• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   अर्थमन्त्री पुनले चुनौती सिर्जना र समाधान गर्ने अठोटका साथ बजेट ल्याउनुभयो: पूर्वअर्थमन्त्री पौडेल ★   मुकेश अम्बानीलाई पछि पार्दै गौतम अडानी बने भारतका सबैभन्दा धनी व्यापारी ★   सहमतिबाट नेतृत्व चयन हुने झलनाथको विश्वास ★   औद्योगिक राजधानी घोषणामा विलम्ब ★   रविना टण्डनमाथि एक वृद्ध महिलालाई कुटपिट गरेको आरोप ★   विराट कोहलीलाई तेस्रो पटक ‘ओडीआई क्रिकेटर अफ द इयर’को अवार्ड ★   एक महिनामा भित्रिए ९० हजार विदेशी पर्यटक ★   सरकारले राष्ट्रिय प्राथमिकतालाई तिलाञ्जली दिएर बजेट ल्यायो: काँग्रेस ★   आठ वर्षमा पनि बनेन शीत भण्डार ★   लुक्लामा पासाङल्हामु स्मृति ‘ग्यालरी’ स्थापना

गुल्मीको कफी जापान र फ्रान्स निर्यात, किसान आकर्षित



रेसुङ्गा । गुल्मीमा उत्पादन भएको कफी जापान र फ्रान्समा माग बढ्न थालेपछि यहाँका किसान कफीखेतीमा आकर्षित हुन थालेका छन् । यहाँ उत्पादन भएको कफी जिल्ला सहकारी सङ्घमार्फत् निर्यात हुँदै आएको छ ।

संघका सचिव युवराज आचार्यका अनुसार जापान र फ्रान्समा मात्रै वार्षिक पाँच मेट्रिक टन कफी निर्यात हुँदै आएको छ । किसान, समूह र सहकारीबाट खरिद गरिएको कफी प्रशोधन गरी संघले निर्यात गर्दै आएको छ । जसबाट संघले वार्षिक ६० लाख आम्दानी गर्दै आएको सचिव आचार्यको भनाइ छ ।

कफी विकास केन्द्र गुल्मीका प्रमुख जीवन आचार्यले कफीको बिउ स्रोत केन्द्रका रुपमा काम गरिरहेको बताउनुभयो । कुल ६ हेक्टर क्षेत्रफलमा बिउका लागि कफी खेती गरिएको छ । अन्तर्राष्ट्रिय स्तरमा निर्यात हुन थालेपछि कफीखेतीमा किसानको आकर्षण बढेको छ ।

बढ्यो आकर्षण

गुल्मीको रेसुङ्गा नगरपालिका–८ का २५ वर्षीय मनोज पाण्डे र २४ वर्षे सरोज बेलबासे व्यावसायिक कफीखेतीमा हुनुहुन्छ । आँपचौरको पिपलारुखमा दुई सय रोपनीमा डेढ वर्षदेखि कफीखेती गरिरहनुभएका उहाँहरुले बीस हजार कफीका बिरुवा रोप्नुभएको छ ।

“विदेशमा पसिना बगाउनुभन्दा स्वेदशमै मिहेनत गरौँ भन्ने सोचले कफीखेती सुरु गरेका हौँ”, बेलबासेले भन्नुभयो । मनोज र सरोजले गरेको कफीखेतीबाट हाल एक हजार बिरुवाले उत्पादन दिइरहेका छन् । मनोजका अनुसार गतवर्ष यसबाट सात लाख आम्दानी भएको थियो । कफीखेतीमा उहाँहरुले हालसम्म ५१ लाख लगानी गरिसक्नुभएको छ । कफीखेतीसँगै कफी प्रशोधन, प्याकेजिङ र बजारीकरण समेत आफै गर्दै आउनुभएको छ । सिजनमा ३५ जना र अन्य समयमा दैनिक पाँच जनालाई उहाँहरुले रोजगारी समेत दिनुभएको छ ।

उहाँहरु मात्रै होइन आँपचौरका अधिकांश परिवार कफीखेती होमिएको छ । केहीले व्यावसायिकरुपमा त केहीले घरखर्चका लागि मात्रै पनि कफीखेती गर्नुभएको छ ।

आँपचौरका किसान कपिला खरेलको कपिला कृषि तथा पशुपंक्षी फर्म छ । व्यवसायीक रुपमा कफी खेतीसँगै केराखेती र कुखुरापालन पनि गर्नुहुन्छ । उहाँले रोपेका दुई सय कफीका बोट उत्पादन दिने अवस्थामा छन् । उहाँले कफीखेती बिस्तारका लागि छहारी निर्माणमा लाग्नुभएको छ ।

आँपचौरकै दुर्गा खरेलले पनि कफीखेतीलाई बगैँचाका रुपमा विस्तार गर्नुभएको छ । उहाँले प्रत्येक वर्ष ४ क्विन्टलभन्दा बढी कफी बिक्री गर्दै आउनुभएको छ । “कफी खेतीमा लगानी नडुब्ने भएकाले पनि युवाहरू आकर्षित हुनुभएको हो”, उहाँले भन्नुभयो ।

गुल्मीको आँपचौर कफीको उद्गमस्थल हो । मुसिकोट नगरपालिका(५ आँपचौरबाटै नेपालमा कफीको विस्तार भएको मानिन्छ । आँपचौरका स्थानीय हिरा गिरीले १९९५ सालमा कर्मथलो बर्माको सिन्धु प्रान्तबाट फर्किंदा कफीको बीउ लिएर रोपेपछि पहिलो पटक नेपालमा कफी खेतीको सुरुआत भएको हो ।

कफीको सुरुआत भएको झण्डै तीन दशकसम्म पनि बिरुवा अन्योलमै थियो । त्यसपछि नेपाल सरकारले भारतबाट कफीको बीउ ल्याएर वितरण गरेपछि आँपचौरमा कफीको व्यावसायिक खेती सुरु भएको स्थानीय दुर्गा खरेलको भनाइ छ ।