५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल बालुवाटार न बालकोट



अ+ अ-

काठमाडौं । मन्त्रिपरिषद् विस्तार ढिलाइले सरकारका कामकारबाही प्रभावित भइरहेका बेला एमाले वरिष्ठ नेता माधवकुमार नेपालले सत्ता गठबन्धनसँग थप समय मागेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेता नारायणकाजी श्रेष्ठसँग मंगलबार बिहान भएको भेटमा नेपालले पार्टी एकताका लागि छलफल चलिरहेको उल्लेख गर्दै सरकारमा सहभागी हुनेरनहुने विषयमा दुईरतीन दिन पर्खन आग्रह गरेका हुन् । नेपाललाई पर्खने भन्दै कांग्रेस र माओवादी आफैंले पनि ढिलाइ गरिरहेका छन् । 

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष दाहालले नेता नेपाललाई सरकारमा सहभागी हुन आग्रह गर्दै आएका छन् । देउवाले यसका लागि पहल गर्न दाहाललाई जिम्मा दिएका छन् । यसै सन्दर्भमा दाहाल र नेपालबीच पटक–पटक कुराकानी भइसकेको छ । पार्टी एकताका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग राजनीतिक र सैद्धान्तिक अडान राखेकाले नेता नेपाल निर्णयमा पुग्न नसकेको स्रोतको भनाइ छ । नेता नेपालले पार्टीको संस्थापन पक्षसँग र आफ्नो समूहमा बुधबार छलफल गरेर उपयुक्त निर्णय लिने जानकारी सत्ता गठबन्धनलाई गराएका छन् ।

दाहाल र श्रेष्ठसँगको भेटमा नेता नेपालले प्रतिनिधिसभा विघटन गलत भएको स्विकार्दै पुनःस्थापित प्रतिनिधिसभाको कार्यकाल पूरा राख्ने सुनिश्चित गर्न अध्यक्ष ओली पक्ष तयार भए पार्टी एकता सम्भव हुने बताएको स्रोतले जनाएको छ । माओवादी नेता श्रेष्ठका अनुसार नेपालले आफू सकभर पार्टी एकताको पक्षमा भएको बताएका थिए । ‘उहाँ ९नेपाल० ले आफ्नो निर्णय (मन्त्रिपरिषद् विस्तार) तपाईंहरू गर्नुस्, पार्टी एकता कुनै कारण भएन भने त्यतिबेला सल्लाह गरौंला भन्नुभयो,’ श्रेष्ठले कान्तिपुरसँग भने ।

नेता नेपाल देउवा सरकारमा सहभागी हुने मनस्थितिमा भए पनि उनी पक्षका स्थायी कमिटी नेताको दबाबका कारण अन्योलमा परेको स्रोतको भनाइ छ । उनले यसबारे सुझाव लिन बुधबार आफ्नो पक्षको केन्द्रीय कमिटी बैठक बोलाएका छन् । नेपालपक्षीय नेता एमाले स्थायी कमिटी सदस्य वेदुराम भुसालले तत्काल सरकारमा जान नसक्ने बताए । ‘अहिले हाम्रो प्राथमिकता सरकारमा जाने होइन । पार्टीको कुरा नटुंगिईकनै सरकारमा जाने हुँदैन,’ उनले भने ।

देउवा, दाहाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच सोमबार बसेको बैठकले सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेर मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने सैद्धान्तिक सहमति गरेको थियो । मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएपछि देउवामाथि चौतर्फी दबाब परिरहेको छ । बुधबार साँझसम्म न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी छ ।

नेपाल किन प्राथमिकतामा ?

