२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एमाले कमजोर छैन, गलत तथ्यांक प्रश्तुत नगरौँः विष्णु रिमाल



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले नेकपा एमाले आसन्न निर्वाचनमा कमजोर नभएको दाबी गर्नुभएको छ ।

उहाँले अहिले बाहिर आइरहेका तथ्यांकहरु मिथ्यांक भएको र त्यो कुनैपनि संस्थाहरुले सर्वेक्षण नगरीकन भनिएको बताउनु भयो । उहाँले गलत तथ्यांक पेस गर्नु भन्दा सही तथ्यांक भए सरकारको तर्फबाट रिपोर्ट प्रश्तुत गर्न गृहमन्त्री बालकृष्ण खाँणलाई चुनौती दिनुभयो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले गलत तथ्यांकहरु प्रश्तुत गर्दै जानु भन्दा निर्वाचन आयोगसमक्ष आफू पनि कानून मिच्छौँ, अरुलाई पनि मिच्न दिनुपर्छ भन्नसक्ने बताउनु भयो । उहाँले गठबन्धन सरकारले छद्म काम गरिरहेको र त्यसलाई पुष्टि गर्नको लागि अन्तर्राष्ट्रिय फेक न्युज एजेन्सी, न्युज पोर्टलहरुलाई प्रयोग गरेको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘जे तथ्य, तथ्यांकहरु बाहिर आइराखेका छन् ती मिथ्यांक मात्रै हुन् । त्यसमा कुनैपनि संस्थाहरुले सर्वेक्षण गरेका छैनन् र त्यो बाहिर आएको पनि छैन । म चुनौती नै दिनसक्छु गृहमन्त्रीजीलाई त्यस्तो छ भने त रिपोर्ट नै बाहिर ल्याए भयो नि त । बाहिर ल्याउने हो भने अरु विश्वसनीय संस्थाहरुले गरेका सर्वेक्षणलाई नि बाहिर ल्याउनलाई उहाँले आग्रह गर्नुपर्यो । निर्वाचन आयोगलाई भन्नुप¥यो, हामी कानून मिच्छौँ । मिच्न अरुलाई पनि दिनु भन्नुपर्यो ।

उहाँहरु छद्म काम गरिरहनुभएको छ र छद्म कामलाई पुष्टि गर्नका लागि उहाँहरुले अन्तर्राष्ट्रिय फेक न्युज एजेन्सी, न्युज पोर्टलहरुलाई प्रयोग गर्नुभएको छ । मैले थाहा पाएको नेपाल ब्रिटेन यस्तै के नाम गरेको कुनै एउटा वेबसाइटमार्फत एउटा नक्कली सूचना बाहिर आयो त्यसमा एउटा अमुक दल संलग्न छ भन्ने सुनेको छु । त्यो गर्नुको कारण त्यसमार्फत सामाजिक सञ्जालमा यसलाई बढी प्रचारित गर्ने, भाइरल गर्ने र जनतालाई हो क्यारे भनेजस्तो भ्रम दिने काम हुन खोजिरहेको छ । यो स्वच्छ निर्वाचनको लागि निन्दनिय काम हो ।’