५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ,सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सप्तरीका ६ सय घर डुबानमा



अ+ अ-

सप्तरी, धनुषा । लगातारको वर्षाले खोलाहरूमा बाढी आउँदा मंगलबार सप्तरीका आधा दर्जन पालिकाका बस्ती जलमग्न भएका छन् । त्रियुगा नदीसँगै सहायक खोलानालामा आएको बाढी चन्द्रनहरको बाँध भत्काएर आसपासको बस्तीमा पसेको हो । सप्तकोसी, कञ्चनरूप, तिरहुत र महादेवाका विभिन्न भागमा बाढी पस्दा करिब ६ सय घर डुबानमा परेका छन् । 

उता धनुषामा कमला नदीमा आएको बाढीले बाँध लगातार कटान भइरहेको छ । बाँध भत्किए बाढी धनुषाको पूर्वीक्षेत्रका बस्तीमा पस्ने जोखिम बढेको छ । बाँध जोगाउन सेना, सशस्त्र प्रहरीसँगै स्थानीय बासिन्दा मिलेर काम गरिरहेका छन् ।

सप्तरीको अमहा, टेंग्रालगायतका खोलाको बाढी बस्तीमा पस्दा सप्तकोसी नगरपालिकाका करिब ३ सय घर डुबानमा परेका छन् । नगरप्रमुख उत्तम गौतमका अनुसार १, २, ४ र ११ नम्बर वडाका बस्ती जलमग्न भएका हुन् । ३ फिटसम्म पानी बगिरहेको उनले बताए । जिता नदीको पानी सप्तरीकै तिलाठी कोइलाडी–७ मंसापुर र वडा ५ को बरसाइनका केही घरमा पसेको छ । तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतीशकुमार सिंहका अनुसार करिब २ सय ७५ घर डुबानमा परेका छन् । वर्षाको पानीले निकास नपाउँदा वडा ८ को तोपामा २५ घर डुबानको चपेटमा परेका छन् ।

चन्द्रनहर मुलुककै पहिलो सिँचाइ आयोजना हो । यो सिँचाइ प्रणालीको मूल नहर मंगलबार ५ ठाउँमा भत्किएको छ । अविरल वर्षाका कारण त्रियुगा, अमहा, महुली, टेंग्रा र सुन्दरीलगायतका नदीमा आएको बाढीले चन्द्रनहरको मूल नहर भत्किएको हो । सप्तकोसी नगरपालिका–४ मा नहरको दायाँ डिल भत्किएको कोसी पम्प चन्द्रनहर सिँचाइ डिभिजन कार्यालयका प्रमुख राजेन्द्र साहले बताए । ‘२५ मिटर लामो र १२ मिटर चौडाइमा नहरको डिल भत्किएको छ,’ उनले भने । यसैगरी कञ्चनरूप नगरपालिका–३ सुबाटोलस्थित नहरको दायाँ डिल ३५ मिटर भत्किएको छ ।

कमला नदीको बाढी धनुषाका बस्तीहरूमा पस्ने जोखिम बढेपछि मंगलबार सबैला–१३ किरतपरमा कटान रोकथाम गरिँदै। तस्बिर स् सन्तोष सिंहरकान्तिपुर

तिरहुत गाउँपालिकामा पर्ने मयनाकरेडीमा नहरको दायाँतर्फ १० मिटर र बायाँतर्फ २५ मिटर डिल भत्किएको छ भने महादेवा गाउँपालिका–१ र बन्द्रा खोला नहर प्रणालीमा पनि कटान भएको छ । निरन्तरको वर्षाले नदीमा बाढी आउँदा नहरका संरचना क्षतिग्रस्त भएको डिभिजन प्रमुख साहले बताए ।

त्रियुगा नदीको पानी ल्याइएको चन्द्रनहरले सप्तरीका विभिन्न भागमा सिँचाइ सुविधा पुर्‍याएको छ । नहर विभिन्न ठाउँमा बाढीले भत्काएपछि फत्तेपुरस्थित हेडवर्क्सबाट निकासी बन्द गरिएको थियो । तर पानी ओभरफ्लो भई नहर भत्काउँदै बस्ती र खेतीयोग्य जमिनमा पसेको हो । श्री ३ चन्द्रशमशेरको पालामा देशकै पहिलो सिँचाइ प्रणालीको रूपमा सिभिल इन्जिनियर डिल्लीजंग थापाले नहर डिजाइन गरेका हुन् । वि.सं. १९८५ मा सुरु भएर पाँच वर्षमा निर्माण पूरा भएको उक्त नहर हालसम्म प्रयोगमा छ । १० हजार ५ सय हेक्टर जग्गामा सिँचाइ हुने भनिएको नहर बर्सेनि क्षतिग्रस्त हुँदै गएको छ ।

उता कमला नदीमा आएको बाढीले धनुषाको सबैला नगरपालिका–१३ किरतपुरमा २ सय ७० मिटर बाँध कटान गरेको छ । बाढीले बाँध कटान गरिरहेकाले पानी बस्तीमा पस्ने जोखिम रहेको कमला नदी नियन्त्रण आयोजनाका इन्जिनियर गुद्री यादवले बताए । ‘कमलाको बाढीले ठाउँ–ठाउँमा ६ सय मिटर बाँध कटान गरेको छ,’ उनले भने, ‘किरतपुरमा बाढी बस्तीमा पस्नै लागेको छ । बाँधको ८० प्रतिशतभन्दा बढी भाग बाढीले बगाएको छ । कटान रोकथामको प्रयास भइरहेको छ ।’ कमलाको कटान रोक्न दिनभर सुरक्षाकर्मी र स्थानीयले प्रयास गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले बताए । कान्तिपुर दैनिक