याह छी हमर जनकपुर,
यी सीताके जनकपुर
यी जनक गाम जनकपुर,
यी हमरा अहाँक जनकपुर
(अर्थात यो हो हाम्रो जनकपुर, सीताको जनकपुर, जनकको नगरी जनकपुर, तपाई हामी सबैको जनकपुर)
प्राचीन मिथिलाको राजधानी तथा मधेश प्रदेशको राजधानी जनकपुरधाम पुरातात्विक सम्पदा, संस्कृति र मिथिला कलाले जति धनी छ, धार्मिक गन्तव्यका दृष्टिले पनि त्यत्तिकै वैभवपूर्ण छ ।
हिन्दू धर्माबलम्बीको विशेष आस्थाको केन्द्र जनकपुरधाम धार्मिक तथा पर्यटकीय नगरीमध्ये एक महत्वपूर्ण स्थल हो । पछिल्लो पटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबाट यहाँको भ्रमणले जनकपुर हेर्न विश्वका पर्यटक लालायित हुन थालेका छन् । धार्मिक पर्यटनको प्रसस्त सम्भावना बोकेको जनकपुरधामलाई ५२ कुट्टी ७२ कुण्डको सहरको नामले पनि चिनिन्छ । यहाँ पाइलैपिच्छे विभिन्न देवीदेवताका आकर्षक मठमन्दिर र तालतलैया छन् ।
जानकी मन्दिरलगायत राममन्दिर, राजदेवी मन्दिर, लक्ष्मण मन्दिर, जनक मन्दिर, गङ्गा सागर, धनुषा सागर, अरगजा सागरलगायत दर्जनौँ तालतलैया र मठमन्दिर छन् । बिहानैदेखि यहाँका मठमन्दिरमा गुञ्जिने मैथिली गीतसङ्गीतले पर्यटक तथा श्रद्धालुभक्तजनलाई मन्त्रमुग्ध बनाइदिन्छ ।
रामजानकी विवाहपञ्चमी महोत्सव, विजयादशमी, दीपावली, छठपर्व, रामनवमी, जानकी नवमीलगायत चाडपर्वमा जनकपुरधामलाई बेहुली झैँ सिँगारिने गरिन्छ ।
अङ्ग्रेजीको नयाँ सम्बत् २०२३ मनाउन जनकपुरधाम आउनेले अहिलेदेखि नै यहाँका होटेल बुक गराएर राखेको पर्यटन व्यवसायी तथा होटेल बेलकमका सञ्चालक अभिषेक झुनझुन बाला बताउनुहुन्छ ।
यसरी गरौँ घुमघाम
भारत मध्यप्रदेशस्थित टीकमगढकी राजकुमारी वृषभानुकुमारीले रु नौ लाखको चाँदीका असर्फी खर्चेर जानकी मन्दिर निर्माण गराएकीले यसलाई नौलखा मन्दिर पनि भन्ने गरिन्छ । सन् १८९४ मा शिलान्यास भई सन् १९११ मा मुगल शैलीमा निर्माण भएको यस मन्दिर नेपालकै उत्कृष्ट कलाको नमुना मानिन्छ ।
जनकपुरमा हरेक रामनवमी, जानकी नवमी, रामजानकी विवाह महोत्सव, कोजाग्रत पूर्णिमामा, झुला महोत्सव र १५ दिने मिथिला माध्यमिकी परिक्रमा ठूलो मेला लाग्छ ।
जानकी मन्दिर निर्माणको सवा सय वर्ष नाघे पनि यसमा स्थापित राम र जानकीका प्रतिमा झण्डै सात सय वर्ष पुरानो भएको संस्कृतिविद्को भनाइ छ । मन्दिरका नाममा अहिले पनि सयौँ बिघा जग्गा छ । मन्दिरभित्र त्रेतायुगलाई स्मरण गराउने सङ्ग्रहालय रहेको र यसमा रामसीता, राजा जनकलगायतका पहिरनको नमुना र विभिन्न कलात्मक प्रतिमा देख्न सकिन्छ ।
जानकी मन्दिरमा विगत ५६ वर्षदेखिको अखण्ड रामसीता भजन पनि अवलोकन गर्न सकिन्छ । मन्दिर अवलोकन एवं घुमघामका लागि यहाँ दैनिक हजाराँै श्रद्धालुभक्तजन एवं आन्तरिक तथा बाह्य पर्यटक पनि आउने गर्छन् ।
रामजानकी विवाहमण्डप
जानकी मन्दिरसंँगै उत्तर छेउमा टाँसिएको रामजानकी विवाहमण्डपमा त्रेतायुगको रामसीताको विवाहको झझल्को हेर्न सकिन्छ । विवाहमण्डपमा आकर्षक फूलबारीसमेत छ । पछिल्लो समय यो विवाहमण्डप मानिसको विवाह गर्ने तथा विवाहका लागि निर्णय लिने स्थलका रुपमा विकसित हुन थालेको छ ।
