२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेजाको अधिवेशन शनिवार भर्जिनियामा हुने



अ+ अ-

भर्जिनिया । नेपाल अमेरिका पत्रकार संघ नेजाको सातौं अधिवेशन तथा १४ औं साधारण सभाको तयारी पूरा भएको छ । भर्जिनियामा आगामी शनिवार र आईतवार हुन लागेको साधारण सभामा भाग लिन नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेल आउने भएका छन् । 

नेजा आयोजक समितिका संयोजक एवं डिसी मेट्रो एरियाकी क्षेत्रीय संयोजक लिला देवी ओझाका अनुसार करिव ८० जति पत्रकारहरु सहभागीताको लागि जम्मा हुनेछन् । ओझाले साधारण सभाको तयारी पुरा भएको जानकारी दिदै भनिन शनिवार उदघाटन सत्र र आईतवारलाई वन्द  सत्र तोकिएको छ । वन्द सत्र पश्चात नयाँ कार्यसमितिको चयन हुने कार्यतालिका समेत रहेको छ ।

नेजाको उदघाटन सत्रमा अमेरिकाका लागि नेपालका राजदूत डा।युवराज खतिवडा, मेरिल्याण्ड जनरल एसेम्वलीका डेलिगेट हयारी भण्डारी लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी दिइएको छ । 

 निर्वाचनको लागि नेजाका पूर्व अध्यक्ष आङ्गछिरिङ्ग शेर्पा अध्यक्ष रहेको निर्वाचन समिति गठन गरिएको छ । यस पटक नेजाको अधिवेशनमा विगतमा जस्तै सर्वसम्मत कार्यसमिति गठन हुने अपेक्षा गरिएको छ । 

अध्यक्षका प्रवल दावेदार तथा वर्तमान कार्यसमितिका कार्यवाहक अध्यक्ष विकासराज न्यौपानेले प्रवासी भूमिमा क्रियाशील पत्रकारहरुले समाजलाई उत्प्रेरणा दिने खालको समाचार दिदै आएको वताए । उनले अगाडि थपे – नेजा अमेरिकामा रहेका पत्रकारहरुको आपसी भाईचारा र सहकार्यका लागि एक उपयुक्त थलोको रुपमा सञ्चालनमा आएको संस्था हो । 

अधिवेशन सम्पन्न गर्नको लागि विभिन्न सात उपसमिति समेत गठन गरिएको छ । जसमा अतिथि सत्कार समिति, होटल व्यवस्थापन समिति, रजिष्ट्रेशन समिति ,आर्थिक परिचालन समिति,कार्यक्रम सल्लाह सुझाव समिति रहेका छन । यी समितिहरुमा कार्यसमितिका पदाधिकारीहरु, पूर्व अध्यक्षहरु , कार्यसमितिका पूर्व पदाधिकारीहरु समेत रहेका छन् । आयोजक समितिमा संयोजक लिला देवी ओझा रहेकी  छन  भने विभिन्न कमिटीहरुमा गिरीश पोख्रेल, तारा वराल,आङ्गछिरिङ्ग शेर्पा,गौतम दाहाल,विकास राज न्यौपाने, मधुकर अधिकारी , लेखनाथ भण्डारी , भोला आचार्य ,रामप्रसाद खनाल,निदेश अधिकारी,रामचन्द्र भट्ट, किरण मरहटटा,वावुराम खरेल,सम्झना नेपाल पोख्रेल,मच्छेदेवी  गुरुङ्ग, प्रतिमा वाँस्कोटा,शेर केसी, सुरज भण्डारी,गोकुल ढकाल,दिनेश कार्की, अग्नि चौलागाई,कल्पना घिमिरे, ज्योति देवकोटा रहेका छन् ।  

नेपालमा रहेर विभिन्न सञ्चारमाध्यममा काम गरेका र अमेरिकामा नै विभिन्न तरिकाले सञ्चालन गरिएका मिडियामा कार्यरत १३९ जना सदस्य रहेको नेजाको स्थापना सन् २००७ सालमा भएको हो । नेजाको स्थापनका कालमा अध्यक्ष गिरीश पोख्रेल रहेका थिए । 

नेपालमा पत्रकार महासंघसँगको सहकार्यमा नेजाले विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दे आएको छ । महासंघको अनुरोधमा समस्यामा परेका पत्रकारहरु तथा कडा प्रकृतिको रोग लागेका पत्रकारहरुको उपचारको लागि समेत नेजाले आर्थिक सहयोग गर्दे आएको छ ।