२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

निकुञ्जका खोर बाघले भरिए



फाईल फोटो
अ+ अ-

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा नरभक्षी बाघ राख्नका लागि बनाइएका खोर बाघले भरिएका छन् । निकुञ्जमा खोरमा पाँच वटा बाघ छन् ।

निकुञ्जको मुख्यालय कसरामा तीन वटा र सौराहामा दुई वटा बाघ खोरमा छन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार सौराहामा मेघौली र कुमरोजबाट मानिसलाई आक्रमण गरेपछि उद्धार गरिएका बाघ राखिएको हो । कसरामा बाँकेबाट दुई वर्षअघि ल्याएको एउटा बाघ छ ।

त्यस्तै देवनगर र माडीबाट ल्याइएका दुई बाघ छन् । ती बाघ आठ वर्षदेखि १५ वर्षसम्मका रहेको तिवारीले जानकारी दिनुभयो । यसवर्ष माडीमा एक जनालाई बाघले आक्रमण गरेपछि उद्धार गरी ल्याइएको हो । अन्य बाघ अघिल्ला वर्ष ल्याइएका हुन् ।

यस आर्थिक वर्षमा हात्तीले दुई र गैँडाले एक जनालाई आक्रमण गरी ज्यान लिएका छन् । निकुञ्जमा थप बाघ राख्नका लागि खोर बाँकी छैनन् । कसरामा रहेको एउटा पुरानोलाई खोर मर्मत गरिँदै छ । खोरमा बाघ थपिए विकल्पको खोजी गर्नुपर्ने हुन्छ ।

तिवारीले पश्चिम चितवनको मेघौलीमा हात्तीले मान्छे मारेपछि सोही क्षेत्रमा घाइते बाघ रहेको अनुमानमा खोजी कार्य जारी राखिएको बताउनुभयो । त्यहाँ बाघ भेटिएमा राख्नका लागि पुरानो खोर मर्मत हुँदैछ । बाघको सङ्ख्या निकुञ्जमा बढेसँगै समस्यामा परेका बाघ पनि बढेका हुन् ।

सन् २०२२ को गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा वयस्क बाघको सङ्ख्या एक सय २८ छ । पर्सा राष्ट्रिय निकुञ्जमा भने बाघको सङ्ख्या ४१ छ । देशभर बाघको सङ्ख्या तीन सय ५५ छ ।

उहाँका अनुसार सन् २०२२ मा गरिएको एक सर्वेक्षणमा निकुञ्जभित्र एक वर्ग किलोमिटरमा ९९ दशमलव ६ वटा आहाराको घनत्व रहेको पाइएको थियो । जुन राम्रो मानिन्छ । विगतका तुलनामा आहाराको घनत्व बढेको उहाँको भनाइ छ । बाघको पहिलो रोजाइँ जरायो हुने गर्छ । समग्र मृग प्रजाति बाघको आहारा हो । जरायोसँगै लगुना, रतुवा जस्ता वन्यजन्तु बाघले सिकार गर्दछ । ती वन्यजन्तु नपाएमा बाघले बँदेलसमेत खाने तिवारीको भनाइ छ । घाइते र नरभक्षी वन्यजन्तु बढेपछि निकुञ्जको देवनगरस्थित वरण्डाभार वनमा व्यवस्थित ठाउँ निर्माणको तयारी गरिएको छ ।

खुल्ला चिडियाखानाका रुपमा विकास गरेर घाइते र नरभक्षी बाघ, गैँडा, हात्ती जस्ता वन्यजन्तुलाई त्यहाँ राख्ने तयारी गरिएको छ । सर्वसाधारणलाई टिकट लिएर अवलोकन गराउदा त्यसको आम्दानीले वन्यजन्तु पाल्न सकिने हुँदा सोहीअनुरुप काम अघि बढाइएको हो ।

हाल सो ठाउँमा कार्यालय भवन बनाइएको छ । क्रमशः खुल्ला खोर बनाउने योजना रहेको तिवारीले बताउनुभयो । निकुञ्जले अहिले खोरमा राखिएका प्रत्येक बाघलाई दैनिक पाँच किलो मासु खुवाउँदै आएको छ ।