३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड

बाख्रापालनबाट जीविकोपार्जन गर्दै पाल्पाका किसान

बाख्रापालनबाट जीविकोपार्जन गर्दै पाल्पाका किसान
अ+ अ-

रामपुर । ‘बाख्रा पाल्छु राम्रै छ बजार, दुईवटा बोका बेच्यो कि तीस हजार चिन्ता छैन केही… ’ गायक पशुपति शर्माको यो गीत नारायण भण्डारीको जीवनमा पनि मेल खान पुगेको छ । एउटै खसी ३२ किलोसम्म उत्पादन गरी बजारमा बिक्री गरेपछि उहाँको खुसीको सीमा छैन ।

छोटो समयमै बाख्रापालन व्यावसायबाट अहिले मनग्य कमाई हुन थालेपछि भण्डारी यस व्यवसायमा उत्साहित हँुदै लाग्नुभएको छ । निर्मल पशुपक्षी कृषि फार्म दर्ता गरी रामपुर नगरपालिका–५ स्थित राङभाङमा एक वर्षअघिदेखि व्यावसायिक तवरबाट उहाँले बाख्रापालन गरिरहनुभएको छ ।

विभिन्न क्षेत्रको अनुभव बटुल्नुभएका भण्डारीले परिवारको आयआर्जनको दरिलो स्रोतका रूपमा बाख्रापालन व्यवसायलाई अँगाल्नुभएको छ । उहाँको फार्ममा हाल ५९ बाख्रामध्ये २७ माउ र अन्य साना पाठापाठी छन् । एक वर्ष पूरा नहुँदै बाख्रापालनबाट मनग्य कमाइ हुन थालेपछि व्यवसायलाई बर्सेनि विस्तार गर्दै लैजाने भण्डारी बताउनुहुन्छ ।

“बाख्रापालनबाट राम्रै कमाइ गर्न सकिने रहेछ, नौ महिनामै नौवटा पाठा बिक्री गरी रु दुई लाख ५० हजार कमाउन सफल भएको छु”, उहाँले भन्नुभयो, “परिवारसँग बसेर स्वतन्त्ररूपमा व्यवसाय गर्न पाइएको छ, बाहिरको तनाव छैन, यसमै खुसी छु ।”

भण्डारीको दुईवटा माउ बाख्राबाट सुरु भएको व्यवसाय अहिले यस क्षेत्रकै नमूना बाख्रापालन व्यवसायका रूपमा चिनिन पुगेको छ । स्थानीय वयर क्रस, जनुनापारी, खरी जातका बाख्रा फार्ममा छन् । बीउ उत्पादनका लागि बोयर जातका दुईवटा बोका पाल्नुभएको छ । चार किलो दुई सय ग्रामसम्मको पाठापाठी जन्मिने गरेको भण्डारीले बताउनुभयो ।

आफ्नै एक रोपनी जग्गामा पक्की खोर र घाँसपात खाने संरचना तयार पारिएको छ । करिब एक सय २० बाख्रा अट्ने क्षमताको खोर तयार पारिएको छ । माउ, पाठापाठी र भर्खरै ब्याएका बाख्रालाई फरक–फरक खोरमा राख्ने गरिन्छ । राम्रो स्याहारसुसार घाँसपास खुवाएमा एक वर्षमा ४५ किलोसम्मको खसीबाख्रा उत्पादन हुने उहाँको अनुभव छ । खोर निर्माणमा रु २५ लाख र बाख्रा खरिदमा रु १० लाख गरी करिब रु ३५ लाखको लगानीमा भण्डारीले व्यावसाय सञ्चालन गर्नुभएको छ ।

घाँसपातको आपूर्ति व्यवस्थापन गर्न १३ रोपनी जग्गा भाडामा लिएर सुपरनेपिएर, वर्षिमलगायत जातका उहाँले उन्नत घाँस लगाउनुभएको छ । अहिले फार्ममा सात पाठा बिक्रीका लागि तयार भएका छन् । बाख्राको स्याहारसुसार र रेखदेखमै दिन बित्ने गरेको भण्डारीले बताउनुभयो ।

