• १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
  •   Unicode
Logo
Latest
★   पाकिस्तानी दूतावासद्वारा १८० नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान ★   सहकारी ठग्ने सञ्चालकको सम्पत्ति जफत गरी बचतकर्तालाई तिरौं: गृहमन्त्री रवि लामिछाने ★   योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री ★   बजारमा निम्न गुणस्तर चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई जरिवाना,बजारबाट फिर्ता ल्याउन निर्देशन ★   पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय ★   नक्कली भूटानी शरणार्थी प्रकरणः आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश ★   टोपबहादुरलाई धरौटीमा छाड्न अस्वीकार ★   निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छ: अर्थमन्त्री पुन ★   कतारसँगको श्रम सम्झौता पुनरावलोकन गर्न बाँकी रहेकाले अमिरको भ्रमणमा सम्झौता हुन सकेन: राजदुत ढकाल ★   डढेलोले पाइप जल्यो, खानेपानीको समस्या

आइसल्याण्डमा नेपाली खाना चिनाउँदै आशकुमार



आइसल्याण्ड । ‘हिमालय स्पाइस’ । युरोपको सम्पन्न देश आइसल्याण्डको राजधानीमा रेक्याभिकमा अवस्थित एक होटलको यो साइनबोर्ड मात्र पढ्दा नेपाली होटल हो जस्तो पनि लाग्दैन ।

राजधानी रेक्याभिकको मुटुमा अवस्थित यो होटलमा खाना खान जानेको लाइन हेर्दा त झन् नेपाली भनेर कसरी थाहा पाउनु ? खाना खान जानेमा युरोपियनहरुकै भिड । नेपाली त झन् कहाँ पाउनु ? आइसल्याण्डमा रहेका पूरै नेपालीको संख्या १७० छ । तर होटलको गेटनिर पुग्नासाथै थाहा हुन्छ नेपाली स्वाद । नेपाली खानाको फ्लेभर बाहिरै आउँछ अनि भित्र देखिन्छ नेपालीपनको सजाजट ।

होटलभित्र छिर्दा यस्तो नेपाली शैली देख्न सकिन्छ कि त्यस्तो बरु नेपालमा पाइँदैन । नेपाल झल्कने चित्र र पौवा धेरै छन् । लुङदार टाँगिएको भित्रीको परिवेशमा तामाका भाँडा र अरु नेपालको परम्परा झल्किने स्थानीय वस्तुको सजावट ।

काठको एकापट्टीको र्याकमा नेपाली पुस्तकहरु । नेपाली हिमाल र पहाडका दृश्य त हिमालमै पुगेसरी सजाइएका । यो हेरिरहँदा लाग्छ, नेपालभन्दा ७ हजार ७ सय ७० किलोमिटर टाडा आफू पुगेको महसुस कुनै पनि नेपालीले गर्दैन ।

हामी पनि कात्तिकको अन्तिम साता त्यहाँ पुग्यौँ । हामी भित्र छिर्दा अधिकांश स्थानीयहरु खाना खान टेबलमा बसेका थिए । तर थोरैको टेबलमा मात्र देखिन्थ्यो आइसल्याण्डको स्थानीय खाना । अधिकांशले बासनादार ‘नेपाली थाली’ लिएर बसेका थिए । नेपाली थाली । जुन अहिले नेपाल र विश्वका कैयौँ देशमा प्रचलित छ– चरेसको थालमा भात र कचौरामा तात्तातो दाल, तरकारी, अचार साग, अचार, चटनी, मांसहारीका लागि मासु आदि ।

आशकुमार गुरुङ र उनका स्टाफ निकै हतारोमा थिए, ग्राहकबाहेक अरुसँग बोल्ने फुर्सद उनीहरुसँग थिएन । पाहुनाका टेबलामा नेपाली थाली पुर्याउन उनीहरुलाई भ्याइनभ्याइ थियो । पहिलो पटक नेपाली खाना खान पुगेका युरोपियन पाहुनाका अनेकथरि जिज्ञासा । नेपाली खानाजस्तै मिठो अनि हँसिलो मुखमा आशकुमार हामीलाई ‘एक्कैछिन् है हजुर’ भन्थे र टेबलका पाहुनाको जिज्ञासा मेटाउँदै गर्थे ।

चितवन घर भएका गुरुङ नेपालमा रहँदा कायाकिङका खेलाडी । पछि प्रशिक्षक पनि भए । पछि भने त्यही खेलको गोरेटोले डोर्याउँदै उनलाई यो चिसो युरोपियन देशसम्म ल्याइपुर्यायो ।

गुरुङ कायाकिङ प्रशिक्षकका रुपमा सन् १९९५ मा आइसल्याण्ड पुगेका हुन् । रोमाञ्चक पर्यटक प्रशिक्षकका रुपमा आइसल्याण्ड पुगेका गुरुङको हातमा एउटा जादुमय सिप थियो– मिठो खाना बनाउने । त्यही सीपले आज उनको जीवनमा नयाँ मोड ल्याइदिएको छ । लाग्छ, भोलिका दिनमा उनलाई यसैले एक सफल उद्यमीका रुपमा पनि स्थापित गर्नेछ ।

