२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागलुङमा २३ वर्षपछि गुरुकुल ब्युँताइँदै



अ+ अ-

बागलुङ । सशस्त्र द्वन्द्वका बेला बन्द भएको परमानन्द संस्कृत गुरुकुल पाठशाला पुनःसञ्चालनको उद्देश्य राखेर यहाँ ‘बिहुँकोट धार्मिक महोत्सव–२०७९’ सुरु गरिएको छ ।

काठेखोला गाउँपालिका–५ रामकोटधाममा आयोजित उक्त महोत्सवको बिहीबार गलेश्वर आश्रम देवघाटधामका पीठाधीश महामण्डलेश्वर श्री १००८ स्वामी आत्मानन्द गिरी महाराजले शुभारम्भ गर्नुभयो । रामकोटधामका संस्थापक दिवङ्गत स्वामी श्री १००८ परमानन्द सरस्वती महाराजले २०३१ सालमा स्थापना गर्नुभएको उक्त गुरुकुल २०५६ सालमा बन्द भएको थियो । गुरुकुल नचलेपछि यहाँका विद्यार्थीलाई देवघाटधामस्थित गुरुकुल विद्यापीठमा लगिएको थियो ।

पुनः रामकोटधामबाटै संस्कृत गुरुकुल चलाउने ध्येयले धार्मिक महोत्सव आयोजना गरिएको महोत्सवको प्रमुख सङ्कल्पकर्ता बिहुँकोट अन्तर्राष्ट्रिय समाजका अध्यक्ष देवीलाल सुवेदीले बताउनुभयो । यही मङ्सिर २८ गतेसम्म चल्ने सो महोत्सवमा देशभरबाट सन्त, महात्माको उपस्थिति रहने जनाइएको छ । झाँकी प्रर्दशनी, हेलिकोप्टरबाट पुष्पवृष्टि, धार्मिकस्थलको दृश्यावलोकन, धार्मिक प्रवचन, वैदिक पूजाअर्चना, भजन सङ्र्कीतन, पञ्चेबाजा प्रतियोगितालगायत सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ ।

महोत्सवमा धवलागिरि र आसपासका क्षेत्रबाट श्रद्धालुको उल्लेख्य सहभागिता रहने महोत्सवका संयोजक सुवेदीले बताउनुभयो । महोत्सवबाट सङ्कलित रकम संस्कृत गुरुकुल सञ्चालनमा खर्च गरिनेछ । “महोत्सव सुरु हुनुभन्दा अगावै करिब रु ६५ लाख जुटिसकेको छ भने त्यति नै रकम सहयोगको प्रतिबद्धता आएको छ”, उहाँले भन्नुभयो ।

महोत्सवबाट रु तीन करोड बढी आर्थिक सहयोग जुटाउने लक्ष्य लिइएको छ । गुरुकुल पुनःसञ्चालनको उद्देश्य राखेर महोत्सव आयोजना गरिएकाले देशविदेशमा रहेका दाता र शुभेच्छुकबाट सहयोग आउने क्रम जारी छ । बिहुँकोट अन्तर्राष्ट्रिय समाजको सञ्जालमार्फत बढी मात्रामा सहयोग जुटिरहेको छ ।

संस्कृत पाठशाला पुनःसञ्चालन भएमा संस्कृत विद्या र सनानत संस्कृतिको संरक्षणमा टेवा पुग्ने विश्वास लिइएको छ । परमानन्द सन्यास आश्रमका संरक्षक श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीले राजनीतिक परिवेश प्रतिकूल हुँदा गुरुकुललाई रामकोटधामबाट देवघाट लैजानुपरेको उल्लेख गर्नुभयो ।

“अब फेरि रामकोटधाममा गुरुकुल पुनःप्रतिस्थापन गर्न सकिन्छ की भनेर यो शुभसङ्कल्प लिएका छौँ”, उहाँले भन्नुभयो, “सबैको साथ सहयोगको खाँचो छ ।” आर्थिक स्रोत र संरचनाको जोहो भएमा छिट्टै गुरुकुल सञ्चालनमा आउने उहाँको भनाइ छ । गुरुकुल परम्पराका माध्यमबाट संस्कृत विद्यालाई अघि बढाउनुपर्ने ज्ञानानन्द सरस्वतीले बताउनुभयो ।

“संस्कृतले नै संस्कृतिको व्याख्या गर्छ”, उहाँले भन्नुभयो, “धर्म संस्कृतिको प्रचार, दर्शन शास्त्रसँगै आधुनिक शास्त्रको प्रवद्र्धनमा पनि गुरुकुल शिक्षाले टेवा पुर्याउँछ ।”