२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

बगर बन्यो मेलम्ची, काठमाडौंमा खानेपानी अझै अनिश्चित



अ+ अ-

काठमाडौं । दुई पटकको बाढीले क्षतविक्षत बनाएको मेलम्ची खानेपानी आयोजनाले काठमाडौँ उपत्यकावासीको तिर्खा मेटाउने विषय थप अन्योल बनेको छ ।

असार १ र साउन १७ गतेको बाढीले आयोजनाका भौतिक संरचनामा क्षति पुर्याएपछि आयोजना नै अनिश्चित भएको छ । लेदोसहितको बाढीले हेडवक्स निर्माणस्थल पुरिएर बगर भएको छ ।

निर्माणस्थलमा पुग्ने सडक, हेडवक्स, पुल र सुरुङको पुनः निर्माण नभई पानी पठाउन सकिने अवस्था छैन । मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले भने, “पुरिएका सबै संरचना सफा गर्नु प¥यो । वैकल्पिक माध्यमबाट पानी पठाउन सकिने अवस्था हो तर त्यो पनि निर्माण गर्नुपर्छ । पहिला सडक बन्नुपर्छ, अब कसरी अगाडि बढ्ने भन्ने कुराको निश्चित भइसकेको छैन ।”

असार १ गतेको भन्दा साउन १७ गतेको बाढी ठूलो रहेको हेलम्बु गाउँपालिकाले जनाएको छ । खोलाले लेदोसहितको माटो बालुवा ल्याएर बगर क्षेत्र विस्तार गरिरहेको छ । खोलाको उचाइ पनि बढाइरहेको छ । जसले गर्दा मेलम्ची आयोजनाका हेडवक्सदेखिका सबै संरचना पुरिएका छन् । नदीले धार परिवर्तन गरेको छ ।

हेलम्बु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुहरि तिमल्सेनाले भने, “हिमालको तल्लो भेगमा पहिरो गइरहेका छन् । भेनाथाङमा ठूलो पहिरो गइरहेको छ । अझै ७५ प्रतिशत त्यो पहिरो झर्न बाँकी रहेको भनिएको छ । त्यसले नदी थुनिने, अझै बाढी आउने सम्भावना छ । जुनसुकै बेला पनि बाढी आउन सक्ने अवस्था छ । मेलम्ची आयोजना सबै पुरिएर बगर भएको छ । ”

बाढीले आयोजनाका भौतिक संरचना पुरिएका छन् । पुलहरू बगाएका छन् । निर्माणस्थलमा बालुवा, ढुङ्गा् गिट्टी थुप्रिएर बगर भएको छ । बाढी आउने र पहिरो जाने क्रम नरोकिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । तत्काल निर्माणस्थल पुगेर काम सुरु गर्न सक्ने अवस्था छैन । बाटो अवरुद्ध भएका कारण कुनै पनि औजार लिएर जान सक्ने अवस्था नरहेको पन्तको भनाइ छ ।

उनका अनुसार आयोजना निर्माणस्थलमा पुग्ने पहुँचमार्ग र पुल बाढीले बगाएकाले ट्र्याक खोल्नुपर्ने अवस्था छ । तर वर्षात्मै ट्र्याक खुला गर्न सकिने अवस्था छैन । मेलम्ची बजारदेखि १६ किलोमिटर अगाडि टिम्बुअगरी खण्डमा मोटरबाटो बगाएको छ । सो स्थानमा नयाँ ट्र्याक खोल्नुपर्छ । समितिका अनुसार करिब आठ स्थानमा नयाँ ट्र्याक खुलाउनुपर्नेछ ।

हेडवक्स करिब १५ मिटर पुरिएको समितिले जनाएको छ । हेडवक्समा करिब पाँच लाख घनमिटर गिट्टी, बालुवा र ढुङ्गा थुप्रिएको छ । त्यसलाई हटाउन करिब ४० करोड रुपियाँ लाग्ने अनुमान गरिएको छ । अस्थायी ड्याम र पुलहरू सबै बाढीले बगाएको छ ।

हाल सुरुङभित्र पानी भरिएको छ । अम्बाथानको सहायक सुरुङ टालिएर अवरुद्ध छ । आयोजनामा करिब तीन अर्ब बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ तर विस्तृत अध्ययन हुन बाँकी नै छ ।

बाढीले आयोजनाको सुरुङमा भने क्षति पुर्याएको छैन । आयोजनाका अनुसार माथिल्लो तटीय क्षेत्रको भौगर्भिक अवस्थाबारे अध्ययन नगरी मेलम्ची आयोजना के हुन्छ भन्न सक्ने अवस्था छैन । जुनसुकै बेला लेदोसहितको बाढी आउन सक्ने सम्भावना रहेकाले तटीय क्षेत्रको अध्ययन गरी दीर्घकालीन योजना बनाउनुपर्ने आवश्यकता रहेको खानेपानी मन्त्रालयले जनाएको छ । गोरखापत्र दैनिकमा खबर छ ।