• ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
  •   Unicode
Logo
Latest
★   नेविसंघका केन्द्रीय सदस्य र जिल्ला सभापतिले पत्रकारलाई ज्यान मार्ने धम्की दिएको घटनाप्रति महासङ्घको ध्यानाकर्षण ★   काँग्रेसले सरकारको नीति तथा कार्यक्रम प्रश्तुत गर्ने विषयलाई अन्य विषयसँग सौदावाजी गर्न मिल्दैन: कानूनमन्त्री गिरी ★   मुलुकको अर्थतन्त्र सुधारोन्मुख,अधिकांश सूचक सकारात्मक ★   मधेस सरकारबाट एमालेका ६ मन्त्रीले दिए राजीनामा ★   राजस्थानले चेन्नईलाई दियो १४२ रनको लक्ष्य ★   माओवादीले फिर्ता लियो मधेश सरकारलाई दिएको समर्थन ★   एमाले तनहुँ अधिवेशनः अध्यक्षमा कँडेल र सिग्देलको उम्मेदवारी, कुन नेताको कसलाई साथ ? ★   ‘स्वस्थकर जीवनका लागि स्वस्थ वातावरण आवश्यक’ ★   छ दशकदेखि ज्ञान बाँड्दै लालचन्द्र ★   शिर्ष नेताहरुको प्रतिवद्धता बिना त्रिभुवन विश्वविद्यालयको पुन:संरचना सम्भव छैन: मन्त्री श्रेष्ठ

जुम्ली स्याउलाई बजारीकरणको अभाव



जुम्ला । बजारीकरण नहुँदा जुम्ली स्याउले उचित मूल्य पाउन सकेको छैन । अधिकांश स्याउ किसानले भदौ, असोज महिनामै बजारमा स्याउ बिक्रीका लागि लिने गरेका छन् । केही किसानले उचित मूल्य पाइने आशामा मङ्सिर र पुससम्म पनि स्याउ भण्डारण गरी राख्ने गरेका छन् ।

सिञ्जा गाउँपालिका–५ का रामसिंह रावलले दसैँमा नेपालगञ्ज लैजान टिपेर कार्टुनमा रााखेका स्याउ ढुवानी गर्ने गाडी नपाउँदा बिक्री गर्न पाउनुभएको छैन । उहाँले भन्नुभयो, “वर्षाले कर्णाली राजमार्ग बन्द भएपछि जुम्ला बजार ल्याउँदा पनि स्याउ बिक्री हुन सकेन ।” बजारीकरण गर्न नसक्दा नोक्सान बेहोर्नुपरेको रावलको भनाइ छ ।

जुम्ला विमानस्थलमा स्याउ बेच्न आउनुभएकी गेठीचौर गाउँपालिका–३ की उमादेवी अधिकारी बिक्री नहुँदा समस्या भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “स्याउ खरिद गर्नेको सङ्ख्या कम छ । घरबाट दुई घण्टा हिँडेर बजारमा स्याउ ल्याए पनि बिक्री नहुँदा फेरि भारी बाकेर फर्किन निकै कठिन हुन्छ ।”

स्याउ उत्पादन बढ्यो

जुम्लामा यो वर्ष स्याउ उत्पादन बढेको छ । जिल्ला कृषि कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीले चालू आर्थिक वर्षमा १८ हजार मेट्रिक टन स्याउ उत्पादन भएको जानकारी दिनुभयो । गत आवमा १२ हजार मेट्रिक टन स्याउ उत्पादन भएको थियो ।

स्याउ उत्पादन बढे पनि किसानले उचित मूल्य नपाउँदा चिन्तित बनेका छन् । हाल उत्पादित १८ हजार मेट्रिक टनमध्ये नौ हजार मेट्रिक टन स्याउ नेपालगञ्जलगायतका बजारमा पठाइएको कार्यालय प्रमुख अधिकारीले जानकारी दिनुभयो । यसअघि व्यवसायीले प्रतिकिलो रु ५० देखि रु ५५ मा स्याउ खरिद गरी रु ६७ देखि रु ७० मा बिक्री गर्दै आएका थिए । तर अहिले किसान त्योभन्दा निकै कम मूल्यमा स्याउ बिक्री गर्न बाध्य भएको चन्दननाथ नगरपालिका–८ का स्याउ व्यापारी धर्मसिंह कठायतले बताउनुभयो ।

जुम्लाको अर्गानिक स्याउ सुर्खेत, नेपालगञ्ज, दाङ, बुटवल, नारायणगढ र काठमाडौँसम्म पुगे पनि जुम्लीले उचित बजार मूल्य नपाएको यहाँका स्याउ किसानको गुनासो रहेको छ । “मैले प्रतिकिलो रु ५० मा स्याउ किनेर ढुवानी खर्चसहित रु ६० मा नेपालगञ्ज पुर्याए । तर प्रतिकिलो रु ३० मा बिक्री गर्न बाध्य भएँ ।” कोहलपुरमा शीतभण्डार नहुँदा स्याउ सस्तो बेच्नुपर्ने बाध्यता आइलागेको कठायतको भनाइ छ ।