१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

निकुञ्जका खोर बाघले भरिए



फाईल फोटो
अ+ अ-

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा नरभक्षी बाघ राख्नका लागि बनाइएका खोर बाघले भरिएका छन् । निकुञ्जमा खोरमा पाँच वटा बाघ छन् ।

निकुञ्जको मुख्यालय कसरामा तीन वटा र सौराहामा दुई वटा बाघ खोरमा छन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार सौराहामा मेघौली र कुमरोजबाट मानिसलाई आक्रमण गरेपछि उद्धार गरिएका बाघ राखिएको हो । कसरामा बाँकेबाट दुई वर्षअघि ल्याएको एउटा बाघ छ ।

त्यस्तै देवनगर र माडीबाट ल्याइएका दुई बाघ छन् । ती बाघ आठ वर्षदेखि १५ वर्षसम्मका रहेको तिवारीले जानकारी दिनुभयो । यसवर्ष माडीमा एक जनालाई बाघले आक्रमण गरेपछि उद्धार गरी ल्याइएको हो । अन्य बाघ अघिल्ला वर्ष ल्याइएका हुन् ।

यस आर्थिक वर्षमा हात्तीले दुई र गैँडाले एक जनालाई आक्रमण गरी ज्यान लिएका छन् । निकुञ्जमा थप बाघ राख्नका लागि खोर बाँकी छैनन् । कसरामा रहेको एउटा पुरानोलाई खोर मर्मत गरिँदै छ । खोरमा बाघ थपिए विकल्पको खोजी गर्नुपर्ने हुन्छ ।

तिवारीले पश्चिम चितवनको मेघौलीमा हात्तीले मान्छे मारेपछि सोही क्षेत्रमा घाइते बाघ रहेको अनुमानमा खोजी कार्य जारी राखिएको बताउनुभयो । त्यहाँ बाघ भेटिएमा राख्नका लागि पुरानो खोर मर्मत हुँदैछ । बाघको सङ्ख्या निकुञ्जमा बढेसँगै समस्यामा परेका बाघ पनि बढेका हुन् ।

सन् २०२२ को गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा वयस्क बाघको सङ्ख्या एक सय २८ छ । पर्सा राष्ट्रिय निकुञ्जमा भने बाघको सङ्ख्या ४१ छ । देशभर बाघको सङ्ख्या तीन सय ५५ छ ।

उहाँका अनुसार सन् २०२२ मा गरिएको एक सर्वेक्षणमा निकुञ्जभित्र एक वर्ग किलोमिटरमा ९९ दशमलव ६ वटा आहाराको घनत्व रहेको पाइएको थियो । जुन राम्रो मानिन्छ । विगतका तुलनामा आहाराको घनत्व बढेको उहाँको भनाइ छ । बाघको पहिलो रोजाइँ जरायो हुने गर्छ । समग्र मृग प्रजाति बाघको आहारा हो । जरायोसँगै लगुना, रतुवा जस्ता वन्यजन्तु बाघले सिकार गर्दछ । ती वन्यजन्तु नपाएमा बाघले बँदेलसमेत खाने तिवारीको भनाइ छ । घाइते र नरभक्षी वन्यजन्तु बढेपछि निकुञ्जको देवनगरस्थित वरण्डाभार वनमा व्यवस्थित ठाउँ निर्माणको तयारी गरिएको छ ।

खुल्ला चिडियाखानाका रुपमा विकास गरेर घाइते र नरभक्षी बाघ, गैँडा, हात्ती जस्ता वन्यजन्तुलाई त्यहाँ राख्ने तयारी गरिएको छ । सर्वसाधारणलाई टिकट लिएर अवलोकन गराउदा त्यसको आम्दानीले वन्यजन्तु पाल्न सकिने हुँदा सोहीअनुरुप काम अघि बढाइएको हो ।

हाल सो ठाउँमा कार्यालय भवन बनाइएको छ । क्रमशः खुल्ला खोर बनाउने योजना रहेको तिवारीले बताउनुभयो । निकुञ्जले अहिले खोरमा राखिएका प्रत्येक बाघलाई दैनिक पाँच किलो मासु खुवाउँदै आएको छ ।