२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वको सबैभन्दा उचाइमा ‘माउण्ट एभरेष्ट फेशन रनवे’ हुने



अ+ अ-

काठमाडौं । विश्वको सबैभन्दा उचाइमा ‘माउण्ट एभरेष्ट फेशन रनवे’ को दोस्रो संस्करण आयोजना हुने भएको छ ।  नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा विश्वकै अग्लो सगरमाथा कालापत्थर क्षेत्रमा आयोजना हुने भएको हो ।

 ‘फेशन रन वे’को पहिलो संस्करण गत वर्ष २०७६ पुस-माघमा आयोजना भएको थियो । जुन कार्यक्रमले गिनिज बुक अफ वल्र्ड रेकर्डबाट विश्व कीर्तिमानको उपाधि प्राप्त गरेको थियो ।

यस वर्ष पनि कार्यक्रमलाई गिनिज बुक अफ वल्र्ड रेकर्डमा रेकर्ड गराउने आयोजकको योजना छ । सो कार्यक्रमका दुई सय जनाले समेत व्यक्तिगत रुपमा वल्र्ड रेकर्ड दर्ता गराउने छन् । नेपालसहित विश्वका विभिन्न देशका सेलिब्रेटी मोडल असोज ६ गते (२२ सेप्टेम्बर)मा सहभागी हुने भएको छ । उक्त शो को कार्यक्रम आयोजना के फिल्मस् र एमई टू फिल्मस्को सहकार्यममा हुने आयोजकले जानकारी दिनुभएको छ। 

सोमबार काठमाडौंमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा पर्यटन बोर्डका कार्यकारी प्रमुख (सिईओ) डा. धनन्जय रेग्मीले यो कार्यक्रमले नेपालको पर्यटनमा नयाँ आयाम थप्ने बताउनुभयो ।

उहाँले विश्वसमुदायले नेपाललाई मौसमी (सिजनल) पर्यटकीय गन्तव्यका रूपमा बुझ्ने गरेको भन्दै असोजमा आयोजना गरिने यो कार्यक्रमले नेपाल सबै उमेर समुह र सबै सिजनको पर्यटकीय गन्तव्य हो भन्ने सन्देश दिने बताउनु भएको छ ।

फेशन डिजाइनर रमिला नेम्कुलले यो कार्यक्रममा नेपालका मौलिक पहिरनहरुलाई आवश्यक्ता अनुसार परिमार्जन गरि प्रस्तुत गरिने बताउनु भएको छ ।

त्यस्तै कार्यक्रममा ग्लोबल आइएमई बैंकका सिईओ रत्नराज बज्राचार्यले यस प्रकारका कार्यक्रमले नेपालको पर्यटनलाई अन्तरराष्ट्रिय समुदायमा परिचित गराउन थप सहयोग पुग्ने बताउनुभयो । 

आयोजकको अनुसार सो कार्यक्रममा स्वास्थ्य मापदण्डको पालना गरि अन्तरराष्ट्रिय सेलिब्रेटीलाई पनि नेपाल ल्याइने भएको छ । भारतका एमई टू फिल्म्सका सञ्चालक तथा रियालिटि शो निर्देशक श्रुति आनन्दिता वर्मा र अमिताभ एस वर्माले कार्यक्रमको निर्देशन गर्ने बताइएको छ ।