६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

दलित बस्तीमा भोट तान्ने होडबाजी

दलित बस्तीमा भोट तान्ने होडबाजी
अ+ अ-

रेसुङ्गा । गुल्मीको धुर्कोट गाउँपालिका–७ वाग्लाकी डल्ली विक उमेरले ७१ वर्ष पुग्नुभयो । उहाँ प्रत्येक निर्वाचनमा मतदाताका रूपमा साक्षी हुनुहुन्छ । निर्वाचनका समयमा आफ्नो बस्तीमा लाग्ने भोजभतेरको अनुभव उहाँसँग छ । वाग्लाको दलित बस्तीमा लाग्ने भोजभतेर कुनै मेलापर्व र उत्सव नभई निर्वाचनका लागि भोट तान्नका लागि भएको हो ।

भोट तान्ने होडबाजीले चामलको बोरा बाँड्ने र भोजभतेर गर्ने गरेको स्थानीयवासी डल्ली बिकले बताउनुभयो । “निर्वाचनका समयमा भोट तान्न हाम्रो बस्तीमा भोजभतेर लाग्छ अनि टाठाबाठाले चामलको बोरा पनि घर लैजान्छन्”, उहाँले भन्नुभयो, “हामी एक्लै भएकाहरूलाई त्यो पनि दिँदैनन् ।” उहाँका अनुसार यस बस्तीमा कसले नगद बढी दिने वा भोजभतेर लगाएर भोट भनेर पार्टीको होडबाजी चल्ने गर्दछ ।

वाग्लाको सोही बस्तीका ४९ वर्षीय टेकबहादुर सुनार पनि स्थानीय नेता तथा कार्यकर्ताहरूले आफूहरू माथि दमन गरेको बताउनुहुन्छ । आफ्नो बस्तीलाई तल्लो वर्गका रूपमा हेरेर कुनै विकासे योजना नभई सामान्य नगद र जिन्सी बोकेर छिर्ने गरेको उहाँले गुनासो गर्नुभयो । “अघिल्लो निर्वाचनमा प्रतिघर एक बोराका दरले चामल बाँडेर नेताहरू चुनाव जितेपछि फर्किएनन्”, उहाँले भन्नुभयो, “हाम्रो बस्तीमा रहेको गरिबी, अशिक्षा र अभावलाई माथिल्लो वर्गका केही व्यक्तिले फाइदा उठाइरहेका छन् ।” उहाँले राजनीतिक दलको दमनमा आफूहरू रहेको बताउनुभयो ।

सोही बस्तीका ६४ वर्षीय एकल महिला झुवी विक घरमा आफूमात्र हुनुहुन्छ । छोराबुहारी रोजगारीका लागि भारत गएपछि उहाँ एक्लै बस्न बाध्य हुनुभयो । उहाँको एकलपनलाई राजनीतिक दलले फाइदाका रूपमा लिएको झुवी विकले गुनासो गर्नुभयो । “यहाँ त सधैँ निर्वाचनमा नगद र चामल बाँडेर भोट तान्ने गर्छन्”, उहाँले भन्नुभयो, “मलाई त एकल भनेर नगद र चामल केही दिएनन् ।” छिमेकीलाई भनेर भोट हाल्न लगाउने तर अरुलाई दिने सामग्री आफूलाई नदिने गरेको उहाँको गुनासो छ । सोही बस्तीका सावित्रा विकले पनि राजनीतिक दलले कुनै विकासको योजना ल्याउने नभई भोट तान्नेतर्फ केन्द्रित भएको आरोप लगाउनुभयो ।

वाग्लाको यस बस्तीमा एक सय ५० दलित घरधुरीमा झण्डै छ सय मतदाता छन् । आगामी मङ्सिर ४ गते हुने आम निर्वाचनका लागि मतदान गर्न एक साता मात्र बाँकी भए पनि कुनै दल वा दलका नेता तथा कार्यकर्ता घरदैलोमा नआएको स्थानीयहरू बताउँछन् । राजनीतिक दलहरू वाग्लाको दलित बस्तीमा कसले बढी प्रभाव पार्न सक्छ भन्ने होडबाजीमा हुन्छन् । स्थानीयवासीका अनुसार मतदानको दुई÷तीन दिनअघि मात्र यस बस्तीमा स्थानीय नेता कार्यकर्ता प्रवेशका लागि प्रतिस्पर्धा गर्दछन् ।

पाँच सय मिटर सडक पनि बनेन

वाग्लाको सोही बस्तीका अगुवा स्थानीयवासी गणेश विकले आफ्नो बस्तीमा पाँच सय मिटर बाटो पनि नबन्दा निकै सास्ती खेप्नु परेको बताउनुभयो । चुनावको मुखमा आश्वासन दिने अनि भोट भोजभतेरमै तान्ने त्यसपछि बेवास्ता गर्ने गरेको उहाँले बताउनुभएको छ ।

विसं २०५६ मा ट्र्याक खोले पनि बस्तीबीचको पाँच सय मिटर सडक हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुने समस्याले आफूहरूलाई सास्ती पुगेको उहाँको गुनासो छ । “घर नजिकै सडक छ, हिउँदमा धुलो र बर्खामा हिलो चुल्होमै पुग्छ”, उहाँले भन्नुभयो, “पटकपटक समस्या राखे पनि कुनै राजनीतिक पार्टीकाले हाम्रो समस्या बुझेनन् ।” उहाँका अनुसार बस्तीबीचको सडकमा ढल व्यवस्थापन गरेर ग्राभेल मात्रै गरे पनि आधा समस्या समाधान हुन्छ ।

जिल्लाको सदरमुकाम तम्घासस्थित रेसुङ्गा बहुमुखी क्याम्पसका राजनीतिशास्त्र तथा समाजशास्त्रका प्राध्यापक गुणनिधि शर्माले दलित बस्तीमा रहेको गरिबी, अशिक्षा र अभावमाथि माथिल्लो वर्गले वर्षौंदेखि दमन गर्दै आएको बताउनुभयो । “दलित बस्तीमा सामान्य जीविकोपार्जनका लागि पनि निकै समस्या छ”, शर्माले भन्नुभयो, “राजनीतिक दल वा दलका नेता तथा कार्यकर्ताले असचेत नागरिक माथि थिचोमिचो गरिरहेका छन् ।” दलित परिवारमा रहेको अन्धविश्वास, परम्परावादी सोच र आर्थिक अवस्था कमजोरका कारण उनीहरूमाथि राजनीतिक दलले भोट तान्ने होडबाजी गरेको उहाँले बताउनुभयो ।

भोट खरिद बिक्रीको अन्त्यका लागि सर्वप्रथम राजनीतिक दलमा सुधार आउनुपर्ने शर्माले बताउनुहुन्छ । दलित बस्तीमा सुधार आउन शिक्षा, स्वास्थ्य, रोजगारी र अन्य विकासमा आमूल परिर्वतन आउनुपर्ने भएकाले राजनीतिक दलले भोटका रुपमा मात्र नहेरी उनीहरुका समस्याप्रति पनि गम्भीर हुन जरुरी रहेको उहाँको भनाइ छ । रसस