३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar सङ्घर्षका सात वर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट

‘संस्कार र संस्कृति जोगाउन महिलाको जिम्मेवारी बढी’

‘संस्कार र संस्कृति जोगाउन महिलाको जिम्मेवारी बढी’
अ+ अ-

बझाङ । खप्तडछान्ना गाउँपालिका–४ की बासमती खत्री पालिकामा हुने मनोरञ्जन तथा सांस्कृतिक कार्यक्रममा अग्रभाग देखिनुहुन्छ । गाउँघरमा हुने मेलामा देउडा, विवाह, गौरा तथा पूजापाठमा गाउने माङ्गल, देउसी, भैली, गौरा पर्वमा हुने हरेक कार्यक्रम उहाँको प्राथमिकतामै पर्छन् ।

पछिल्लो साता उहाँ भुवा चाल केन्द्रित हुनुहुन्छ । पुस्तौँ पुरानो पर्वलाई जोगाउनका लागि गत साता गाउँमा भुवा सुरू गरेपछि गाउँघरकी महिलालाई जम्मा पारेर हातमा ढाल तरबार बोक्दै भुवा खेल्न थाल्नुभयो । शिक्षण पेसामा आवद्ध उहाँ करिब एक दशकयता स्थानीयस्तरमा मौलिक पर्व जोगाउने अभियानमा हुनुहुन्छ । उहाँ विद्यालयमा पनि बालबालिकालाई स्थानीय भाषा, संस्कृति, संस्कार जोगाउने कुरामा जोड दिनुहुन्छ ।

गत सातायता खत्रीवाडा, बासकाटियाँ, माझिगाउँलगायतका गाउँका महिलाको समूहले पाण्डवको विजयोत्सव आफूले पनि मनाउनुपर्ने भन्दै भुवा खेल्न थालेका हुन् । “प्राचीनकालीन युद्धमा पनि एक्लैले लडेर पनि सम्भव भएन होला”, उहाँले भन्नुभयो, “पाण्डव र कौरवको लडाइँमा पनि भित्री हात महिलाकै थियो । त्यो बेलाको युद्धमा महिलाले साथ दिन हुने तर अहिले पाण्डवको विजयोत्सवमा महिला किन नहुने भन्दै हामी पनि भुवा चालमा सहभागी भएका हौँ ।”

द्वापरगुगमा पाण्डव र कौरवको लडाइँपश्चात पाण्डवको विजयीपछि मनाउने पर्वमा भुवामा पुरूषले मात्रै भुवो खेल्दै आएका थिए । सिन्धुघाँटीको सभ्यतादेखि फैलिँदै आएको हिन्दू समुदायमा पुरूषलाई फरक क्षमता भएको देखाउन पनि समुदायले महिलालाई बन्देज गरेको थियो । “थाहा पाउने उमेरदेखि नै आफ्नो रहरलाई थन्क्याउँदै पुरूषले खेलेको भुवोमा रमाउँदै आएका थियौँ”, स्थानीय धनलक्ष्मी खत्रीले भन्नुभयो, “अब समय फेरिएको छ । महिलालाई फरक तरिकाले हेर्ने नजर बदलिँदै गएका छन् । संस्कार, संस्कृति, परम्परालाई जोगाउन पुरूषभन्दा महिलाको जिम्मेवारी बढी हुँदै गएको महसुस पनि भइरहेको छ ।”

उहाँका अनुसार अहिले धेरै गाउँहरू पुरुषविहीनजस्तै छन् । “परदेशमा जाने पुरुषको सङ्ख्या बढी छ । गाउँघरमा जन्तीदेखि मलामी नपाउने अवस्था भइसक्यो । बालबालिका, वृद्ध र महिलाको सङ्ख्या मात्रै गाउँमा छ । अब पुरुषले गर्ने हरेक काम महिलाले गर्नुपर्ने बाध्यात्मक परिस्थिति नै आइसक्यो”, उहाँले भन्नुभयो ।

खप्तडछान्ना –४ की सरस्वती रोकायाका अनुसार समाज परिवर्तन आफैँबाट सुरू गर्नुपर्छ । “महिलाहरू चुलोचौकामा मात्रै सीमित होइन, हरेक गतिविधिमा अगाडि सर्नुपर्छ”, उहाँले भन्नुभयो, “हरेक पर्वहरू हेर्ने हो भने पनि महिलाबिना शोभा नै देखिँदैन । त्यसैले घरदेखि चुलोचौकासम्म नै महिलाको उपस्थिति अति आवश्यक छ ।” पर्वहरूमा सामेल गराएजस्तै अन्य ठाउँमा पनि महिलालाई सहभागिता गराउनुपर्ने उहाँले बताउनुभयो ।

“देउता रिसाउने भन्दै महिलाले चाहेर पनि भुवा खेल्न पाएका थिएनन्”, खप्तडछान्ना गाउँपालिका–४ का पुष्पराज रोकायाले भन्नुभयो, “अहिलेको पिँढी महिलालाई कुनै ठाउँमा पनि बन्देज गर्नुहुँदैन भन्ने पक्षमा छ । त्यसैले यस पर्वमा पनि महिलाई सहभागी गराइएको हो ।” उहाँका अनुसार राज्यले पनि महिला भन्दैमा आरक्षण कोटामा खुम्च्याउनु हुँदैन । प्रतिस्पर्धामा जाने हो भने महिला कुनै कुरामा पनि कम नहुने उहाँले बताउनुभयो । “अहिले खप्तडछान्नामा महिलाले खेलेको भुवाको आकर्षण नै बेग्लै छ”, उहाँले भन्नुभयो, “ढाल तरबार छुनै नपाउने महिलाहरू पहिलो दिन अनुभव गर्दै दोस्रो दिनदेखि मौलिक पोशाकमा सजिएका महिलाको भुवानाच कुनै पुरुषको भन्दा कम थिएन ।”

भुवापर्व लयात्मक शैलीमा भट्याउँदै ढाल तरबारले चालमा नाच्ने पर्व हो । पाण्डवहरू वनबास भएको बेला भेष बदलेर हिमालय पर्वतदेखि भारत वर्षका विभिन्न ठाउँमा घुमेको र त्यहाँ विकास निर्माणका काम गर्नका लागि स्थानीयवासीको सहभागिता जुटाएको भन्ने किंवदन्ती छ । त्यसैअनुसार विभिन्न गाउँमा भुवापर्वको आयोजना गरी युद्धाभ्यास गराएको कथा पनि यस नाचमा प्रस्तुत गर्ने गरिन्छ ।

हरेक गाउँमा मनाइने भुवापर्वको समयमा केही घटना घटे वा त्यस समयमा परिवारमा कसैको ज्यान गए सो समुदायले आफूलाई अशुभ हुने जनाउँदै मनाउन छाडेको स्थानीय माधव जोशीले बताउनुभयो ।