेको उहाँको अनुभव छ । तोरीलगायतका बालीको विकल्पमा पछिल्ला वर्षमा धेरै किसानले धान र गहुँखेती गरेर चित्त बुझाइरहेको उहाँले बताउनुभयो ।
कृषि ज्ञान केन्द्रका प्रमुख शर्मा तोरी बालीको क्षेत्रफल पहिलेको तुलनामा घट्नुमा मौसममा आएको परिवर्तनसँगै देखिने डढुवा रोगको समस्या पनि कारण रहेको स्वीकार्नुहुन्छ । अहिलेको चिसो मौसममा सकभर एउटै कोठामा धेरै व्यक्ति नबस्न, चिसोबाट जोगिने उपाय अपनाउन र खाने कुरामा पनि ध्यान दिनुपर्ने सल्लाह चिकित्सकको छ । पछिल्लो हप्तामा यस क्षेत्रमा न्यूनतम तापक्रम निरन्तर घट्दै गएको जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित महाकाली बेसिन फिल्ड कार्यालयले जनाएको छ । रासस