तत्कालीन प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन निर्णायक भूमिका एमालेको नेपाल समूहले निर्वाह गरेको थियो । त्यसैले सत्ता गठबन्धनले ‘सामान्य सहकार्य’ का रूपमा नभई रणनीतिक योजनाअन्तर्गत नेपाल समूहलाई सहभागी गराउन खोजेको छ । ‘एमालेलाई काउन्टर दिन सरकारमा माधव नेपाल पक्षको सहभागिता जरुरी छ । त्यसैले सम्पूर्ण प्रयास भइरहेको छ । त्यसमा पनि मुख्य जोड प्रचण्डजीको छ,’ माओवादी केन्द्रका स्थायी कमिटी सदस्य गणेश साहले भने, ‘केही मन्त्रालय र अरू ठाउँमा नियुक्ति दिनुपरे पनि दिएर ल्याउने भन्ने छ ।’ यसअघि नेपालकै प्रस्तावमा राष्ट्रिय सभामा खिमलाल देवकोटालाई ल्याएको उल्लेख गर्दै उनले ओलीजीलाई कमजोर पार्ने गठबन्धनको रणनीति रहेको बताए । ‘ओलीबाहेक हामी सबै एक छौं भन्ने सन्देश पनि बाहिर जान्छ,’ उनले भने ।

नेपाल पक्ष सरकारमा सहभागी हुनु भनेको एमाले विभाजन हुनु हो । एमाले विभाजन भएपछि त्यसको प्रत्यक्ष राजनीतिक फाइदा माओवादीलाई पुग्ने आकलन छ । कांग्रेसले पनि एमाले विभाजन चाहेको छ । नेताहरूका अनुसार गठबन्धनले नेपाललाई यति धेरै महत्त्व दिनुको अर्को कारण हो– सरकारको बहुमत सुरक्षित गरिरहनु । प्रधानमन्त्री देउवालाई नेपाल समूहका २२ सांसदले विश्वासको मत दिएका छन् । देउवाले साउन ३ मा संसद्मा १ सय ६५ सांसदको विश्वासको मत पाएका थिए । यो टिकाउ अंकगणित होइन । कांग्रेसका ६१, माओवादीका ४८, जसपाका २० तथा जनमोर्चा र स्वतन्त्र एक–एक गरी १ सय ३१ सांसद मात्रै सत्ता गठबन्धनसँग छन् । प्रतिनिधिसभामा बहुमतका लागि थप ५ सांसद आवश्यक पर्छ ।

निर्वाचन आयोगले जसपाको उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएपछि महन्थ ठाकुर समूहका पाँच सांसद यादवतिर आए गठबन्धनलाई बहुमत त पुग्छ तर यो भरपर्दो देखिँदैन । ‘नेपाल समूहले एमालेमा विद्रोह गरेर नयाँ पार्टी बनाए सत्ता गठबन्धन सुरक्षित हुन्छ । यही एउटा महत्त्वपूर्ण रणनीतिलाई ध्यानमा राखेर नेपाल समूहलाई सरकारमा सहभागी गराउने कोसिस भइरहेको हो,’ गठबन्धनका एक नेताले भने । जसपाले ठाकुर समूहका १२ सांसदलाई हटायो भने सत्ता गठबन्धन बहुमतमै हुन्छ ।

गठबन्धनले नेपाल समूहलाई सरकारमा ल्याउँदा मात्र प्रतिनिधिसभा पूरा कार्यकाल चल्न सक्ने विश्वास लिएको छ । देउवा अल्पमतमा परे पनि प्रतिनिधिसभा विघटन गरेर निर्वाचनमा जानुपर्ने अवस्था आउन सक्छ । ‘नेपाल समूह सरकारमा सहभागी भएन भने सरकार अल्पमतमा परेको सन्देश जाने र त्यसले फेरि प्रतिनिधिसभा विघटनको खतरा निम्त्याउन सक्ने देखिन्छ,’ गठबन्धनका एक नेताले भने, ‘हरहालतमा संसद्को कार्यकाल पूरा होस् भन्ने हाम्रो चाहना छ । त्यसका लागि नेपाल समूहलाई सरकारमा ल्याउने प्रयत्न भइरहेको छ ।’

