• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   सहमतिबाट नेतृत्व निर्माण हुन नसके निर्वाचनबाट हुन्छः झलनाथ खनाल ★   नेकपा एसको महाधिवेशन एकतावद्ध भएर सम्पन्न गर्ने संकल्प लिएका छौंः माधवकुमार नेपाल ★   नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त झा पक्राउ ★   लालीगुराँस सहकारीका प्रमुख सञ्चालक सुरेन्द्र भण्डारी पक्राउ ★   देशलाई धानमा मात्र होइन खाद्यान्नमा आत्मनिर्भर बनाउन सरकार लागिपरेको छः प्रधानमन्त्री ★   गुल्मी पहिरो अपडेटः एकै घरका पाँच जनाको मृत्यु ★   जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गर्ने नीति सरकारको प्राथमिकतामाः प्रधानमन्त्री ★   खेती धान्ने महिला किसानलाई छैन प्रोत्साहन ★   शीतल निवासमा धान रोपाइँ – तस्बिरहरु ★   प्रधानमन्त्री पुष्पकमल दाहालले कसरी रोपे धान ? (फोटोफिचर)

छब्बीस वर्षमा पनि बनेन बागलुङ–कुश्मीशेरा सडक



बलेवा । जिल्लाको दक्षिण क्षेत्रलाई जोड्नेगरी २६ वर्षअघि निर्माण थालिएको बागलुङ–कुश्मीशेरा सडकमा अहिले पनि सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्छन् । मालढुङ्गादेखि कुश्मीशेरासम्मको २१ किमी सडकको ठाउँठाउँमा गएका पहिरा तथा मर्मत नभएको कच्ची सडकका खाल्डाखुल्डीले सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् ।

बागलुङ नगरपालिका–१ मालढुङ्गादेखि वडा नं १० को गलुवासम्मको एक किमी सडक कच्ची छ । गलुवाकै दव्ल्याङमा दुई वर्षअघि झरेको पहिरो नरोकिँदा यात्रा थप जोखिमपूर्ण बनेको हो । यो पहिरो रोकथाम तथा नियन्त्रणका लागि पूर्वाधार कार्यालय बागलुङले तयार पारेको लागत अनुमान मन्त्रालयमा पुगेर थन्किएको छ । कार्यालयले पहिरो नियन्त्रणका लागि रु एक करोड ३१ लाख ७७ हजार आठ सय ३७ को लगत अनुमान गरेको छ ।

“गत वर्ष नै पहिरो नियन्त्रणका लागि लागत अनुमान गरेर पठाएका हौँ, तर बजेट चार लाख मात्रै आयो”, कार्यालयका इञ्जिनियर कृष्ण गौतमले भन्नुभयो, “सामान्य पहिरो पन्छाएर सडक खुलाउनसमेत नपुग्ने बजेटले पहिरो रोकथाम गर्न सकिएन ।” वर्षायाममा बगिरहने पहिरो नियन्त्रणका लागि हिउँदमा सरोकारवालाको चासो नहुने सर्वसाधारणको गुनासो छ ।

“बर्खाभरि हिउँद लागेपछि पहिरो रोक्ने काम होला भनेर आशा गर्छौंं तर हिउँदमा सुनसान हुन्छ”, बागलुङ नगरपालिका–१२ अमलाचौरका कमल हमालले भन्नुभयो, “पहिरो खस्न थालेपछि मात्रै कामको चर्चा हुन्छ ।” पहिरो पन्छाउन मात्रै बागलुङ नगरपालिकाले दुई वर्षमा रु १० लाख खर्च गरेको छ । गत वर्ष नगरपालिकाले विनियोजन गरेको रु २० लाख बजेटबाट तयार भएका संरचना पहिरोले बगाएको छ ।

विसं २०७२ मा सडक विभागले कालोपत्र गरेको गलुवादेखि पाग्जासम्मको चार किमी खण्डको ठाउँठाउँमा खसेको पहिरोले सडक नै जोखिममा छ । कतै सडक भासिएको छ भने कतै सडकमाथिबाट आएको पहिरोले सडक नै पुरिएको छ । लामो समय बितिसक्दासमेत सडकको पहिरो सवारीसाधन एकतर्फी चल्ने गरी पन्छाउने गरिएको स्थानीय ज्ञानेन्द्र ढकाल बताउनुहुन्छ । पूर्वाधार विकास कार्यालय पर्वतले कालोपत्र गरेको पाग्जादेखि सरङ्गेसम्मको १० किमी खण्डमा खसेका पहिरोकोसमेत अवस्था उस्तै छ ।

“पहिरो नियन्त्रणका लागि पहल भइरहेको छ, स्थानीय सरकारको बजेटले मात्रै थेग्ने अवस्था नरहेकाले माथिल्लो निकायमा पहल गरेका छौँ”, बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का भन्नुहुन्छ, “अर्थमन्त्रीसँग सिधा संवाद गरेका छौँ, आशा छ हिउँदमा काम हुने वातावरण बन्छ ।” सडकको दुरावस्थाले बागलुङलाई नै गिज्याइरहेको भान हुने गरेको छ । बागलुङका मुख्य सडकमध्ये पर्ने यो सडक विभिन्न समयमा विभिन्न योजनामार्फत खण्डखण्डमा कालोपत्र भएको भए पनि अझै दुई किमी सडक कच्ची नै छ ।

मालढुङ्गादेखि दब्ल्याङसम्मको खण्ड कालीगण्डकी करिडोरसमेत पर्ने भएकाले कालोपत्र गरिएको छैन । बागलुङ नगरपालिका–१२ अमलाचौरको सरङ्गेदेखि टाकुरीसम्मको एक किमी खण्डमा कसैको आँखा नपरेको स्थानीय प्रेम शर्माले बताउनुभयो ।

बागलुङ नगरपालिकामा पर्ने उक्त खण्ड जैमिनी र बरेङ गाउँपालिकाको प्रयोगमा आउने भएकाले चपेटामा परेको हो । उपयोग कम हुने भएकाले बागलुङ नगरपालिकाले कम महत्व दिने गरेको छ भने आफ्नो भूगोल नभएकाले जैमिनी नगरपालिका र बरेङ गाउँपालिकालाई त्यहाँ बजेट खर्चिन कठिन छ । “बीचमा परेको बाटो नबन्दा दुःख पायाँै”, शर्माले भन्नुभयो ।

यो खण्ड कलोपत्रका लागि जैमिनी नगरपालिकाले ५०÷५० प्रतिशत साझेदारीको प्रस्ताव गरेको छ । तर पूर्वाधार कार्यालय बागलुङसँग साझेदारीको बजेट नहुने भएकाले आगामी वर्षको कार्यक्रममा बजेट माग गरिने कार्यालयका निमित्त प्रमुख महेन्द्र शर्माले बताउनुभयो । रासस