२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं–तराई द्रुतमार्ग : सुरुङमार्गसहित पुलको ठेक्का पाएका चिनियाँ टोली नेपालमा



अ+ अ-

काठमाडौं । काठमाडौं–तराई द्रुतमार्ग आयोजनाअन्तर्गतका मुख्य र जटिल मानिने सुरुङमार्ग र विशेष पुल बनाउने ठेक्का पाएका दुईओटै चिनियाँ कम्पनीका अधिकारीहरू नेपालमा आएका छन् । दोस्रो प्याकेजको ठेक्का पाएको पोली च्याङ्दा इन्जिनीयरिङ कर्पोरेशनका अधिकारी आएको १ महीनापछि पहिलो प्याकेजको टोली काठमाडौंमा आएको हो ।

पहिलो प्याकेजको छोक्रेडाँडा–धेद्रेखोलासम्मको सुरुङमार्ग तथा पुल बनाउने ठेक्का पाएको चाइना स्टेट कन्स्ट्रक्शन इन्जिनीयरिङ कर्पोरेशन लिमिटेडको अधिकारी बुधवार नेपालमा आएको नेपाली सेनाले जानकारी दिएको छ । सेनाको व्यवस्थापनमा निर्माणाधिन द्रुतमार्गको दोस्रो प्याकेजअन्तर्गतको धेद्रेखोला–लेनडाँडासम्मको सुरुङमार्ग र त्यसअन्तर्गत पर्ने विशेष पुलको डिजाइन बनाउने टोली असार ९ गते काठमाडौंमा आई हाल साइटमा खटिएको छ ।

सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले चाइना स्टेटका २३ जनाको टोली आइसकेको र १० दिन क्वारेन्टाइनमा बसेपछि फिल्डमा खटिने जानकारी दिए । कारोना संक्रमणकै बीचमा कम्पनीको टोली नेपाल आएपछि तोकिएकै समयमा आयोजना सम्पन्न गर्न थप सहजता हुने सेनाको विश्वास छ । दु्रतमार्गमा ती ३ स्थानमा सुरुङमार्ग र १६ ओटा जटिल खाले पुल निर्माणका लागि चिनियाँ २ कम्पनीसँग वैशाख ३१ ग्ते ठेक्का सम्झौता भइसकेको छ ।

द्रुतमार्गमा सुरुङमार्गको दूरी ६ दशमलव ४१ किलोमीटर रहेको छ भने जटिल खाले पुलको लम्बाइ १० दशमलव ५९ किमी रहेको छ । नेपाली सेनाले इन्जिनीयरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्शन (ईपीसी) माध्यमबाट द्रुतमार्गका यी संरचना निर्माणका लागि ठेक्का सम्झौता गरिसकेको छ । सोहीअनुसार ती कम्पनीका अधिकारीले सुरुङमार्गसहित बन्ने विशेष पुल र निश्चित सडकको डिजाइन गर्नेछन् ।

सेनाका अनुसार ६ महीनाभित्र यी कम्पनीले डिजाइन तयार गरिसक्नुपर्ने कार्यादेश छ । सेनाले रू ५० अर्ब १४ करोड लगानीमा साढे ३ वर्षभित्र सुरुङमार्गसहितका विशेष खालका पुल निर्माण गर्ने गरी यी २ चिनियाँ कम्पनीसँग सम्झौता गरेको हो । द्रुतमार्गमा बन्ने सुरुङमार्गसहित पुलको पहिलो प्याकेजको लागत रू। २१ अर्ब ६१ करोड र दोस्रो प्याकेजको लागत रू २८ अर्ब ५३ करोड छ ।

सेनाले गत आर्थिक वर्ष ०७७/७८ मा रू ८ अर्ब ९६ करोड ८८ लाख बजेटमा वार्षिक प्रगति ९७ दशमलव ३४ प्रतिशत प्राप्त भएको उल्लेख गरेको छ । आयोजनाको कुल कार्य प्रगति भने १६ दशमलव २१ प्रतिशत रहेको छ भने वित्तीयतर्फ कुल १४ दशमलव ५१ प्रतिशत लक्ष्य प्राप्त भएको सेनाको भनाइ छ । गत आवमा आयोजना स्थलमा १४ ओटामध्ये ८ ओटा बेलिब्रिज जडान भई सञ्चालनमा आएका छन् ।

सेनाले पुल तथा सरुङ निर्माण कार्यको लागि आवश्यक पर्ने पहुँचमार्ग निर्माण अघि बढाएको छ । हालसम्म ९१ दशमलव ५ प्रतिशत जग्गा अधिकरण तथा मुआब्जा वितरण सम्पन्न भएको भन्दै सेनाले खोकना–बुङमति इलाकामा रहेको जग्गा विवाद समाधान गर्न उप–समिति गठन गरेको उल्लेख गरेको छ । सेनाले आयोजना स्थलमा रूख कटान भएअनुसार हालसम्म २ लाख ४९ हजार १६६ ओटा रूखका बिरुवा रोपिसकेको छ । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।