१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वसन्तपुरमा ज्यापु दिवसको र्याली– तस्विरहरु



अ+ अ-

काठमाडौँ । नेवारी संस्कृति संरक्षणका लागि आज योमरी पुन्ही अर्थात् ज्यापु दिवस मनाइँदैछ ।

ज्यापु दिवसको अवसरमा हाकु पटासीमा सजिएका महिलाहरु विभिन्न परम्परागत बाजा बजाउँदै शहरका विभिन्न गल्ली परिक्रमा गरेर ज्यापु दिवस मनाउँदै छन् । आजको दिन हिन्दु धर्मावलम्वीले धान्यपूर्णिमा, किराँत समुदायले उधौली तथा नेवार समुदायले योमरी पूर्णिमा र ज्यापु दिवस मनाउने गर्दछन् ।

काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा बसोवास गर्ने नेवार समुदायले आज (बुधवार) धुमधामका साथ यःमरी पुन्ही पर्व मनाउने परम्परा छ । चामलको पिठोको रोटीभित्र चाकु राखेर बनाइएको विशेष प्रकारको रोटीलाई नेवारी भाषमा यःमरी भन्ने गरिन्छ । यःमरी बनाएर खाने पर्व भएकाले यस दिनलाई नेवार समुदायले यःमरी पुन्हीको रूपमा मनाउने गर्दछन् । ज्यापु समुदायले यो दिनलाई ज्यापु दिवसको रूपमासमेत मनाउने गर्दछन् ।

ज्यापु दिवसको अवसरमा वसन्तपुरमा निकालिएको ¥यालीमा सहभागी हुँदै काठमाडौं महानगरपाकिलाका पूर्व मेयर विद्यासुन्दर शाक्यले १९ औं राष्ट्रिय ज्यापु दिवसमा विभिन्न कार्यक्रम गरेर मनाउने गरेको बताउनु भयो । उहाँले नेपालका किसानहरुले अन्न भित्र्याइसकेपछि मौसम अनुसारको योमरी बनाएर खाने चलनअनुसार सरकारले आजको दिनलाई राष्ट्रिय ज्यापु दिवसका रुपमा मनाउने गरेको समेत बताउनु भयो ।

उहाँले आफ्नो कार्यकालमा महानगरपालिकाले काठमाडौं भित्र रहेका मूर्त, अमूर्त, सम्पदालाई संरक्षण गर्ने, त्यसलाई प्रवद्र्धन गरी पर्यटनसँग जोड्ने अभियान शुरु गरेको र अहिले पनि सांस्कृतिक महत्वका कार्यक्रमहरुले स्थान बढी पाइरहेको बताउनु भयो ।उहाँले भन्नुभयो, ‘योमरी पुन्ही, धान्य पूर्णिमा पनि भन्छौँ । १९ औं राष्ट्रिय ज्यापु दिवस पनि मनाउँदै छौँ ।’

‘नेपालका सम्पूर्ण किसानहरुले अन्न भित्र्याइसकेपछि मौसम अनुसारको योमरी बनाएर खाने चलन थियो । पछि आएर सरकार योमरी पुन्हीलाई राष्ट्रिय ज्यापु दिवसको रुपमा सरकारले घोषणा गरिसकेपछि राष्ट्रिय ज्यापु दिवसको रुपमा मनाइन्छ । मेरो कार्यकालमा काठमाडौं भित्र रहेका सम्पूर्ण, मूर्त, अमूर्त, सम्पदालाई संरक्षण गर्ने, त्यसलाई प्रवद्र्धन गरी पर्यटनसँग जोड्ने अभियान शुरु गरेका थियौँ । त्यसले व्यापकता पाएको थियो । अहिले काठमाडौं वरपर जहाँतहीँ बनिरहेको देख्नुहुन्छ ।’

आज राष्ट्रिय ज्यापु दिवसको अवसरमा सरकारले देशभर सार्वजनिक बिदासमेत दिएको छ ।