७ माघ २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

फर्जी मतदानको खतरा छ, चनाखो रहनुस्ः प्रमुख निर्वाचन आयुक्त थपलिया



अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन बिथोल्ने व्यक्तिहरुलाई कारबाही गर्न खुट्टा नकमाउन निर्देशन दिएको छ ।

आयोगले कानूनको व्यवस्थालाई पूर्ण रुपमा अध्ययन गरी शतप्रतिशत कार्यान्वयन गराउन निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएको हो । आयोगले कानूनको प्रभावकारी कार्यान्वयनबाट मात्रै निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहीत हुने भन्दै निर्वाचनलाई बिथोल्ने कुनैपनि व्यक्ति र तत्वहरुलाई कारबाही गर्ने कुरामा पछि नहट्न निर्देशन दिएको हो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा शुक्रवार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कानूनको प्रभावकारी कार्यान्वयन गर्ने कुरामा निर्वाचन अधिकृतहरुले पूर्ण रुपमा पालना गर्न र गराउन निर्देशन दिनुभया ।

उहाँले निर्वाचन बिथोल्ने गतिविधि गर्नेहरुलाई नियन्त्रणमा लिइ निर्वाचन कसुर तथा सजाय ऐन अन्तर्गत कारबाही प्रारम्भ गर्न निर्देशन दिनुभयो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले कतिपय ठाउँमा जसरी पनि जित्नुपर्छ भन्ने मानसिकता भएका उम्मेदवारहरु हुने भएको भन्दै फर्जी मतदान हुने खतरा रहेकाले त्यसतर्फ बढी चनाखो हुन निर्वाचन अधिकृतहरुलाई निर्देशन दिनुभयो । उहाँले धेरै मतदान हुनु राम्रो भएपनि हँुदै नभएका व्यक्तिको मतदान गर्नु गम्भीर त्रुटी र निर्वाचनप्रतिको अवज्ञा भएकाले त्यसतर्फ शतर्कता अपनाउन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रा सबै कानूनी व्यवस्था पूर्ण छन् । मात्रै पालना गर्नेले पालना गर्नुपर्छ, कार्यान्वयन गर्नेले कार्यान्वयन गर्नुपर्छ । म सबै मतदान अधिकृत साथीहरुलाई कानूनको व्यवस्थालाई पूर्ण रुपमा अध्ययन गर्न र आफ्नो तर्फबाट शतप्रतिशत कार्यान्वयन गराउन र यदी कसैले पालना नगरे त्यस्ता व्यक्तिलाई पनि कानून बमोजिम कारबाही गर्न खुट्टा नकमाउन पनि अनुरोध गर्दछु ।

कानूनको प्रभावकारी कार्यान्वयनले नै निर्वाचन स्वच्छ, स्वतन्त्र र निष्पक्ष हुन्छ, कतिपय ठाउँमा मैले जसरी पनि विजय हाँसिल गर्नुपर्ने हुन्छ, निर्वाचन जित्नुपर्छ, भन्ने मानसिकता बोकेका प्रतिनिधि र उम्मेदवारहरुको कारणले फर्जी मतदान हुने खतरा पनि रही रहने अवस्था हुन्छ, धेरै मतदान हुनु राम्रो हो तर हँुदै नभएका व्यक्तिको मतदाता नामावलीमा नाम भएको तर मतदान गर्ने दिन त्यहाँ उपस्थित नभएका व्यक्तिको मतदान गर्नु गम्भीर त्रुटी हो र निर्वाचनप्रतिको यो अवज्ञा पनि हो ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदान गरिसकेको व्यक्ति पुनः मतदान गर्ने ठाउँमा आउँदा विभिन्न व्यवधान हुनसक्ने कुरालाई ध्यानमा राखि सुरक्षा निकायसँग समन्वय गरी त्यस्ता गतिविधि हुन नदिन पनि आग्रह गर्नुभयो । उहाँले निर्वाचन मतदान कार्यमा उम्मेदवारका प्रतिनिधि र उम्मेदवारहरुको पनि उत्तिकै महत्वपूर्ण भुमिका हुने भएकाले निर्वाचन कार्यलाई निष्पक्ष र स्वतन्त्र बनाउने कुरामा सहयोग हुने अपेक्षा गरेको बताउनु भयो । उहाँले निर्वाचन आयोगले निर्वाचनलाई भयरहीत र निष्पक्ष बनाउन स्थानीय तहबाट नै स्वयंसेवकहरु परिचालन गर्ने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मतदान कार्यमा सहजता हुँदाहुँदै पनि मतदान गरिसकेको व्यक्ति पुनः मतदान गर्ने ठाउँमा आउँदा विभिन्न व्यवधान हुनसक्छन्, साथै नजिकको मतदान केन्द्रबाट मतदान गरिसकेर फेरि अर्को मतदान केन्द्रमा पनि मतदाताहरु गइदिने र त्यसले पनि अफ्ठ्यारो स्थिति सिर्जना हुने गरेका छन् । यसमा सुरक्षा निकायसँग समन्वय गरी मतदान गर्नासाथ सबै मतदाताहरुलाई कुनै किसिमको भीडभाड हुन नदिइ आफ्नो घरतर्फ जानको लागि प्रेरित गर्ने, यदी कसैले आनाकानी गर्छ, निर्देशन पालना गर्दैन भने कानून बमोजिम कारबाही गर्नको निम्ति पनि आवश्यक प्रक्रिया प्रारम्भ गर्न अनुरोध गर्दछु ।

