८ पुष २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुप्से झरनामा आन्तरिक पर्यटकको भीड



अ+ अ-

गलेश्वर । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना क्षेत्रको अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने आकर्षकस्थल रुप्से झरनामा रमाउन आउने आन्तरिक पर्यटकका कारण यहाँको रौनक बढ्दै गएको छ ।

बेनी–जोमसोम–कोरला सडकखण्ड (कालीगण्डकी करिडोर) अन्तर्गत पर्ने यस झरनामा रमाउन विभिन्न जिल्लाबाट आएका आन्तरिक पर्यटकका कारण झरनामा भीड बढ्न थालेको छ । मुस्ताङ भ्रमणमा आउने प्रायः सबै पर्यटकले रुप्से झरनामा केही समय बिताउने गरेका छन् ।

मोटरसाइकल र निजी तथा भाडाका सवारी साधनबाट मुस्ताङ आउने–जाने पर्यटकको रोजाइमा रुप्से झरना पनि पर्ने गरेको छ । दुई वर्षअघि आएको भीषण बाढी र गत वर्षको पहिराले रुप्से झरना नजिकका पर्यटकीय पूर्वाधार बगाएको थियो । अग्लो पहाडबाट खस्ने यस झरनामा नजिकका ढुङ्गा र झरनाको पानीमा पर्यटकले तस्बिर खिचाउने र टिकटक बनाउने गरेका छन् ।

पूर्वाधार निर्माणसँगै चिटिक्क परेको रुप्से झरनालाई गत वर्ष बाढीले क्षति पु¥याए पनि कोरोना सङ्क्रमणको जोखिम कम हुँदै गएपछि रुप्सेमा रमाउन आएका पर्यटकका कारण यो झरना पुनः पुरानै लयमा फर्किएको हो । विश्वको सबैभन्दा गहिरो अन्धगल्छी र मनमोहक रुप्से झरना एकै स्थानमा अवस्थित छन् । उक्त झरना र अन्धगल्छीमा पर्यटकीय महत्वको भए पनि यसबाट स्थानीयवासीले उचित लाभ लिन भने सकिराखेका छैनन् । पर्यटकलाई निःशुल्क अवलोकन गर्न दिइँदा लाभ लिन नसकेको स्थानीयवासीले बताएका छन् ।

झरनामा रमाउनका लागि आएका पर्यटक सडकमा नै गाडी रोकेर झरनाको अवलोकनमा मुग्ध बनेपछि सडकसमेत अवरुद्ध हुने गरेको छ । झरना र गल्छीसम्म पुग्न व्यवस्थित पदमार्ग र अवलोकनका लागि भ्यू टावरका साथै अवलोकनकर्ताका लागि उचित बास र शौचालयको समेत व्यवस्था हुनुपर्ने पर्यटकको माग छ ।

विसं १९७५ मा ७५ पैसाको हुलाकी टिकटमा रुप्से झरनाको फोटो टाँसिए पनि अहिले उक्त टिकट प्रचलनमा छैन । साविकको दाना गाविसले झरना र अन्धगल्छीको मुख्य भागसम्म पुग्ने पदमार्ग तथा भ्यू टावर निर्माण गरेको छ । अन्नपूर्ण गाउँपालिका पूर्वप्रमुख क्या डमबहादुर पुनले आधारभूत आवश्यकताका पूर्वाधार विकासमा गाउँपालिकाले प्राथमिकताका साथ बजेट विनियोजन गरेर रुप्सेको सौन्दर्यलाई जीवन्त राख्ने योजना ल्याउनुपर्ने बताउनुभयो ।

झरनामा कान्छा भूमेदेवताको बासस्थान रहेको विश्वासले हरेक वर्षको जेठ महिनामा स्थानीयवासीले बोका बलि चढाउने गर्छन् । झरनालाई धार्मिक दृष्टिकोणले समेत पर्यटकीय गन्तव्य बनाउन सकिने सम्भावना देखिएको छ ।