उहाँ भन्नुुहुन्छ, “अहिले बजारमा मागअनुसार खसी पु¥याउन सकिएको छैन, बजार मूल्य राम्रो भएपछि व्यवसायीलाई बाख्रापालनमा भ्याइनभ्याइ छ, दिनमा दुई/चार घण्टा खटेर वर्षमा लाखौँ कमाउन सकिन्छ ।”

अहिले यहाँको बजारमा खसीको मासु प्रतिकिलो रु पाँच सय ५० मा बिक्री भइरहेको छ । लामो समयसम्म टिकाउ रहने खालको बलियो संरचना तयार पारेर व्यवसायमा लाग्नुभएका उहाँले एक सय माउ बाख्रा पाल्ने लक्ष्य राख्नुभएको छ । यस व्यवसायबाट वार्षिकरूपमा खर्च कटाएर रु पाँच लाख बराबरको कमाइ गर्ने भण्डारीको लक्ष्य छ । अहिलेसम्म अनुदान कार्यक्रम कहीँकतैबाट प्राप्त गर्नुभएको छैन । अनुदानका लागि भने लुम्बिनी प्रदेश सरकारसँग कुरा भइरहेको भण्डारीको भनाइ छ ।

रोजगारका लागि विभिन्न क्षेत्रमा पुग्नुभएका भण्डारीले जीवनमा धेरै दुःख भोगाइपश्चात अन्ततः गाउँमै बसेर अहिले बाख्रापालनमा जोड दिनुभएको छ । साउदी अरबमा दुई वर्ष र भारतमा १३ वर्ष काम गरेर फर्कनुभएका भण्डारीले स्वदेशमै केही गरे हुन्छ कि भन्ने मनसाय बोकेर छ वर्षसम्म रामपुर तानसेन क्षेत्रमा सवारीचालक भएर पनि काम गर्नुभयो । उहाँले धेरै क्षेत्रको अनुभवले दिगो र भरपर्दो आम्दानीका लागि बाख्रापालनको थालनी गर्नुभयो ।

बाख्रा उत्पादन बढ्दै जाँदा उहाँलाई एकछिन पनि व्यवसाय छोड्न मन छैन । बाख्रापालन थालनी गरेपछि आनन्दसँग परिवारका साथ जीवन ब्यतित भइरहेको उहाँ बताउनुहुन्छ । भण्डारीलाई यस व्यवसायमा श्रीमती भगवतीको राम्रो साथ छ । हिजो कमाइ नहँुदा टाढिएका आफन्त, परिवार, छरछिमेक, साथीभाइ अहिले बाख्रापालनबाट राम्रो हुन थालेपछि नजिकिन थालेको भगवतीले अनुभव सुनाउनुभयो ।

“परिवारको आयस्रोत नहुँदा गाउँमा सबैबाट हेपिनुप¥यो, अहिले आफैँले कमाउन सक्ने भइयो, कमाउन सकियो भने सबै नजिकका हुने रहेछन् भन्ने अनुभूति भएको छ, पाँच/सात महिना पालेपछि पाठा बिक्री गर्न लायकका हुन्छन्, बाख्रापालनमा दिन बितेको पत्तो हुनै छाड्यो”, भगवतीले भन्नुभयो ।

बाख्रापालनबाट भण्डारीको परिवारलाई खुसी दिलाएको छ । बाख्रापालन क्षेत्रमा भण्डारी दम्पती यतिबेला समाजमा उदाहरणीय पात्रका रूपमा कहलिनुभएको छ । बाख्राको आहार व्यवस्थापनलाई मध्यनजर गर्दै घरमै राइस मिलसमेत सञ्चालन गरिरहनुभएको छ ।

पाल्पामा पछिल्लो समय व्यावसायिक बाख्रापालनमा युवाको मोह बढ्दो छ । गाउँमा रहेका खाली जग्गा सदुपयोग गर्दै विदेशबाट गाउँ फर्केका युवा यस व्यवसायमा संलग्न हुँदैगएका छन् । दिगोरूपमा व्यवसाय गर्ने सोंचका साथका उन्नत जातका बाख्रापालनलाई युवाले जोड दिएका छन् । बजारमा खसीबोकाको माग र मूल्य अत्यधिक हुँदा व्यवसायीमा बाख्रापालनले उत्साह थपिदिएको छ ।रासस