नौलो ठाउँ नौलो परिवेश । त्यसमा पनि थोरै जनसंख्या भएको यो सुदूर उत्तरी युरोपमा अवस्थित हिउँको देश । पहिलो पटक पुगेका यी नेपालीले आँट गरे र सुरु गरे हिमालय स्पाइस ।

यहाँ आफ्नो परिवारका १३ जना सदस्यसहित स्थानीयलाई समेत रोजगारी दिएका गुरुङ नौलो ठाउँ, परिवेशमा सुरु गरेको व्यवसायले त्यहाँ रहेका अन्य १७० जति नेपालीलाई समेत प्रेरणा मिलेको छ । उनले नेपाली थाली खानासँगै, मम, रोटीलगायत नेपाली खानालाई मज्जासँग ब्राण्डिङ गरेका छन् । योसँगै नेपाली शैलीको घरेलु मदिरासमेत चिसो ठाउँमा स्थानीयलाई जिउ तताउने साधन बनाएका छन् ।

केही समयअघि एक अन्तर्राष्टिय कार्यक्रममा सहभागी हुन आइसल्याण्डको राजधानी रेक्याभिकमा पुग्नुभएका राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि उनले नेपाली खाना चखाए । सोही अवसरमा पुगेका अन्य नेपालीले पनि घरको स्वाद बिर्संदै नेपाली खानाको स्वाद लिए । उनीहरु भन्दै थिए यति स्वादिलो थकाली खाना त नेपालमा पनि हत्तपत्त भेटिँदैन । तर यहाँको खानाले त ‘पेट भरियो मन त भरिँदैन’ ।

यो पनि पढ्नुहोस- आइसल्याण्डमा रहेका नेपालीले अभिभावक भेटेपछि

तात्तातो बाफसहितको थाली सेटमा झ्वाइँ झानेका गाईको घ्यू हाल्दा त्यसको बासनाले वरपरको वातावरण नै तरंगित बनाउँछ । भादगाउँले टोपीमा क्रस खुकुरीको ब्याचमा देखिने आश र उनको टोलीलाई साँझको समयमा त बोल्ने फुर्सदसम्म हुँदैन । हतारोका बीच गुरुङले भने, “यहाँका स्थानीयले नेपाली खाना र यसको स्वाद निकै मन पराउँछन् । प्राय पाउरोटी र यसका विभिन्न परिकार खानेहरुका लागि नेपाली खानाको स्वाद जिब्रोमा निकै गडेको छ ।”

“आवश्यक सामग्रीहरु यहाँ खासै पाइँदैन, खाना खाने थाल, कचौरा गिलासलगायतका समानसँगै मसलाहरु नेपालबाट ल्याउँछु र चामल तरकारीलगायत भान्साका लागि आवश्यक पर्ने सामग्रीहरु विभिन्न देशबाट मगाउने गरेको छु”, उनले भने, “यो सारै चिसो ठाउँ हो, यहाँ आलु, भेडा, माछा लगायत चिज मात्र पाइन्छ, अन्य कुरा भने बाहिरबाट मगाउने हो । त्यसैले केही महङगो त पर्छ । तर यहाँको प्रतिव्यक्ति आम्दानीका हिसाबले ठिकै हो ।

उनलाई २५ वर्षअघि पहिलो पटक यहाँ आइपुग्दा त तुरुन्त नै फर्कौं जस्तो लागेको थियो । “जताततै हिउँ, असाध्यै चिसो, बिरामी परियो, कायाकिङ सिकाउन आएको ज्यान जोगाउन पो कठिन होला जस्तो भयो । केही समय बसेर नेपाल नै फर्किएँ”, गुरुङले भने, “फेरि उताका साथीले निकै जोडबल गरे, फेरि केही समयपछि यतै फर्किएँ बिस्तारै आफूले जानेको सीपको सदुपयोग गर्दे गए । आज यो अबस्थामा आईपुग्यो ।”

कमै मात्र नेपाली पुग्ने यो ठाउँमा पहिलो पटक २५ वर्ष अगाडि पुगेका नेपाली आशकुमार गुरुङले बनाएको गोरेटोमा अहिलेसम्म १७० जना नेपाली विभिन्न पेशा र व्यवसाय गरेर बसिरहेका छन । त्यहाँ रहेका नेपालीको अभिभावकका रुपमा रहेका आशको हिमालय स्पाइस नेपालीहरुको भेटघाट गर्ने चौतारी पनि बनेको छ ।

करिब ३ लाख ६२ हजार जनसंख्या रहेको एटलान्टिक महासागरको माथिल्लो समुन्द्रको बीचमा रहेको एउटा अनौठो जस्तो लाग्ने टापुमा आशले हातमा सीप भए जहाँ पनि जम्न सकिन्छ भन्ने आश देखाएका छन् ।