मणिमण्डप
पौराणिककालमा राजा जककी छोरी सीता र दशरथका छोरा रामको विवाह मणिमण्डपमा भएको जनविश्वास छ । मैथिली परम्परामा मडवा बनाइ वैवाहिक कार्यक्रम सम्पन्न गरिने चलन छ । त्यहाँ रहेको करिब दुई मिटर लामो र त्यत्तिकै चौडा माटोको ढिस्को नै मडवा ९मण्डप० हो भन्ने जनविश्वास छ । प्रचारप्रसारको अभावमा ओझेलमा परेको मणिमण्डप संरक्षण प्रचार प्रसारले पर्यटकको रोजाइमा पर्न थालेको छ । उक्त मणिमण्डप जानकी मन्दिरबाट झण्डै चार किमी उत्तरपश्चिम उपमहानगरपालिका– १३ स्थित रानीबजारमा अवस्थित छ ।
सो स्थानमा चार वर्षअघि उत्खनन गर्दा माटाका विभिन्न भाँडा, प्राचीन चुलो, खरानीलगायत फेला परेकाले प्राचीनकालमा त्यहाँ बस्ती भएको हुनसक्ने अनुमान गरिएको थियो ।सोही चुलोेमा सीतारामको विवाहका बेला लावा भुटिएको धार्मिक मान्यतामा विश्वास गर्नेहरुको विश्वास छ ।
मणिमण्डपमा रहेको मन्दिरमा सीतारामको दिव्यमूर्ति छ । मन्दिरको अगाडि रहेको पोखरीमा स्नान गर्नाले पापबाट मुक्ति मिल्ने जनविश्वास छ । विवाहपञ्चमीका अवसरमा हजारौँ भक्तजन मणिमण्डपमा नुहाउन पुग्छन् ।
महागङ्गा आरती
गङ्गासागरमा सन्ध्याकालमा सधैँ महागङ्गा आरती हुने भएकाले त्यहाँ स्थानीय भक्तजन एवं पर्यटकको घुइँचो लाग्ने गर्दछ ।
धार्मिक एवं ऐतिहासिक तलाउ गङ्गासागर चार वर्ष अघिसम्म फोहरमैलाको चपेटामा परेकामा जनकपुरकै सबैभन्दा स्वच्छ सरोवरका रुपमा लिइने र यहाँ नित्य साँझ भजन–प्रार्थना हुने गर्दछ ।
स्वर्गद्वार तथा बाबा भूतनाथ मन्दिर
फोहरै फोहरले भरिएको र मुर्दा जलाइने ठाउँ अहिले स्वर्गद्वारको रुपमा परिचय बनाएको छ । चिटिक्क परेको ठाउँ, रङ्गीविरङ्गी फूल भएको भूतनाथको मन्दिरसँंगै रहेको आधुनिक दाहसंस्कार स्थल मसानघाट मात्र होइन अहिले पर्यटकीय गन्तव्य बनेको छ । जनकपुरका समाजसेवी पवन सिंहानियाले चन्दा सङ्कलन गरी स्वर्गद्वार निर्माण गराउनुभएको हो ।
धनुषाधाम मन्दिर
धनुषामै पर्ने जनकपुरभन्दा बाहिरको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल धनुषाधाम पनि हो । रामायणसंँगै सम्बन्धित धनुषाधाममा धनुष मन्दिर छ । राजा जनकले छोरी जानकीको विवाहका लागि आयोजना गरेको सीता स्वंयवरमा रामले भाँचेको धनुषको एक टुक्रा आकाश, अर्को पाताल र अर्को मध्य टुक्रा धनुषाधाममा झरेको किंबदन्ती छ । ‘विष्णु पुराण’का अनुसार त्रिपुरासुर सङ्गम भएपछि दधिचि ऋषिको हाडबाट बनेको धनुष परशुरामलाई दिइएको थियो । परशुरामले उक्त धनुष राजा जनकलाई दिएका थिए ।
राजा जनकले उक्त धनुष तोड्नेसंँग नै आफ्नी छोरीको बिहे गरिने शर्त राखेकामा रामले ताँदो चढाउँदा भाँचिएको धनु त्यहाँ खसेकाले जनकपुरको पोखरी धनुषसागरले चिनिन्छ । धनुषको मध्य टुक्रा झरेको स्थानमा धनुषबाबाको मन्दिर निर्माण गरिएको छ । सो धनुषको टुक्रालाई पूजाअर्चना गर्ने गरिन्छ । धनुषाधाममा पन्ध्र दिनेमध्यमा परिक्रमाका क्रममा एक दिन विश्राम गरिन्छ । यहाँ बर्षेनि माघको प्रत्येक आइतबार मकर मेला आयोजना हुन्छ ।