निर्वाचन मतदान कार्यमा उम्मेदवारका प्रतिनिधि र उम्मेदवारहरुको पनि उत्तिकै महत्वपूर्ण भुमिका हुन्छ । हामीले स्थानीय तहबाट नै स्वयंसेवकहरु परिचालन गर्दछौँ । उहाँहरुले पनि त्यो भुमिका निर्वाह गर्नुपर्ने हुन्छ । यो विषयलाई गम्भीरतापूर्वक लिइ सुरक्षा कार्यमा खटिने सुरक्षाकर्मी साथीहरुले समेत मतदान अधिकृतको निर्देशनलाई पालना गरी यदी कहीँ कसैले यस किसिमको प्रयत्न गरे तत्काल नियन्त्रणमा लिइ निर्वाचन कसुर तथा सजाय ऐन अन्तर्गत कारबाही प्रारम्भ गर्नपनि विशेष अनुरोध गर्दछु ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आयोग प्रतिनिधि सभा सदस्य एवं प्रदेश सभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको बताउनु भयो । उहाँले आयोगले अहिले सबै निर्वाचन अधिकृतको कार्यालयबाट मतदान कार्यमा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृत र अन्य कर्मचारीहरुको नियुक्ति भइ तालिम दिने प्रक्रिया प्रारम्भ भइसकेको बताउनु भयो । उहाँले मतदानको निम्ति मतपेटिका, मतपत्र लगायत आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरुको समान महत्व भएकाले सामानहरु रुजु गर्दा ठिक भए÷नभएको र पर्याप्त भए÷नभएको यकीन गर्न आग्रह गर्नुभयो ।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले आफूलाई तोकिएको मतदान केन्द्रमा समयमा नै पुगि तोकिएका निर्देशनका सूचनाहरु प्रकाशित गर्ने र ४८ घण्टा अघिदेखि कुनैपनि किसिमको प्रचारप्रसार गर्न निषेध गर्नुपर्ने व्यवस्था र मतदानको तीन दिनअघि सम्पूर्ण मतदान क्षेत्रभर, जिल्लाभर मदिरा निषेधित क्षेत्र घोषणा गर्नुपर्ने विषयलाई विशेष ध्यान दिन पनि निर्देशन दिनुभयो । मतदानको दिन मतदान केन्द्रको सम्पूर्ण निरीक्षण गरी मतदान कार्य प्रारम्भ गर्न पनि आग्रह गर्नुभयो । उहाँले निर्वाचनमा सबैभन्दा महत्वपूर्ण काम मतपत्रमा दस्तखत भएकाले निर्वाचन अधिकृतले यो कुरामा लापरबाही नगर्न पनि अनुरोध गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘प्रतिनिधि सभा सदस्य एवं प्रदेश सभा सदस्य निर्वाचनको तयारीको हामी अन्तिम चरणमा पुगिसकेका छौँ । अहिले सबै निर्वाचन अधिकृतको कार्यालयबाट मतदान कार्यमा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृत र अन्य कर्मचारीहरुको नियुक्ति भइ तालिम दिने प्रक्रिया प्रारम्भ भइसकेको छ । यो जिम्मेवारीलाई एउटा अवसरको रुपमा ग्रहण गरी अब ४ गते हुन गइरहेको मतदान कार्यलाई व्यवस्थित ढंगले सबै पक्षलाई मनन गरेर सम्पन्न गर्नुहुनेछ भन्ने आयोगले विश्वास लिएको छ । मतदान कार्यमा गर्नुपर्ने कार्यको सन्दर्भमा तालिम अवधिमा धेरै कुराहरु यहाँहरुले बुझ्नुहुनेछ ।