तत्कालीन प्रधानमन्त्री ओलीले गत पुस ५ र जेठ ८ मा प्रतिनिधिसभा विघटन गर्दा उनकै पार्टीका नेता नेपाल विरोधमा उत्रेका थिए । ‘प्रतिनिधिसभा विघटनविरुद्ध भएको मोर्चाबन्दी सही थियो भन्ने सन्देश दिनैपर्ने हुन्छ । यो सत्ताको होइन, संवैधानिक र राजनीतिक प्रश्न थियो । यो सन्देश दिन पनि नेपालको सरकारमा सहभागिता चाहिएको छ,’ गठबन्धनका ती नेताले भने । उनले बलियो गठबन्धनमार्फत अदालतको आदेशको औचित्य पुष्टि गर्न पनि जरुरी रहेको बताए । नेता नेपाललाई सरकारमा सहभागी गराउने गठबन्धनका नेताहरूको अर्को रणनीति हो– चुनावसम्म सहकार्य । गठबन्धनका नेताहरू सहकार्यलाई दिगो बनाउने योजनामा छन् ।

‘एजेन्डा मिल्नेहरूबीच बलियो गठबन्धन बन्यो भने चुनावमा लाभ हुन्छ । त्यसैले देउवा, दाहाल र यादवले गठबन्धनमा नेपाललाई खोजिरहेका छन्,’ नेपालनिकट एक नेताले भने । तर, नेपाललाई लामो समय पर्खंदा सरकारको कामकारबाही प्रभावित हुने भएकाले प्रधानमन्त्री देउवा र माओवादी केन्द्र अध्यक्ष दाहाल धेरै नपर्खने मनस्थितिमा पुगेका छन् । नेताहरूका अनुसार यही साताभित्र मन्त्रिपरिषद् विस्तार हुनेछ ।

अरू दलमा आकांक्षीको दबाब

सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी र जसपाले एमालेको नेपाल समूह सरकारमा आउँदा वा नआउँदा मन्त्रालय बाँडफाँट कसरी गर्ने भनेर मार्गचित्र बनाएका छैनन् । तीनवटै दलमा शीर्ष नेतृत्व मन्त्रीका आकांक्षीहरूको दबाबमा छन् । उनीहरूले कसलाई सरकारमा पठाउने भनेर सूची तयार गर्न सकेका छैनन् ।

देउवा प्रधानमन्त्री भएलगत्तै जसपा अध्यक्ष यादवले आफ्नो पार्टीको आधिकारिकता विवाद नटुंगिँदासम्म मन्त्रिपरिषद् विस्तारमा पर्खन आग्रह गरेका थिए । नेपाल समूहले पनि त्यतिन्जेल आफूहरू पनि निर्णयमा पुग्ने गठबन्धनका अन्य दलसँग जनाएको थियो । आयोगले जसपाको विवाद साउन ११ मा टुंग्यायो । त्यसपछि सत्तारूढ गठबन्धनले नेपाल समूहलाई पर्खिरहेको छ ।

नेता नेपालले साउन १४ आफूहरूलाई नकुर्न र मन्त्रिपरिषद् विस्तार गरेर अगाडि बढ्न माओवादी अध्यक्ष दाहाललाई भनेका थिए । आफ्नो पार्टीको विवाद समाधान नभए सरकारमा आउने ढोका भने खुलै राख्न उनको आग्रह थियो । त्यसपछि पनि गठबन्धनले मन्त्रिपरिषद् विस्तार गर्न सकेन । माओवादी अध्यक्ष दाहालसँग मंगलबार पनि नेता नेपालले हतार भए अगाडि बढ्न सुझाएका छन् ।

‘एमालेको आधा हिस्सा सरकारमा र आधा प्रतिपक्षमा बस्ने भन्ने हुँदैन । सरकारमा जाने विषय हाम्रो होइन भनेर हामीले पहिलादेखि नै भनेका हौं । तर बीचमा अरू के–के कारणले (मन्त्रिपरिषद् विस्तार) रोकिएको छ । तर यता देखाउन खोज्नुभएको कि !’ नेपालपक्षीय एमाले नेता वेदुराम भुसालले भने ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।