२० मंसिर २०८२, शनिबार
,
Latest
नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय
तपाईं के खोज्दै हुनुहुन्छ ?

पालिकाको सक्रियतासँगै बढे बागलुङको बराह तालमा पर्यटक



अ+ अ-

ढोरपाटन । प्रचारप्रसार र पूर्वाधार अभावका कारण ओझेलमा परेको बागलुङको बराह तालमा गाउँपालिकाको सक्रियतापछि पर्यटकको चहलपहल बढ्न थालेको छ ।

तमानखोला गाउँपालिका(२ मुठाचौरमा अवस्थित यो ताल उच्च पहाड, शान्त वातावरण र प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ । समुद्री सतहदेखि तीन हजार मिटरको उचाइमा रहेको ताल तमानखोलाको शिरमा अवस्थित छ ।

केही वर्षअघिसम्म गाउँलेले पूजा गर्ने बराह ताल क्षेत्रमा पछिल्लो समय पर्यटक आकर्षणको केन्द्र बनेको हो । तमानखोला गाउँपालिकाले प्रचारप्रसार बढाएपछि आन्तरिक पर्यटक बढेका हुन् । तमानखोला गाउँपालिका–२ मुठाचौरमा रहेको बराह ताललाई गाउँपालिकाले संरक्षण तथा प्रवद्र्धन गर्न थालेको छ ।

धार्मिक महत्व समेत रहेको बराह तालमा संरक्षण र प्रचारका लागि यसवर्ष गण्डकी प्रदेश सरकारले रु ८० लाख र तमानखोला गाउँपालिकाले रु आठ लाख विनियोजन गरेको गाउँपालिकाकी उपाध्यक्ष हिराकुमारी छन्त्यालले बताउनुभयो ।

“बराह ताल जिल्लाकै राम्रो ताल हो, विगतमा प्रचारप्रसार र पूर्वाधारको अभावमा सुनसान जस्तै थियो”, उहाँले भन्नुभयो, “अहिले गाउँपालिकाले प्रचारप्रसार बढाएपछि आन्तरिक पर्यटक बढेका छन्, आगामी वर्षदेखि पर्यटक बढ्ने अपेक्षा गरेका छौँ ।”

स्थानीय दिलबहादुर छन्त्यालले अहिले बराहतालमा पर्यटकको चहलपहल बढेको बताउनुभयो । गाउँपालिकाले यस क्षेत्रमा पूर्वाधार निर्माण र प्रचारप्रसार बढाएपछि जिल्लाका विभिन्न स्थानबाट आन्तरिक पर्यटक घुम्न आउने गरेको उहाँको भनाइ छ ।

“यस क्षेत्रमा पहिले वैशाखे पूर्णिमाको समयमा बाहेक खासै चहलपहल हुँदैन्थ्यो, त्यो बेलामा नजिकैको सिद्ध बराह मन्दिरमा पूजा हुन्थ्यो”, उहाँले भन्नुभयो । तालसम्म पुग्ने सडक बनेपछि मुठाचौरका स्थानीयलाई सहज हुने र पर्यटक बढ्ने उहाँको भनाइ छ । तालसम्म पुग्ने सडक निर्माणका लागि गाउँपालिका समक्ष आग्रह गरिएको उहाँले बताउनुभयो ।

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले प्रदेश सरकार र गाउँपालिकाले विनियोजन गरेको बजेटले घेराबार, पदमार्ग निर्माण र ताल नजिकसम्म मोटरबाट पु¥याउने काम हुने बताउनुभयो । गत वर्ष गाउँपालिकाले बराह मन्दिरको पुर्ननिर्माण, शौचालय र खानेपानीको धारा निर्माण गरिएको अध्यक्ष बुढा मगरले जानकारी दिनुभयो ।

“अघिल्लो कार्यकालमा यहाँ केही पूर्वाधारहरु निर्माणको सुरुवात गरेका थियौँ”, उहाँले भन्नुभयो, “पालिकाको गुरुयोजना नै बनाएर ताललाई पर्यटकीय केन्द्र बनाउने अभियान छ ।” तालमा पर्यटक आकर्षित गर्न गाउँपालिकाले प्रबद्र्धनात्मक काम गर्दै आएको छ ।

यस क्षेत्रमा ‘पिकनिक स्पट’, बगैचालगायत पर्यटकलाई थप आकर्षित गर्ने गरी पूर्वाधार निर्माणका लागि योजना बनाएको भन्दै अध्यक्ष बुढा मगरले यस वर्ष यहाँ धेरै पूवार्धार तयार हुने बताउनुभयो ।

ताल नजिक रहेको मुठाचौर बस्नका लागि उपयुक्त स्थान भएकाले पर्यटकका लागि खाना, बस्न र आरामका लागि ‘होम(स्टे’ तथा स(साना होटलहरु बनाउने योजानासमेत रहेको उहाँको भनाइ छ । अहिले यहाँ आउने पर्यटकका लागि खानेपानी र शौचालयको व्यवस्थापन भइरहे पनि खाजा र खानाका लागि समस्या रहेको बुढा मगरले बताउनुभयो ।

ताल नजिक रहेको सिद्ध बराह मन्दिरमा पूजाआजा गर्दा मनोकांक्षा पूरा हुन जनविश्वास छ । जसका कारण वैशाखे पूर्णिमाको समयमा बागलुङका विभिन्न स्थानका साथै गुल्मी, प्युठान, अर्घाखाँचीबाट पनि भक्तजनहरु पूजाआजा गर्न आउने गरेका छन् । यहाँबाट धौलागिरि, माछापुछ्रे, अन्नपूर्णलगायतका दर्जनौँ हिमश्रृङ्खला देख्न सकिन्छ ।