हामीले मतदान निर्देशिका छुट्टै तयार गरेर उपलब्ध गराएका छौँ । त्यसको पनि अध्ययन गर्नुहुनेछ । मतदानको निम्ति मतपेटिका, मतपत्र लगायत आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरु उत्तिकै आवश्यक छन् । आफूले बुझ्नुपर्ने सबै सामानहरु रुजु गरी ठिक भए÷नभएको पर्याप्त भए÷नभएको यकीन गर्नुहुनेछ । आफूलाई तोकिएको मतदान केन्द्रमा समयमा नै पुगि जुनजुन सूचना निकाल्नुपर्ने तोकिएको छ, ती सूचना प्रकाशित गर्दै मतदान हुनुभन्दा ४८ घण्टा अघिदेखि कुनैपनि किसिमको प्रचारप्रसार गर्न निषेध गर्नुपर्ने व्यवस्था र मतदानको तीन दिनअघि सम्पूर्ण मतदान क्षेत्रभर, जिल्लाभर मदिरा निषेधित क्षेत्र घोषणा गर्नुपर्ने विषयलाई विशेष ध्यान दिनुहुनेछ ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले यो पटक ४ वटा छुट्टा छुट्टै मतपत्रमा मतदान गर्नुपर्ने व्यवस्था गरिएकाले मतदातालाई राम्रोसँग बुझाउन पनि निर्देशन दिनुभयो । उहाँले सुरक्षा निकायसँग समन्वय गरेर सुरक्षा बन्दोबस्त प्रभावकारी बनाउन पनि आग्रह गर्नुभयो । प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदान केन्द्रमा मतदाता आउने कुरामा रोकतोक हुनसक्ने कुरामा पनि सचेत रहन आग्रह गर्नुभयो । उहाँले आयोगले प्राकृतिक विपद् बाहेक अन्य कुनैपनि बहानामा मतदान कार्यलाई स्थगित गरी पुनः मतदान गर्ने कार्यलाई गम्भीर रुपमा लिएको बताउनु भयो । उहाँले कतै असमझदारी भए त्यसलाई केही समयका लागि स्थगन गरी फेरि अवस्थालाई सामान्य बनाएर मतदान कार्य प्रारम्भ गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यो पटक ४ वटा छुट्टा छुट्टै मतपत्रमा मतदान गर्नुपर्ने व्यवस्था गरिएको छ । त्यसैले १ जना मतदान अधिकृतले कहीँ कतै भुलवस कहीँ मतपत्रमा दस्तखत गर्न छुट्नुभएको भएपनि यो अत्यन्त गम्भीर हुन्छ, त्यसकारण अत्यन्तै शतर्कताका साथ, संवेदनशीलताका साथ मतपत्रमा दस्तखत गर्ने कार्यमा कहीँ कतैबाट कुनै कमी कमजोरी आउन नदिने र कुनैपनि मतपत्रमा दस्तखत नहुने कुराको ग्यारेन्टी गर्नको निम्ति म अनुरोध गर्दछु । सुरक्षा निकायसँग समन्वय गरेर सुरक्षा बन्दोबस्त प्रभावकारी बनाउनुका अतिरिक्त थप चनाखो भइ कुनैपनि मतदान स्थल वा मतदान केन्द्रमा मतदाता आउनसक्नुभएको छैन की ? कुनै किसिमको अवरोध, रोकतोक छ की ? वा मतदानको अवस्थामा मत संकेत गर्ने ठाउँमा कहीँ कतै केही किसिमका समस्या छन् की यसलाई अत्यन्तै चनाखो भएर समाधान गर्न पनि अनुरोध गर्दछु । विभिन्न ठाउँहरुमा सबै मतदाताले सहज ढंगले मतदान गर्न पाउने अवस्था सिर्जना गर्नुपर्छ ।