रामानन्द प्रवेशद्वार
जनकपुरमा प्रवेश गर्ने वित्तिकै एउटा ठूलो प्रवेशद्वार देखिन्छ । रामानन्द प्रवेशद्वारको माथि स्वामी रामानन्दको प्रतिमा छ । आर्किटेक्ट इञ्जिनीयर शङ्करनाथ रिमालले डिजाइन गर्नुभएको सो प्रवेशद्वार एशियाकै सबैभन्दा ठूलो प्रवेशद्वार मानिन्छ ।
‘विष्णु पुराण’, ‘वायु पुराण, ‘शतपथ’, ‘भागवत्’, ‘वाल्मीकि रामायण’, र ‘वृहदारण्यकोपनिषद्’ जस्ता धार्मिक ग्रन्थमा पुण्यभूमि, तपोभूमि र सर्वश्रेष्ठ तीर्थका रुपमा जनकपुरलाई उल्लेख गरिएको छ । जनकपुरक्षेत्रका जलेश्वर र गिरिजास्थानको पनि धार्मिक पर्यटनमा महत्वपूर्ण स्थान छ । यस्ता प्रशस्त धार्मिक क्षेत्र रहेको प्राचीन मिथिलाको राजधानी र अहिले प्रदेश २ को राजधानी जनकपुरमै भएकाले पनि पर्यटन क्षेत्रको तीव्र विकास हुनुपर्ने सरोकार भएकाहरु बताउँछन् ।
प्राचीनकालदेखि ज्ञानविज्ञान, धर्मदर्शन, कलासंस्कृति क्षेत्रमा प्रसिद्धि कमाएको जनकपुरलाई आकर्षक पर्यटकीयस्थलका रूपमा विकास गर्न सके यहाँका नागरिकको जीवनस्तरमा उल्लेख्य सुधार आउन सक्छ।
मिथिलाका प्रचलित चाडपर्व विवाहपञ्चमी, रामनवमी, छठ, मिथिला परिक्रमा, होली तथा मिथिला लोकगीत र नृत्यको आयोजना गरी सांस्कृतिक मनोरञ्जन पनि पर्यटकलाई दिन सकिन्छ ।
जनकपुर विवाह भूमि वा आदर्श भूमिको रूपमा स्थापित भएकाले विवाह गन्तव्यस्थलका रूपमा पनि विकसित गर्न सकिने संस्कृतविद तथा वरिष्ठ पत्रकार रामभरोस कापडी बताउनुहुन्छ।
अग्निकुण्ड, विहारकुण्ड, रसिक निवास, हनुमान दरबार, रानीपाटी, पीपरा कुटी पनि आकर्षणका केन्द्र हुन् । गङ्गासागर, धनुषसागर, रामसागर, रत्नसागर, ज्ञानकुप, अग्निकुण्ड, अरगजा, दशरथसर, गोडधोइ, पापमोचनिसर, लक्ष्मणसागर जस्ता ५२ कुटी र ७२ कुण्डको प्रचारप्रसार हुनसके यहाँको पर्यटन विकासमा निकै टेवा पुग्ने देखिन्छ ।
स्थानीय सरकारको चासो
पछिल्लो समयमा यस क्षेत्रको पर्यटन प्रवद्र्धन र विकासका लागि स्थानीय तथा प्रदेश र सङ्घीय सरकारले चासो दिएको छ । सङ्घीय सरकारले पर्यटन कार्यालय जनकपुर, वृहत्तर जनकपुर क्षेत्र विकास परिषदमार्फत लगानी पनि गर्दै आएकाले मध्य तराईको सप्तरीदेखि सर्लाहीसम्मका धार्मिक पर्यटकीयस्थल र प्राकृतिक सम्पदाको संरक्षण सम्वद्र्धन र पूर्वाधार निर्माणमा केही हदसम्म सहयोग पुगेको छ ।
नेपाल पत्रकार महासङ्घ मधेशप्रदेशका अध्यक्ष राजेश कर्ण प्राचीन धार्मिक महत्व बोकेको जनकपुरको बारेमा पर्याप्त प्रचारप्रसार हुन नसकेको बताउनुहुन्छ ।
जनकपुरको पर्यटन विकासका लागि जनकपुर–चितवन–लुम्बिनी–पोखराको संयुक्त कार्यक्रम बनाएर अघि बढ्न सके विश्वकै नमूना पर्यटकीय गन्तव्यस्थल बन्न सक्ने पर्यटन व्यवसायी रूपेश सिंहको भनाइ छ ।
जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज साह जनकपुरले सहरका सबै मापदण्ड पूरा गरेको बताउनुहुन्छ । रासस