• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

बँदेल सिकारमा गएनन् नेपाली



बागलुङ । ढोरपाटन सिकार आरक्षमा पहिलोपटक नेपाली सिकारीलाई लक्ष्य गरी बँदेलको वैधानिक सिकार खुला गरिएकामा एउटा पनि बँदेलको सिकार हुन सकेन ।

यो वर्षको पहिलो सिकार यामका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ११ बँदेलको सिकार कोटा तोकेको थियो । तीन नेपाली सिकारीले बोलपत्रको प्रक्रियामा भाग लिए पनि सिकार खेल्न नआएको आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बताउनुभयो ।

“पहिलोपटक भएकाले प्रक्रियागत हिसाबले पनि समय लागेको हुनसक्छ, बँदेल सिकारको सूचना र प्रचारप्रसार पनि ढिलो हुन पुग्यो”, उहाँले भन्नुभयो, “अर्को यामदेखि बँदेल सिकारमा नेपालीलाई आकर्षित गर्न बेलैमा तयारी र पहल गर्नुपर्ने देखिन्छ ।”

बोलपत्रको प्रतिस्पर्धाबाट छानिएका सिकार कम्पनीले आरक्षमा सिकार खेलाउन पाउँछन् । बर्सेनि दुई याममा नाउर र झारलको सिकार खुला गरिँदै आएकामा यस वर्षदेखि बँदेलको पनि सिकार गराउने योजनामा विभाग छ ।

नाउर र झारलको महँगो सिकार नेपालीको पहुँचमा नरहेकाले बँदेल सिकारमार्फत आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने ध्येय लिइएको प्रमुख संरक्षण अधिकृत कँडेलले बताउनुभयो । बँदेलको व्यवस्थित सिकारले स्थानीय बासिन्दा र आरक्षबीचको सम्बन्ध पनि सुदृढ हुने उहाँको भनाइ छ ।

“बँदेलले किसानको खेतीबाली खाइदिन्छ, सिकारले पनि त्यसलाई केही हदसम्म नियन्त्रण गर्न सघाउनेछ”, कँडेलले भन्नुभयो, “वैधानिकरुपमा सिकार गराउँदा राज्यले राजश्व पनि आर्जन गर्छ ।”

विभागले वर्षमा २२ बँदेलको सिकार गराउने गरी कोटा निर्धारण गरेको छ । पहिलो याममा एउटा पनि सिकार नभएकाले अर्को याममा कोटा थपघट हुन सक्ने कँडेल बताउनुहुन्छ । आरक्षमा अहिलेसम्म कोही पनि नेपाली वैधानिकरुपमा सिकारका लागि नपुगेको स्थितिमा विभागले पहिलोपटक नेपालीलाई लक्ष्य गरी बँदेलको सिकार खुला गरेको थियो ।

विभागले बँदेलसँगै नाउर र झारलका लागि गत भदौमा बोलपत्र खुलाएको थियो । जसमा सात नाउर र पाँच झारलको सिकार गरिएको छ । आरक्षका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार अमेरिकाका चार, मेक्सिकोका दुई तथा क्यानाडा र जर्मनीका एक एक नागरिकले सिकार खेलेका थिए ।

कोटा तोकिएकामध्ये एउटा नाउरको भने सिकार हुन नसकेको आरक्ष कार्यालयले जनाएको छ । नाउर र झारल सिकारका लागि विदेशी पेसेवर सिकारी लाखौँ रुपैयाँ खर्चेर ढोरपाटन पुग्छन् । प्रमुख संरक्षण अधिकृत कँडेलले अर्को वर्षदेखि विस्तृत अध्ययन र बँदेलको गणना गरेर मात्र सिकार कोटा तोकिने बताउनुभयो ।

नाउर र झारलको हरेक पाँच पाँच वर्षमा गणना गर्ने गरिन्छ । गणनाको नतिजालाई हेरेर विभागले सिकारको कोटा तोक्छ । आरक्षका सातवटै सिकार ब्लकमा बँदेल पाइन्छ । फागुने, बार्से र सुर्तिबाङ ब्लकमा बँदेल धेरै पाइने सिकार कम्पनी ट्र्याक एण्ड ट्रेल्र्सका दीपक थापाले बताउनुभयो ।

बँदेलको सिकार खुलाउन कम्पनीले माग गर्दै आए पनि यो पटक सिकार हुन नसकेको उहाँको भनाइ छ । सिकारको अनुभव बटुल्नका लागि पनि नेपाली बँदेल सिकारमा आकर्षित हुनसक्ने थापाले बताउनुभयो । नाउर र झारल सिकारको जस्तो महत्व बँदेल सिकारमा भने नहुने उहाँको भनाइ छ ।

विदेशी हन्टिङ ट्रफीका लागि नाउर र झारलको सिकार खेल्न आउने गरेको थापाले बताउनुभयो । आरक्षमा रतुवा मृग, चरालगायत अरु वन्यजन्तु र पन्छीकोसमेत सिकार गर्न पाइने भएपनि अहिलेसम्म माग नआएको आरक्ष कार्यालयले जनाएको छ ।

आरक्षमा नेपाल ट्राभल एक्सपिडिसन, ग्लोबल सफारिज, हिमालयन सफारिज, हिमालयन वाइल्ड लाइफ आउटफिटर, ट्रयाक एण्ड ट्रेल्र्सलगायत सिकार कम्पनीले सिकार खेलाउँदै आएका छन् । बर्सेनि ९असोज–मङ्सिर० र ९फागुन–वैशाख० गरी दुई याममा सिकार खुला हुन्छ । आरक्षमा सुर्तिबाङ, फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ र सुनदह गरी सात सिकार ब्लक छन् ।

सौखिन र खर्चिला विदेशी सिकारीको रोजाइमा ढोरपाटन पर्छ । रोमाञ्चक र साहसिक सिकार पर्यटनका लागि ढोरपाटन विश्वमै प्रख्यात छ । आरक्ष बागलुङ, म्याग्दी र रुकुम जिल्लाको उच्च पहाडी र हिमाली भू–भागमा फैलिएको छ । विसं २०३९ मा स्थापना भएको आरक्ष देशकै एकमात्र वैधानिक सिकार गन्तव्य हो । रासस