एउटा व्यक्तिको नाममा अथवा नाम नै नभएको व्यक्तिको नाममा अरु कसैले मतदान गर्नु भनेको मतदान सम्बन्धी अत्यन्त गम्भीर कसुर हो । बेलाबखत सुनिने गरेका फर्जी मतदानका इस्युहरुलाई यो निर्वाचनले सम्पूर्ण रुपमा बर्खास्त गर्न, निषेध गर्न सक्नुपर्छ, यसको सम्पूर्ण जिम्मेवारी मतदान अधिकृत ज्युहरुले लिनुपर्छ । निर्वाचन आयोगले कुनैपनि किसिमको प्राकृतिक विपद् बाहेक अन्य कुनैपनि बहानामा मतदान कार्यलाई स्थगित गरी पुनः मतदान गर्ने कार्यलाई गम्भीर रुपमा लिएको छ । यो पटक त्यो अवस्था सिर्जना हुनु हुँदैन । त्यसकारण कतै असमझदारी भए त्यसलाई एकछिनको निम्ति स्थगन गरी फेरि अवस्थालाई सामान्य गरी मतदानलाई खल्बल्याउन चाहने कुनैपनि तत्व त्यहाँ हुनुहुन्छ भने उहाँहरुलाइर्ए विनम्रतापूर्वक कानूनबमोजिम कारबाही गरी राजनीतिक दल र उम्मेदवारहरुसँग आवश्यक समझदारी गरी सोही दिन मतदान सम्पन्न गर्ने कुराको ग्यारेन्टी गर्नुपर्छ ।

यदि कुनै प्राकृतिक कारण वा अन्य अवस्थामा निर्वाचनको काम हुनै नसक्ने अवस्था भए, मतदाताहरुले स्वच्छ, स्वतन्त्रता पूर्वक मतदानमा सहभागी हुन नसक्ने अवस्था सिर्जना भए त्यहाँको अवस्थाको यथार्थ वस्तुस्थितिबारे आयोगमा रहेको संयुक्त निर्वाचन सञ्चालन केन्द्रमा छिटो माध्यमबाट जानकारी गराइ आयोगको सहमतिमा निर्देशन बमोजिम उक्त कार्य गर्नको निम्ति पनि जानकारी गराउँछु । कतिपय अवस्थामा स्वस्तिक छाप र स्ट्याम्प प्याडको कारणले पनि केही मतपत्रहरु बदर भएका उदाहरण सुनिएका छन् । त्यसकारण बेलाबखत त्यसको चेकजाँच गर्ने र कहीँ कतै कमी कमजोरी समस्या देखिए तत्काल मतदानलाई एकछिन स्थगित गरी सामग्रीको व्यवस्था गरेर मतदान कार्यलाई सुचारु गर्नतर्फ म ध्यानाकर्षण गराउँछु ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदाताहरुले स्वच्छ, स्वतन्त्रता पूर्वक मतदानमा सहभागी हुन नसक्ने अवस्था सिर्जना भए अवस्थाको यथार्थ वस्तुस्थितिबारे आयोगमा रहेको संयुक्त निर्वाचन सञ्चालन केन्द्रमा तत्काल जानकारी गराइ आयोगको निर्देशन बमोजिम कार्य अघि बढाउन निर्देशन दिनुभयो । उहाँले कतिपय अवस्थामा स्वस्तिक छाप र स्ट्याम्प प्याडको कारणले पनि केही मतपत्रहरु बदर भएका उदाहरण सुनिएको भन्दै बेलाबखत त्यसको चेकजाँच गर्ने र कहीँ कतै समस्या देखिए तत्काल मतदानलाई केही समय स्थगित गरी सामग्रीको व्यवस्था गरेर मतदान कार्यलाई सुचारु गर्नतर्फ पनि ध्यानाकर्षण गराउनु भयो ।